
काठमाडौं । केही दिनदेखि प्रतिनिधिसभाको बैठकमा अवरोध गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बजेट ल्याउनमा कुनै पनि विरोध नगर्ने घोषणा गरेको छ ।
रास्वपाका प्रवक्ता मनिष झाले बजेट ल्याउनु भनेको संवैधानिक प्रक्रिया भएको र त्यसलाई आफूले कुनै व्यवधान नगर्ने बताएका हुन् । उनले भने, “अहिलेको संवैधानिक प्रक्रियाअनुसार भोली हाम्रो बजेट छ । हामी बजेटलाई व्यवधान गर्दैनौं । त्यसलाई डिस्टरबेन्स गर्ने हाम्रो कुनै आशय छैन । त्यत्ति सुझबुझ पूर्ण राजनीति हामी गर्छौं ।”
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद अवरुद्ध गरिरहेको रास्वपामाथि बजेट ल्याउनमा व्यवधान गर्ला भन्ने कुरा सत्तापक्षले नगरे हुने उनले बताए ।
उनले भने, “यसमा उहाँहरुले बजेट व्यवधान गर्ला भनेर आशंका नगरे हुन्छ । त्यति संवैधानिक प्रक्रियालाई सम्मान गर्ने राजनीतिक अभ्यास हामीसँग छ ।”
अहिले आफूहरुले उठाएको मुद्दा राजनीतिक रहेको र छानबिन हुनुपर्छ भनेर सुशासनको माग राखेको पनि उनले बताए ।