
काठमाडौं । ऊर्जा उत्पादकहरुले बजेटमार्फत टेक एण्ड पे को प्रावधान ल्याएर जलविद्युतको विकास रोक्ने पथमा सरकार लागेको बताएका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था,नेपाल (इप्पान) ले पत्रकारहरुसँग छलफल गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल ऊर्जा क्षेत्र सिध्याउने भाइरस बनेको बताएका छन् ।
निजी ऊर्जा उत्पादकहरुसँग नेपाल विद्युत् प्राधिकरणले टेक अर पे मा पीपीए गर्दै आएको थियो । सरकारले बजेट ल्याएर टेक एण्ड पे मा पीपीए गर्ने निर्णय गरेको हो ।
ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयको प्रस्ताव बेगरै अर्थ मन्त्रालयले चोर बाटोबाट टेक एण्ड पे बजेटमा समावेश गरेको निजी क्षेत्रको आरोप छ ।
अर्थमन्त्रीको पदीय दायित्व र बजेटको सिद्धान्त विपरीत भएको निजी क्षेत्रको आरोप छ ।
इप्पानका अध्यक्ष गणेश कार्कीले सबैतिरबाट सरकारले जलविद्युत विकास रोक्न खोजेको बताए । उनले बिजुलीको विकासपछि पेट्रोलियम पदार्थको आयात घटेको र राजस्वमा असर परेका कारण बिजुलीको विकास नै रोक्न खोजेको बताए ।
उनका अनुसार सरकारले घरमा बिजुली बाल्नेभन्दा माथिको कल्पना नै नगरेको बताए । उद्योगहरु बन्द गर्ने र बाहिरबाट आयात गर्नुपर्ने निष्कर्षमा सरकारको पुगेको बताए ।
इप्पानका उपाध्यक्ष आनन्द चौधरीले जलविद्युतको विकास रोकिए सरकारको समृद्धि सपना पूरा नहुने बताए ।
इप्पानका महासचिव बलराम खतिवडाले कडा शब्दमा सरकारको निन्दा गरे । उनले यहि रोजगारी दिएर युवाहरुलाई राख्नुपर्ने ठाउँमा सरकार उल्टो बाटोमा हिडेको बताए । उनले भएका उत्पादनशील क्षेत्र जलविद्युत मास्नतिर लागेको बताए ।
उनीहरुले टेक एण्ड पे को प्रावधान फिर्ता नलिएर बत्ती बन्द गरेर ब्ल्याक आउटसम्म गर्ने चेतावनी दिएका छन् ।