Nepal Purbadhar

खरायो जस्तो तेज भएर काम गर्न भौतिक पूर्वाधार मन्त्री दाहालले कर्मचारीलाई दिए निर्देशन


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निर्माणाधिन पूर्वाधारका योजना तथा आयोजनाहरुको निर्माण गति बढाउन निर्देशन दिएका छन् ।

सडक विभागले शुक्रबार काठमाडौमा आयोजना गरेको वार्षिक एकिकृत सडक मर्मत योजनालाई संवोधनका क्रममा उनले चालु आर्थिक वर्षको वाँकि अवधीलाई अधिकतम उपयोग गर्न समेत निर्देशन दिए । ‘यो वर्षको समय सकिन लागेको छ, सबैभन्दा बढि काम गर्नु पर्ने बेला पनि यहि हो’ मन्त्री दाहालले भने, ‘अब कछुवा जस्तो घस्रिएर होईन, खरायो जस्तो तेज भएर काम गर्नु होला ।’

आफुले जिम्मेवारी लिए देखिनै रुग्ण आयोजनाहरुको समस्या समाधानमा प्राथमिकता दिएको उल्लेख गर्दै उहाँले समस्या देखिएका आयोजनाहरुको समाधान तर्फ लाग्न समेत निर्देशन दिए । अब शुरु हुने कुनै पनि आयोजनाहरु अलपत्र हुन नदिन ध्यान दिन उल्लेख गर्दै मन्त्री दाहालले समस्या लुकाउने नभई सामुहिक प्रयासबाट समाधान खोज्न पनि आग्रह गरे ।

वर्षायाम शुरु हुन लागि सकेकाले क्षति भएका तथा निर्माणाधिन सडकहरुमा यातायात अवरुद्ध हुन नदिने गरि विकल्प तयार पार्न भन्दै उनले अधिकतम श्रोत साधन परिचालन गरेर भए पनि यातायात अवरुद्ध हुन नदिन समेत निर्देशन दिए ।

कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले समेत रुग्ण आयोजनाहरुको समस्या समाधानमा ध्यान दिन निर्देशन दिँदै योजना, आयोजनाहरु अलपत्र पार्ने क्रम रोक्न आग्रह गरे । कार्यक्रम सडक विभागका महानिर्देशक रामहरी पोखरेलको अध्यक्षतामा भएको हो ।


Read Previous

बर्खा नलाग्दै बीपी राजमार्गको हरिबिजोक, बर्खामा गाडी के होला ?

Read Next

आर्थिक सुधार सम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने कार्ययोजना स्वीकृत (पूर्ण पाठसहित)