Nepal Purbadhar

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

प्रतिकूल माैसमले लुक्लामा १० दिनदेखि हवाई उडान ठप्प, पर्यटक मर्कामा   


सोलुखुम्बु । मौसम प्रतिकूलताका कारण यहाँस्थित तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई उडान ठप्प हुँदा पर्यटक समस्यामा परेका छन् । गत जेठ २६ गतेदेखि अतिव्यस्त सो विमानस्थलमा कुनै पनि जहाजले उडान भर्न नसक्दा खुम्बु भ्रमणमा आएका पर्यटक मर्कामा परेका हुन् ।

अत्यधिक हुस्सु र ‘भिजिबिलिटी’ कमजोर हुँदा लुक्लामा जहाज र हेलिकप्टरले उडान भर्न नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका एयर ट्राफिक कन्ट्रोलर दिवस दाहालले जानकारी दिए । “अहिले सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी तथा स्वदेशी पर्यटक फर्कने सिजन हो । यतिखेर आउनेभन्दा फर्किने पर्यटक ज्यादा हुन्छन्, तर मौसमअनुकूल छैन । त्यसैले सबै उडान तालिका १० दिनदेखि रद्द भइरहेको छ, हुस्सुले वरको वस्तु परबाट देखिन्न, झन् जहाज उडान हुने त कुरै छैन ,”उनले भने ।

लुक्ला विमानस्थलमा मौसमका कारण हेलिकप्टरसमेत अवतरण हुन नसक्दा लुक्लाभन्दा तल रहेको सुर्के हेलिप्याडबाट हेलिकप्टरहरूले उडान गरिरहेको एयर ट्राफिक कन्ट्रोलर दाहालले बताए । सुर्के केही होचो स्थान भएकाले त्यहाँबाट हेलिकप्टरले पर्यटक काठमाडौँ लैजाने गरेको उनले बताए । भौगोलिक बनावटका कारण पनि लुक्लामा बढी हुस्सु लाग्ने भएकाले उडानमा समस्या हुने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ ।

मौसम सामान्य प्रतिकूल हुनेबित्तिकै लुक्लामा उडान ठप्प हुने भएकाले पर्यटक मर्कामा पर्ने गरेको तारा एयरका लुक्ला स्टेशन प्रमुख अमृत मगरले बताए ।  यतिखेर खुम्बुमा पर्यटक यामको सकिन लागेकाले लुक्ला भित्रिनेको तुलनामा बाहिरिने बढी छन् ।

मौसमका कारण सबै उडान तालिका रद्द गर्नुपरेको उनले बताए । “विदेशीहरू यतिबेला आउनेभन्दा फर्किने बढी छन् आउने फाट्टफुट्ट छन् तर आएकाहरू फर्कने अलि बढी छन्”, उनले भने ।

लुक्लाभन्दा तल करिब चार घण्टाको पैदल दूरीमा पर्ने थामडाँडासम्म गाडी पुग्ने गर्छ । यसका कारण कतिपय पर्यटक तीनदेखि चार घण्टाको पैदल हिँडेर थामडाँडा झरेर त्यहाँबाट गाडीमार्फत सदरमुकाम सल्लेरी हुँदै काठमाडौँ फर्कने गरेका छन् । थामडाँडाबाट सल्लेरीको दूरी करिब ७० किलोमिटर छ । उक्त सडक कच्ची भएकाले बोलेरो गाडीमात्रै सञ्चालन हुने गरेको छ ।

थामडाँडाबाट सल्लेरीको गाडी भाडा प्रतिव्यक्ति २ हजार २ सय रुपैयाँ लिने गरेको यातयात व्यवसायी रामबहादुर विश्वकर्माले बताए । थामडाँडाबाट आएको दिन सल्लेरी बास बस्ने पर्यटक भोलिपल्ट विमान, जिप तथा बसमार्फत काठमाडाैं फर्कने गरेका छन् । सल्लेरीबाट दुई सय ७५ किलोमिटरको दूरीमा पर्ने काठमाडौँको जिपभाडा प्रतिव्यक्ति  २ हजार रुपैयाँ लिने गरेका छन् ।

