
काठमाडौं । नेपालका राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त भएका छन् । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङले पौडेललाई गभर्नर नियुक्त गरिएको जानकारी दिए ।
मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले गभर्नरको पदमा डा. विश्व पौडेललाई राष्ट्र बैंकको गभर्नर पदमा नियुक्त गरिने निर्णय गरेको हो ।
लामो समयदेखि विभिन्न एमाले र कांग्रेसबीच सहमति हु्न नसक्दा गभर्नर पद रिक्त थियो । तर, मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको भेटवार्ताले पौडेललाई गभर्नरमा नियुक्त गरिने सहमति भएको थियो । सत्ता गठबन्धन नै भत्कने अवस्था आएपछि गभर्नरमा एमाले सहमत भएको हो ।
गत वर्ष चैत्र २५ गते पूर्व गभर्नर महाप्रसाद अधिकारीको कार्यअवधि समाप्त भएसँगै राष्ट्र बैक गभर्नर बिहिन थियो । चैत्र १६ गते अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेर नयाँ गभर्नर नियुक्तीका लागि सिफारिस गर्ने भनिएतापनि विभिन्न कारणले गभर्नर नियुक्ती हुन सकेको थिएन ।
सत्ता साझेदार दलका प्रमुख नेताबीचको भेटले नयाँ गभर्नरमा डा. पौडेललाई नियुक्त गरिने निधो गरेको स्रोतले बताएको छ । ओली र देउवाबीचको भेट लगत्तै मंगलबार गभर्नर सिफारिस समितिको बैठकसमेत बसेको छ ।
गभर्नरमा विश्व पौडेललाई नियुक्त गरिने विषयमा दुई नेताबीचको सहमति पछि प्रधानमन्त्री कार्यालयमा मंगलबार साँझ ५ बजेका लागि मन्त्रीपरिषद्को बैठक बोलाईएको थियो ।
को हुन नवनियुक्त गभर्नर विश्व पौडेल?
विश्व पौडेल एक अनुभवी अर्थशास्त्री हुन्, जसले अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट विद्यावारिधि (PhD) उपाधि हासिल गरेका छन्। आर्थिक क्षेत्रसँग सम्बन्धित उनका कैयौं लेख तथा अनुसन्धानहरू प्रकाशित छन्।
यसअघि उनले एक निजी बैंकमा निर्देशकको जिम्मेवारी सम्हालिसकेका छन्।
डा. स्वर्णिम वाग्ले योजना आयोगको उपाध्यक्ष रहेका बेला पौडेलले आयोगमा आर्थिक सल्लाहकारको रुपमा काम गरेका थिए। त्यसअघि उनले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)मा समेत आर्थिक सल्लाहकारको भूमिका निर्वाह गरेका थिए।
उनलाई नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाका विश्वासपात्रका रूपमा लिइन्छ। देउवा प्रधानमन्त्री रहँदा, २०७८ साउन १२ गते उनलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरिएको थियो। पौडेलको देउवाकी पत्नी तथा परराष्ट्रमन्त्री डा. आरजु राणासँग पनि निकट व्यक्तिगत सम्बन्ध रहेको बताइन्छ।
ललितपुरस्थित आरजु राणाद्वारा सञ्चालित महँगो निजी विद्यालय ‘युलेन्स स्कूल’को बोर्ड अफ ट्रस्टीमा डा. पौडेलले सन् २०१९ को अगस्टदेखि २०२१ को जुलाईसम्म सेवा दिएका थिए।
उनी आर्थिक विषयमा गहिरो अध्ययन गर्ने अनुसन्धानकर्ता मानिन्छन् र समय-समयमा पत्रपत्रिका तथा जर्नलमार्फत अर्थतन्त्र र इतिहाससम्बन्धी विचारहरू प्रस्तुत गर्दै आएका छन्। नेपालको आर्थिक इतिहासमा पनि उनको विशेष दख्खल रहेको छ।
उनले २०१२ देखि २०१३ सम्म सानिमा बैंकमा निर्देशकको रूपमा काम गरेका थिए। त्यसपछि उनी विश्व बैंकका कन्सल्ट्यान्टका रूपमा, साथै अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र मिलेनियम च्यालेन्ज कर्पोरेशन (MCC) को नेपालस्थित कार्यालयमा अर्थशास्त्रीको भूमिकामा संलग्न भइसकेका छन्।