Nepal Purbadhar

मेड इन नेपाल क्रेटा: तयार भएको ३ दिनमै बिक्छ


काठमाडौं । नेपालमै एसेम्बल भएको क्रेटा तयार भएको तीन दिनमै बिक्ने गरेको पाइएको छ ।

हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी कन्टिनेन्टलले प्रालिले नेपालमै क्रेटा एसेम्बल गरिरहेको छ । नवलपरासीमा कम्पनीको एसेम्बल प्लान्ट छ ।

सुरुमा भेन्यु कार एसेम्बल गरेको कम्पनीले अहिले क्रेटा आइसीईमा एसेम्बल थालेको छ । ‘अहिले १०० युनिट जति एसेम्बल भयो । त्यो आयातितभन्दा सस्तो पनि छ,’ लक्ष्मी इन्टरकन्टिनेन्टका महाप्रबन्धक दीपक थपलियाले भने,’ अरु थप एसेम्बल हुँदै छ। एसेम्बल भएको तीन दिनभित्रै ग्राहकहरुकोमा पुगिसक्छ । एकदमै राम्रो छ ।’

कम्पनीले चैत ११ गते क्रेटा ईभी नेपाली बजारमा सार्वजनिक गरेकै दिन क्रेटा आइसीई नेपालमै एसेम्बल भइरहेको विवरण सार्वजनिक गरेको थियो । कम्पनीले आयातितभन्दा नेपालमै बनेको क्रेटा ९ लाख रूपैयाँसम्म सस्तो भएको घोषणा गरेको थियो ।

क्रेटाको ५ भेरियन्ट नेपालमा एसेम्बल हुन्छ । क्रेटा इ पेट्रोल एमटी को ५३ लाख ९६ हजार रुपैयाँ पर्छ । क्रेटा एस (o) एमटीको ६३ लाख ९६ हजार रुपैयाँ,क्रेटा एस एक्स एमटीको ६६ लाख ९६ हजार रुपैयाँ, क्रेटा एस (o) सीभिटीको ६७ लाख ९६ हजार रुपैयाँ, क्रेटा एसएक्स (o) सिभिटीको ७८ लाख ९६ हजार रुपैयाँ पर्छ ।

लक्ष्मी हुन्डाई नेपालमा कार बिक्रीमा लामो लिगेसी बनाएको अग्रणी कम्पनी हो । हुन्डाईको गाडी नेपालमै एसेम्बल गर्न नवलपरासीको रामग्राम-६ मा स्थापना गरिएको छ । गत बैशाख २८ गते तत्कालीन प्रधानमन्त्री  प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेपछि प्लान्टबाट भेन्यु गाडी एसेम्बल सुरु भएको छ ।

२ अर्ब रुपैयाँ लगानीमा यो एसेम्बल प्लान्ट तयार पारिएको हो । १० विघामा यो प्लान्ट फैलिएको छ । प्लान्टमा २०० जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । नेपालमा सञ्चालनमा रहेको यो मात्रै एउटा गाडी एसेम्बल प्लान्ट हो ।

सन् २००६ मा लक्ष्मी ग्रुपले हुन्डाईको डिलर ल्याएर गाडी बिक्री थालेको हो । त्यतिबेला देखि नै यो ग्रुपले आयातलाई उद्योगमा परिवर्तन गर्नुपर्छ भन्ने सोच बनाएको थियो । सन् २०१३ मा लक्ष्मी समूहले मलेसियामा रहेको हुन्डाईको एसेम्बल प्लान्ट भिजिट गर्‍यो । जसले उद्योगका लागि थप प्रेरणा दियो । ४००० युनिट गाडी बेच्न सके एसेम्बल प्लान्ट चल्न सक्ने निष्कर्ष कम्पनीले निकाल्यो । त्यतिबेला एकै वर्ष कम्पनीले ६००० युनिट बढी गाडी बेचेको थियो ।  सन् २०१६ मा भुकम्प पीडीतका लागि भन्दै सरकारले ३५०० युनिट ट्याक्सीको कोटा खोलेको थियो । त्यतिबेला हुन्डाईले मात्रै १५०० युनिट ट्याक्सी बेचेको थियो ।

सन् २०१७ मा कम्पनीले ४००० युनिट गाडी बेच्यो । सन् २०१९ नोभेम्बरमा हुन्डाईसँग द्धिपक्षीय सम्झौता भएर एसेम्बल प्लान्ट स्थापना भएको हो । सन् २०२३ मा ग्राण्ड ब्रेक गरेर काम थालेको हो ।

कम्पनीको एसेम्बल प्लान्टले एक घण्टामा दुईवटा कार एसेम्बल गर्ने क्षमता राख्छ ।

हुन्डाईको नेपाल एसेम्बल प्लान्ट केवल एउटा कार एसेम्बलको कथा  मात्र होइन । यो त एक उदाहरण हो- यदि इच्छाशक्ति, लगानी र नीति एकै ठाउँमा मिल्छन् भने नेपालमै कारहरु एसेम्बल गर्न सकिन्छ ।  यसले नेपालको व्यापार घाटा घटाउन, रोजगारी बढाउ र समृद्ध अर्थतन्त्र निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । तर सरकारको अस्थिर नीति समस्या हुन्डाईले समेत खेपिरहनुपरेको छ । एसेम्बल गर्ने कम्पनीहरुलाई प्राथमिकता दिनुपर्ने सरकारले दिन सकेको छैन् । उल्टो पाटपुर्जा आयातमा कर बढाइरहेको छ । स्वदेशमै उत्पादन हुने वस्तुलाई प्राथमिकता नदिने हो भने नेपालको मजबुत अर्थतन्त्र बन्न सक्दैन ।


Read Previous

अर्थ मन्त्रालयले बजेटबारे विकास साझेदारहरूसँग छलफल गर्‍यो

Read Next

मखनमा भीषण आगलागी, एक जनाको मृत्यु [फोटोहरु]