Nepal Purbadhar

नेपालको जलविद्युत क्षेत्र र दिगो ऊर्जा प्रवर्द्धन गर्ने गेप्पर्ट समूहको प्रतिबद्धता


काठमाडौं। मध्यम चमेलिया जलविद्युत् आयोजनाको वित्तीय बन्द समारोहका अवसरमा अष्ट्रियास्थित गेप्पर्ट समूहका सीईओ तथा मालिक गुन्ट्राम गेप्पर्टले नेपालको स्वच्छ र दिगो ऊर्जा प्रवर्द्धनमा आफ्नो समूहको प्रतिबद्धता दोहोर्याएका छन्।

दार्चुला पावर लिमिटेडले आयोजना गरेको कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, लगानी संस्थाका प्रतिनिधि, र जलविद्युत् विकासकर्ताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै गुन्ट्राम गेप्पर्टले भने, “हामी बलियो साझेदारी बनाउने, स्थानीय विकासमा टेवा दिने र नेपालमा स्वच्छ ऊर्जा प्रवर्द्धन गर्दै जान प्रतिबद्ध छौं। हामी सबैलाई सशक्त बनाउने हाम्रो यात्रामा सँगै अघि बढ्नेछौं।”

मध्यम चमेलिया २८.३ मेगावाट आयोजनाको इलेक्ट्रो-मेकानिकल कामका लागि गेप्पर्ट समूह चयनमा विश्वास दिएकोमा आभार व्यक्त गर्दै, गेप्पर्टले यसअघि सफलतापूर्वक सम्पन्न ४० मेगावाट माथिल्लो चमेलिया र ९.७ मेगावाट इङ्वा खोला आयोजना स्मरण गरे।

उनले भने, “२०२३ मा समूहका केही कम्पनीहरूले वित्तीय चुनौती खेपे पनि, नेपालमा हाम्रो अभियानलाई हामीले पुनर्जीवित गर्न सफल भयौं। यस क्रममा नेपाली जलविद्युत् क्षेत्रको निरन्तर समर्थनप्रति हामी आभारी छौं।”

गेप्पर्ट हाईड्रो इन्डिया प्रालिका निर्देशक अमरजीत सिंह माखिजाले नेपालमा हालसम्म १४४ मेगावाट क्षमताका आयोजना सम्पन्न भइसकेको र ७६ मेगावाट निर्माणाधीन रहेको जानकारी दिए। उनले हालै सम्पन्न ६ मेगावाट सुपर हेवा आयोजना र ४.७२ मेगावाट अपर पिलुवा द्वितीय आयोजनाले नेपालका हरित ऊर्जा लक्ष्यलाई अगाडि बढाएको बताए।

माखिजाले थपे, जुम्लाको चुकिनी खोला आयोजना (९९८ किलोवाट), जुन एपेक (AEPC) द्वारा विकास गरिएको हो र एडीबीको लगानीमा बनेको हो, दुरदराज क्षेत्रलाई दिगो ऊर्जा पहुँच दिन गेप्पर्टको प्रतिबद्धताको प्रमाण हो।

नेपालका लागि गेप्पर्टका देश निर्देशक राजकिशोर यादवले २०२२ देखि काठमाडौंको पानीपोखरीमा सञ्चालनमा रहेको गेप्पर्टको स्थानीय कार्यालयले इञ्जिनियरिङ सेवा, मर्मत, स्पेयर पार्ट्स र दीर्घकालीन प्राविधिक सहायता प्रदान गर्दै आएको जानकारी दिए।


Read Previous

टाटा कर्भ ईभीमा काठमाडौंदेखि कन्याकुमारीसम्मको यात्रा

Read Next

५७ अर्ब लागतको ८१ किमीको मुक्तिनाथ केबलकारको लगानी स्वीकृती