Nepal Purbadhar

विद्युत प्राधिकरणमा ‘क्यास फ्लो’ को समस्या, १० अर्ब ऋण लिने तयारी


काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणले ‘क्यास फ्लो’ को समस्या भएपछि ऋण लिने तयारी गरेको छ ।

प्राधिकरण स्रोतका अनुसार करिब १० अर्ब रुपैयाँ ऋण लिएर अहिलेको क्यास फ्लोको संकट टार्न लागिएको हो । ‘ऋण लिने निर्णय भएको छ । खासगरी ११ अर्ब रुपैयाँ भुक्तानी प्राधिकरणले निर्माण व्यवसायी र सहायक कम्पनीलाई गर्न सकेको छैन्,’ स्रोतले भन्यो, ‘भारतबाट नयाँ एमडी आएपछि महँगोमा बिजुली आयात गर्ने निर्णय भएको छ । भारतलाई समय नियमित तिर्नुपर्ने बाध्यता छ । पैसा तिर्न नसके विद्युत आपूर्ती नभएर लोडसेडिङ हुने खतरा छ ।’

ती स्रोतका अनुसार डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता उठ्न अवस्था छैन् । सुरुमा २७ अर्ब रुपैयाँ रहेको बक्यौता छुट दिएर ७ अर्ब रुपैयाँ उठाउने निर्णय भएको थियो । त्यो बक्यौता पनि उठ्न अवस्था भएन । ऋण लिनका लागि नविल बैंकसँग कुरा भइरहेको प्राधिकरणका अधिकारीहरुको भनाई छ ।

प्राधिकरण स्रोतका अनुसार सडक बत्ती प्रयोग गरेबापत स्थानीय तहले समेत भुक्तानी गरेका छैनन् । यस्तो बक्यौता करिब ६ अर्ब रुपैयाँ पुगेको छ ।

उठ्न बाँकी बक्यौतालाई समेत आम्दानीका रुपमा हिसाब गरिएका कारण पनि यस्तो समस्या आएको स्रोतको भनाई छ । ‘अहिले विद्युतीकरणमा प्राधिकरणले ठूलो लगानी गरिरहेको छ । गाउँ गाउँमा विद्युतीकरणको काम चलेको छ । प्राधिकरणले कमाए जति पैसा शतप्रतिशत विद्युतीकरण गर्ने भनेर खर्च गरेको छ,’ स्रोतले भन्यो, ‘यो तत्कालको समस्या हो । बर्खा लागेपछि हिसाब मिल्छ ।’

वित्तीय अवस्थाबारे श्वेतपत्र ल्याउँदै प्राधिकरण

विद्युत प्राधिकरणले आफ्नो वित्तिय अवस्था समेटेर श्वेतपत्र ल्याउने तयारी गरेको छ ।

प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्यले श्वेत पत्र ल्याउने अन्तिम तयारी भएको बताएका छन् । उनले कार्यकाल सम्हाल्दै प्राधिकरणको श्वेत्र पत्र ल्याउने घोषणा गरेका थिए । साथै प्राधिकरणको सञ्चालक समितिको बैठकले श्वेतपत्र जारी गर्ने निर्णय समेत गरिसकेको छ ।

श्वेतपत्रमा अहिलेको प्राधिकरणको वित्तिय अवस्थालाई पहिलो प्राथमिकतामा राखिनेछ । ‘प्राधिकरणमा कुलमान घिसिङको दोस्रो कार्यकालमा भएका विषयहरु समावेश हुनेछन् । उहाँले देखाएको नाफाको विषयमा समेत उल्लेख हुनेछ । प्राधिकरण वित्तिय रुपमा समस्यामा पर्दैछ,’ स्रोतले भन्यो, ‘वित्तिय रुपमा बलियो हुनका लागि गरिने कामहरु समेत समावेश गरिनेछ ।’ प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यका अनुसार प्राधिकरणले ठेक्का लगाएर निर्माण व्यवसायीहरुलाई भुक्तानी गर्न सकेको छैन् । सहायक कम्पनीहरुलाई सेयर बापत दिनुपर्ने भुक्तानी दिन सकेको छैन् । यी दुई गरी करिब ११ अर्ब रुपैयाँ भुक्तानी प्राधिकरणले दिन सकेको छैन् ।

शाक्यले प्राधिकरणको अहिलेको वास्तविक अवस्था देखाउन र आगामी दिनमा गरिने योजना समेटेर श्वेतपत्र ल्याउन लागेको बताए ।

सरकारले नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई बर्खास्त गरेर हितेन्द्र देव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो ।


Read Previous

चक्रपथको सर्भिस लेन विस्तारको काम धमाधम,तस्बिर समाचार

Read Next

विद्युत प्राधिकरणले सबै कम्पनीसँग माग्यो मिडियालाई दिएको विज्ञानपनको विवरण, कारण यस्तो