
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को वैशाख महिनामा घरजग्गा कारोबारबाट सबैभन्दा धेरै राजस्व उठेको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागकाअनुसार वैशाख महिनामा ४ अर्ब ५४ करोड २२ लाख रुपैयाँ घरजग्गा कारोबारबाट राजस्व उठेको हो । यसभन्दा अघि चैत महिनामा सरकारले घरजग्गा कारोबारबाट सेवा कर, रजिष्ट्रेसन दस्तुरलगायतका राजस्व शिर्षकबाट ४ अर्ब ३९ करोड ४६ लाख रुपैयाँको कर उठाएको थियो ।
विभागकाअनुसार चैत्र महिनाको तुलनामा वैशाखमा घरजग्गाको कित्ताकाटमा बृद्धि भएतापनि कुल कारोबार भने कम रहेको छ । वैशाख महिनामा १ लाख ४४ हजार ६० वटा घर जग्गाको कारोबार भएको छ । जसमध्ये ५२ हजार ४२३ वटा नयाँ घरजग्गाको किनबेच भएको छ ।
गत चैत्र महिनामा भने १ लाख ४७ हजार ४ सय १६ वटा घरजग्गा कारोबार भएको थियो, जसमध्ये ४९ हजार ८ सय ३२ वटा नयाँ घर जग्गा किनबेच भएको थियो ।