छैन मौसममा सुधारको संकेत    

मौसम तत्काल खुल्ने सम्भावना नरहेकाले हवाई उडान अझै केही दिन अवरुद्ध हुने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । पूर्वको कोशीमा भित्रिएको मनसुन निरन्तर सक्रिय भइरहेकाले कोशीसहितका क्षेत्रमा झरीको सम्भावना उच्च रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । “मौसम अहिले तत्काल सुधार हुने सम्भावना छैन, त्यसैले हवाई उडान अझ केही दिन प्रभावित हुनसक्छ, मनसुन सक्रिय भइरहेकाले अझै धेरै वर्षात् हुनसक्छ ,”उनले भने ।

सगरमाथा क्षेत्रमा पर्ने एकमात्र विमानस्थल भएकाले तेन्जिङ हिलारी विमानस्थललाई महत्वका साथ हेर्ने गरिन्छ । विश्वको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित सगरमाथा क्षेत्र भ्रमण गर्न आउने अधिकांश स्वदेशी तथा विदेशी पर्यटकले यही विमानस्थल प्रयोग गर्ने गर्छन् ।

काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र रामेछापको मन्थली विमानस्थलबाट उडान हुने गर्दछ । यो विमानस्थल भएर बर्सेनि ६० हजारभन्दा बढी विदेशी तथा स्वदेशी पर्यटक सगरमाथा क्षेत्र भ्रमणका लागि पुग्ने गरेको नेपाल नागरिक उड्डयन प्राधिरणको तथ्याङ्क छ । लुक्लासम्म सडक सञ्जाल नपुगेकाले यस विमानस्थलको महत्त्व बढिरहेको लुक्लाका तोयाकुमार श्रेष्ठले बताए ।

काठमाडौँबाट जहाजमार्फत लुक्ला .ओर्लिने पर्यटक यहाँबाट पदमार्ग हुँदै उकालो लाग्ने गर्छन् । यसभन्दा माथि सञ्चालनमा रहेका अन्य विमानस्थल नभएकाले खुम्बु भ्रमणका लागि हवाईमार्ग रोज्ने हरेक पर्यटकले यही विमानस्थल प्रयोग गर्नुपर्ने बाध्यता छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका–२ लुक्लामा सरएडमण्ड हिलारीको सहयोगमा सन् १९६० मा निर्माण गरिएको यस विमानस्थल २०६४ पुसमा तेन्जिङनोर्गे शेर्पा र सरएडमण्ड हिल्लारीको सम्मानमा उनीहरूकै नामबाट नामकरण गरिएको थियो । लुक्ला बजारको तलपट्टि पहाडको काखमा अवस्थित यस विमानस्थल समुद्री तहबाट दुई हजार आठ सय मिटरको उचाइमा अवस्थित छ । यस विमानस्थलको धावनमार्गको लम्बाइ ४ सय ६० मिटर छ ।

‘हिस्ट्री च्यानलको मस्ट एक्स्ट्रिम एयरपोर्ट र्याङ्किङ’मा लुक्ला विमानस्थल विश्वकै डरलाग्दो विमानस्थलको सूचीमा समावेश गरेको छ । जसलाई अन्तर्राष्ट्रिय वेबसाइड ‘प्राइभेटफ्लाइ डटकम’ले सूचीकृत गर्दै विश्वभरका रोमाञ्चक अनुभुति दिने विमानस्थलको आठौँ स्थानमा सूचीकृत गरेको छ । यस विमानस्थलमा उडान तथा अवतरणका लागि मौसम नै प्रमुख चुनौती हुने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका उमेशकुमार पन्थीले बताए ।

भिरको काखमा रहेको र छिनछिनमा यहाँको मौसममा फेरबदल भइरहने भएकाले उडान र अवतराणमा चुनौती थपिने गरेको उनले बताए । यद्यपि, पर्यटकीय विमानस्थल भएकाले यामका बेला एकैदिन एक सयभन्दा बढी हवाई उडान हुने गरेको प्राधिकरणको तथ्याङ्क छ । सगरमाथा क्षेत्र पुग्ने पर्यटक यही विमानस्थलमा ओर्लिएर उकालो लाग्ने भएकाले यसको महत्व र व्यस्तता बढेको स्थानीय जानकार बताउँछन् ।


Read Previous

मध्यपहाडी लोकमार्ग : निर्धारित समयअगावै भालुखोला र मेवाखोलामा पुल निर्माण   

Read Next

सूर्यविनायक-धुलिखेल सडक विस्तार सुस्त: डेढ वर्षमा २५ प्रतिशत मात्रै प्रगति   

Leave a Reply

Your email address will not be published. Required fields are marked *