Nepal Purbadhar

गत आवमा म्याग्दीमा ४२ खानेपानी आयोजना सम्पन्न,७ सय परिवारमा सेवा विस्तार   


बेनी । म्याग्दीका करिब ७ सय घरपरिवारमा खानेपानीको सुविधा विस्तार भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०८०/८१ मा सञ्चालन गरेका खानेपानी योजनाबाट ६ सय ९८ घरमा खानेपानीको पहुँच पुर्याएकाे हाे ।

प्रदेश सरकारबाट प्राप्त ३४ र सङ्घीय सरकारबाट प्राप्त आठवटा खानेपानी योजना सञ्चालन भएकामा यस वर्ष खानेपानीका ट्याङ्की निर्माण, पाइप लाइन विस्तार र मिटर जडानका काम भएको कार्यालयका सूचना अधिकारी इन्जिनियर शिवशङ्कर शाहले जानकारी दिए । उनका  अनुसार गत आवमा विभिन्न सात खानेपानी योजना सम्पन्न भएर दुई सय नौ घरमा खानेपानीको मिटर जडान गरिएको छ ।

घोडेपानी खानेपानी, तोरीपानीको खसपधेरा खानेपानी, डम्मरा खानेपानी, रणबाङ खानेपानी, तुसारेपानी खानेपानी, सिजलगाउँ चुनेपानी खानेपानी योजनाको निर्माण सम्पन्न भएर मिटर जडान गरी घरघरमा खानेपानीको पहुँच पुर्याइएको कार्यालयले जनाएको छ ।

कार्यालयले सञ्चालन गरेका खानेपानी योजनामा एक वर्षको अवधिमा २८ इन्टेक, १६ सङ्कलन चेम्बर, ११ वितरण चेम्बर, चार बिटिसी चेम्बर र २४ पानी सङ्कलन ट्याङ्की निर्माण भएको छ । एक वर्षमा कुल २७.६७ किलाेमिटर मुख्य पाइप लाइन र ४९.७१ किलोमिटर वितरण पाइप लाइन निर्माण भएको कार्यालयका सबइन्जिनियर धनेश शाहले जानकारी दिए ।


Read Previous

पेट्रोलियम प्रतिलिटर ४ रुपैयाँ महंगियो, डिजेल र मट्टीतेलमा पनि ३ रुपैयाँ बढ्याे 

Read Next

विमानस्थललाई हेरेर लगानी गरेका पोखराका पर्यटन व्यवसायी निराश