Nepal Purbadhar

बर्खा नलाग्दै बीपी राजमार्गको हरिबिजोक, बर्खामा गाडी के होला ?


काठमाडौं । गत वर्ष असोजको दोस्रो साता रोशी खोलामा आएको बाढीले क्षतिग्रस्त बनेको बीपी राजमार्ग अझै पुनर्निर्माण भएको छैन ।

अहिले पनि पानी पर्नेबित्तिकै सडकको बेहाल हुने गरेको छ । प्रि-मनसुनकै समयमा यात्रुहरु ज्यानकै जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

बीपी राजमार्गको कटुन्जेदेखि बर्खे खोलासम्म विभिन्न खण्डमा सडक पूर्ण रुपमा ध्वस्त भएको छ । बेला बेला सडक पूर्ण रुपमा अवरुद्ध हुने गर्छ । खुलेको बेला पनि सवारीसाधनलाई बाटो पार गर्न निकै हम्मे पर्छ ।

असोजको बाढीले सडक पूरै बगाएपछि अस्थायी बाटो बनाइएको छ । खोलामा बाढी आउँदा बाटोसम्मे पानी आइपुग्ने गरेको छ । ठाउँ ठाउँमा खोलाले बाटो कटान गरिरहेको अवस्था पनि देखिएको छ ।

असोजमा आएको बाढीका कारण काभ्रेको रोशी खोलादेखि सिन्धुलीको नेपालथोकसम्मको १३ किलोमिटर सडक खण्ड पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ भने साढे ८ किलोमिटर सडक जमिन (जग) बाटै पूर्ण रुपमा बगेको छ । बाँकी खण्डमा पनि धेरै ठाउँमा भत्केको छ ।

पूर्ण रुपमा बर्खा नलाग्दै सडकको यो हालत देखिरहेका यात्रु तथा सवारीचालक मध्य बर्खामा झन् के हालत होला भनेर चिन्तित छन्।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी


Read Previous

दुई महिना नबित्दै प्राधिकरणका प्रबन्ध निर्देशक शाक्यले प्रवक्ता फेरे, ढकाललाई दिइयो जिम्मेवारी

Read Next

खरायो जस्तो तेज भएर काम गर्न भौतिक पूर्वाधार मन्त्री दाहालले कर्मचारीलाई दिए निर्देशन