काठमाडौं । बाणिज्य बैंकहरूले ऊर्जा क्षेत्रका परियोजनामा गरेको कर्जा प्रवाह साढे ३ खर्ब रुपैयाँ नाघेको छ । बाणिज्य बैंकहरूको २०८१ जेठ मसान्तसम्ममा ऊर्जा क्षेत्रका पूर्वाधार परियोजनामा ३ खर्ब ५० अर्ब ७४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका हुन् ।
नेपाल राष्ट्र बैंकले गत शुक्रबार (साउन ११ गते) सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा गरिएको अघिल्लो आर्थिक वर्ष (२०८०/८१) को समिक्षामा जेठ मसान्तसम्ममा ऊर्जाका परियोजनामा प्रवाह भएको कर्जा अघिल्लो आर्थिक वर्षको तुलनामा ६३ अर्ब ५७ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार बाणिज्य बैंकहरूले प्रवाह गरेको यो कूल कर्जा प्रवाहको ७.९ प्रतिशत हो । बाणिज्य बैंकहरूले गरेको ऋण लगानीको ठूलो हिस्सा जलविद्युत आयोजनामा छ ।
बाणिज्य बैंकहरूले प्रवाह गरेको यो कर्जा ऊर्जाका जलविद्युत, सौर्य विद्युत र अन्य वैकल्पिक ऊर्जाको क्षेत्रमा लगानी भएको छ । अघिल्लो वर्ष यही अवधिमा बाणिज्य बैंकहरूबाट २ खर्ब ८७ अर्ब ७७ करोड रुपैयाँ ऊर्जा क्षेत्रका परियोजनामा ऋण लगानी भएको थियो ।
त्यसैगरी, विकास बैंकहरूबाट कृषि, लघु, घरेलु तथा साना उद्यम/व्यवसाय, ऊर्जा र पर्यटन क्षेत्रमा कूल कर्जाको २६.० प्रतिशत अर्थात १ खर्ब २५ अर्ब ८३ करोड रुपैयाँ र वित्त कम्पनीहरूबाट २१.६ प्रतिशत अर्थात १९ अर्ब ३८ करोड रुपैयाँ कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।