Nepal Purbadhar

सवारी चालक अनुमति पत्र सुरक्षण मुद्रण केन्द्रले छाप्ने


काठमाडौ । सवारी चालक अनुमति पत्र (लाइसेन्स) को छपाइ सुरक्षण मुद्रण केन्द्रले गर्ने भएको छ ।

लाइसेन्स छाप्न यातायात व्यवस्था विभाग र केन्द्र विच समझदारी पत्रमा हस्ताक्षर भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले सञ्चार तथा सुचना प्रविधि मन्त्रालय अन्तर्गतको मुद्रण केन्द्र मार्फत चालक अनुमति पत्र छपाई गर्ने भएको हो ।


नविकरण गरिएको समेत लामो समय सम्म सवारी चालक अनुमति पत्र नपाउँदा सर्वसाधारणले समस्या भोग्नु परेको भन्दै यसको समाधान खोज्न भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालले विभागलाई पटक पटक निर्देशन दिएका थिए । तत्काल लाइसेन्स नपाउँदा राजश्व तिरेको रसिद बोकेर हिँड्नु पर्ने बाध्यताको अन्त्यका लागि नागरिक एपमा चालक अनुमति पत्र समावेश समेत गरिएको छ । हाल सोहि एप मार्फत ट्राफिक प्रहरीले नियमन गर्ने तथा जरिवाना भुक्तानी गराउने कार्य समेत गर्दै आएको छ ।


दिगो समाधानका लागि समयमानै सवारी चालक अनुमति पत्र छपाईनै गर्नु पर्ने भन्दै मन्त्री दाहालले चुस्त र छिटो सेवा उपलव्ध गराउने विकल्प खोजी गर्न निर्देशन दिएका थिए । सरकारी निकायहरु विचमानै सहकार्य गरि सवारी चालक अनुमति पत्र छपाईको विकल्प खोजि गर्ने क्रममा केहि दिन अघि दुवै मन्त्रालयका सचिव सहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहाल र सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङबीच छलफल समेत भएको थियो । दुई सरकारी निकाय विचको सहकार्यले सवारी चालक छपाई कार्य चुस्त र पारदर्शी हुने अपेक्षा गरिएको छ ।


दुवै पक्ष विच भएको समझदारी अनुसार सुरक्षण मुद्रण केन्द्रले आगामी असार मसान्त भित्रमा प्रथम चरणको छपाई गरि विभागलाई हस्तातरण गर्ने छ । समझदारी पत्रमा सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगाना तथा यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलले हस्ताक्षर गरेका छन् । अब सुरक्षण मुद्रण केन्द्रले क्युआर सहितका विभिन्न सुरक्षा विशेषता सहितको सवारी चालक अनुमति पत्र छपाई गर्ने छ ।


Read Previous

बत्ती बालेपछि मात्रै जलविद्युत कम्पनीले आइपिओ निकाल्न पाउने

Read Next

११४ वर्षको उज्यालो यात्रा: त्यो जेठ ९ को बत्ति, आजको उज्यालो सपना