Nepal Purbadhar

तनहुँमा १२६ मेगावाटको तल्लोसेती जलविद्युत आयोजना बन्दै, लागत कति?


काठमाडौं । तनहुँ र चितवन जिल्लामा पर्ने गरि १२६ मेगावाट क्षमताको तल्लोसेती जलविद्युत आयोजना बन्ने भएको छ । 

नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले तनहुँ र चितवन जिल्लामा आयोजना निर्माणका लागि प्रस्ताव गर्दै वातावरण प्रभाव मूल्यांकन प्रतिवेदन पेश गरेको हो । उक्त आयोजना अर्धजलाशययुक्त प्रकारको रहेको छ । 

आयोजना तनहुँ जिल्लाका रिसिङ गाउँपालिका, व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका, देवघाट गाउँपालिका र आँबुखैरेनी गाउँपालिका तथा चितवन जिल्लाको भरतपुर महानगरपालिकामा पर्नेछ । 

डिराइन डिस्चार्ज २०६.९ घनमिटर प्रति सेकेन्ड रहने प्रस्तावित आयोजनामा बराज प्रकारको बाँध बाँधिने छ, जसको उचाई नदीको पिधबाट ३१ मिटर रहने छ भने लम्बाई २१३ मिटर रहनेछ । आयोजनाकव मुख्य सुरुङ मार्ग ‘मोडिफाइड हर्ससु, फिनिस्ड सर्कुलर’ प्रकारको हुने र यसको लम्बाइ ६७६३ मिटर हुने प्रतिवेदनमा उल्लेख छ । सुरुङको भित्रि व्यास भने ८.२५ मिटर हुनेछ । 

आयोजनामा तीन वटा विद्युत गृह अर्ध-भूमिगत प्रकृतिको बनाइनेछ र फ्रान्सिस टर्वाइनको प्रयोग गरिनेछ, जसको प्रति एकाइ क्षमता ४२.० मेगावाट रहेको छ । 

आयोजना निर्माण गरिरहँदा २८५ घरपरिवार प्रभावित हुने र १९ हजार ११५ वटा रुख कटान गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । साथै यसका लागि स्थायी रुपमा २१०.३० हेक्टर जमिन आवश्यक पर्ने र अस्थायी रुपमा ६१.१५ हेक्टर जमिन चाहिनेछ । 

२३ अर्ब ९४ करोड नेपाली रुपैयाँ अनुमानित लागत राखिएको आयोजनालाई निर्माण सुरु भएको अवधिबाट ५.५ बर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको प्रतिवेदनमा उल्लेख छ । 


Read Previous

ओ एन्ड एम सर्वेक्षणमा अस्पताल व्यवस्थापकलाई नराखेको विरोधमा प्रदर्शन

Read Next

भरतपुर महानगरले ल्यायो ५ अर्ब १९ करोडको बजेट