
काठमाडौं । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकामा १५ अर्ब रुपैयाँमा अन्तरार्ष्ट्रिय क्रिकेट मैदानको निर्माण हुने भएको छ ।
धनगढी उपमहानरपालिकाको वडा नम्बर ३ मा २५.४८ हेक्ट क्षेत्रफलमा फाप्ला अन्तरार्ष्ट्रिय क्रिकेट मैदान तथा खेलग्रामको निर्माण हुने भएको हो । उक्त मैदान निर्माणका लागि वातावरणिय प्रभाव मूल्यांकन प्रतिवेदन राय सुझावका वन तथा वातावरण मन्त्रालयमा लागि पेश गरिएको छ । फाप्ला अन्तरार्ष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिले युवा तथा खेलकुद मन्त्रालयमार्फत वन तथा वातावरण मन्त्रालयमा रंगशालाको वातावरणिय प्रभाव मूल्यांकन प्रतिवेदन पेश गरेको हो ।
प्रस्तावित रङ्गशालाको कुल सिट क्षमता ५०,००० रहेको छ भने अन्य उपयुक्त सुविधाहरू जस्तै अन्तर्राष्ट्रिय स्तरको क्रिकेट खेलकूद मैदान, खेलाडी कक्ष, नुहाउने कक्ष, शौचालय, कार्यालय, पर्खने कक्ष र पार्किङ समेत हुनेछन् । यस रङ्गशालाको डिजाइन महिला र अपाङ्ग मैत्री तवरबाट भएकोले लैङ्गिक समानता र सामाजिक समावेशीकरणको प्रत्याभूति दिने अपेक्षा गरिएको प्रतिवेदनमा उल्लेख छ ।
रंगशालामा क्रिकेटका साथै फुटबल, पौडी, लङ्ग जम्प, ट्रिपल जम्प, पोल भल्ट, सटपुट, डिस्कस एण्ड ह्याम्पर थ्रो, हाई जम्प, जाभ्लिन थ्रोलगायतका खेलहरु सञ्चालन हुने गरि निर्माण गरिने प्रिवेदनमा उल्लेख गरिएको छ ।
प्रस्तावित रंगशालाको निर्माणका लागि सरकारी जग्गाको प्रयोग हुनेछ । पाँच वर्षको निर्माण अवधि राखिएको यो रंगशालाको प्रक्षेपित कुल लागत भ्याटसहित १५ अर्ब नेपाली रुपैयाँ रहेको छ ।
उक्त मैदान तथा खेलकूद पूर्वाधार निर्माणले राष्ट्रिय र प्रदेशस्तरमा क्रिकेट खेल र खेलाडीको विकासमा सहयोग गर्ने प्रतिवेदनमा उल्लेख छ । हाल प्रस्ताव गरिएको क्षेत्रमा रहेको मैदान स्थानीयहरुले क्रिकेटसहित अन्य खेलकूदका लागि प्रयोगमा ल्याइरहेका छन् ।