
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आगामी साता श्वेतपत्र जारी गर्ने तयारी गरेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले श्वेतपत्र जारी गर्न लागेका हुन् । उनी नियुक्त भएपछि पहिलो सञ्चालक समितिको बैठकबाट श्वेतपत्र जारी गर्ने निर्णय गराएका थिए ।
श्वेतपत्रमा अहिलेको प्राधिकरणको वित्तिय अवस्थालाई पहिलो प्राथमिकतामा राखिनेछ । ‘प्राधिकरणमा कुलमान घिसिङको दोस्रो कार्यकालमा भएका विषयहरु समावेश हुनेछन् । उहाँले देखाएको नाफाको विषयमा समेत उल्लेख हुनेछ । प्राधिकरण वित्तिय रुपमा समस्यामा पर्दैछ,’ स्रोतले भन्यो, ‘वित्तिय रुपमा बलियो हुनका लागि गरिने कामहरु समेत समावेश गरिनेछ ।’ प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यका अनुसार प्राधिकरणले ठेक्का लगाएर निर्माण व्यवसायीहरुलाई भुक्तानी गर्न सकेको छैन् । सहायक कम्पनीहरुलाई सेयर बापत दिनुपर्ने भुक्तानी दिन सकेको छैन् । यी दुई गरी करिब ११ अर्ब रुपैयाँ भुक्तानी प्राधिकरणले दिन सकेको छैन् ।
शाक्यले प्राधिकरणको अहिलेको वास्तविक अवस्था देखाउन र आगामी दिनमा गरिने योजना समेटेर श्वेतपत्र ल्याउन लागेको बताए ।
सरकारले नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई बर्खास्त गरेर हितेन्द्र देव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो ।
								
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    








