Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

अरुण तेस्राे आयोजनाकाे ७५ प्रतिशत निर्माण पूरा,विद्युत उत्पादन गर्न १ वर्ष लाग्ने 


सङ्खुवासभा । बिनाकुनै अवरोध नियमित काम हुने हो भने अबको एक वर्षभित्रै सङ्खुवासभामा निर्माणाधीन ९ सय मेगावाटकाे अरुण तेस्रो जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु हुनेछ । भारत सरकारको पब्लिक कम्पनी सतलज जलविद्युत् निगम (एसएपिडिसी)को करिब १ खर्ब रुपैयाँ लगानीमा निर्माण भइरहेको आयोजनाको अहिले करिब ७५ प्रतिशत काम पूरा भइसकेको छ ।

हालै आयोजनाको ११.८ किलोमिटर लामो मुख्य सुरुङ (हेडरेस टनेल) खनेर सकिएकाे छ । निर्माण कम्पनी एसएपिडिसीका अध्यक्ष तथा प्रबन्ध निर्देशक सुशीलकुमार शर्माले आयोजनाको काम तालिकाअनुसार नै हुन सकेमा अबकाे १ एक वर्षभित्रमा विद्युत् उत्पादन गर्न सकिने बताए  । “काम नियमित भयो भने एक वर्षभित्रमा आयोजनाबाट विद्युत् उत्पादन सुरु हुनेछ । तर, त्यसका लागि सरकारको सहयोग आवश्यक छ”, उनले भने ।

सरकारको सक्रियतामा आयोजनास्थलसम्म पुग्ने कोशी राजमार्गको मर्मत र स्तरोन्नति तीव्रगतिमा अघि बढेको भन्दै उनले प्रसारण लाइन निर्माणका लागि जग्गाप्राप्तिमा पनि सरकारबाट सोहीअनुरुप सहयोगको अपेक्षा गरेको उल्लेख गरे ।

“आयोजनाको निर्माण पूरा भएर विद्युत् उत्पादन हुने समयमा पनि प्रसारण लाइन निर्माण हुँदैन कि भन्ने चिन्ता छ, यसबारे सरकारबाट आवश्यक सहयोगको अपेक्षा गरेका छौँ,”उनले भने ।

शर्माले समयमै आयोजना निर्माण गर्न र समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत एक उच्चस्तरीय समिति गठन गर्न आग्रह गरे । “उच्चस्तरीय समिति गठन गरी लगानी बोर्ड र सम्बन्धित मन्त्रालयका सचिवसम्मिलित समूहसँग मासिक रूपमा बैठक बस्ने र आजोजनाको समीक्षा गरी समयमै निर्माण सम्पन्न गर्ने विषयमा म सरकारसमक्ष आग्रह गर्दछु”, उनले भने ।

आयोजनाबाट उत्पादित विद्युतकाे पिकिङ (पूर्ण क्षमतामा चल्ने घण्टा)  दैनिक ३ घन्टाभन्दा बढी हुनेछ । आयोजनाको बाँध मकालु गाउँपालिका वडा नं ३ र ५ मा पर्छ । कम्पनीका अनुसार कूल ७० मिटर अग्लो र एक सय ९७.३ मिटर लम्बाइको बाँध उत्खनन कार्य ९९.७० प्रतिशत पूरा भएको छ । बाँध निर्माणको काम पनि २६.५० प्रतिशत भइसकेको छ ।

यस्तै, मुख्य सुरुङमार्गको निर्माण सम्पन्न भइसकेको छ भने सुरुङको कङ्क्रिट लाइनिङ ६८ प्रतिशत पूरा भएको छ । साथै एक सय ५५ मिटर गहिरो ‘सर्ज साफ्ट’ निर्माण भइसकेको र कङ्क्रिटिङ ७० प्रतिशत पूरा भएको जनाइएको छ । यसैगरी, चिचिला गाउँपालिका–३ पुकुवामा रहने विद्युत्गृहमा चारवटा टर्वाइनमध्ये दुईवटा टर्वाइनको जडान सकिएको छ ।

आयोजनाबाट उत्पादन हुने विद्युत् ढल्केबर–मुजफ्फरपुर चार सय केभी प्रसारण लाइनमा जोडिने छ । त्यसका लागि ५ सय ९७ वटा टावर निर्माण हुनुपर्नेमा हालसम्म ५१ प्रतिशत अर्थात् तीन सय पाँचवटा टावर निर्माण भइसकेको छ । साथै दुई सय १७ किलोमिटर तार तान्नुपर्नेमा हालसम्म २२ प्रतिशत अर्थात् ४६ दशमलव ८२ किलोमिटर तार तान्ने काम सकिएको छ ।

आयोजना निर्माण पूरा भइ सञ्चालनमा आउँदा नेपालले कूल जडित क्षमताकाे २१.९ प्रतिशत अर्थात् करिब २०० मेगावाट विद्युत निःशुल्क प्राप्त गर्नेछ। याे बाहेककाे विद्युत भारत निर्यात हुनेछ । विद्युत उत्पादन सुरु भएको २५ वर्षपछि आयोजना नेपालको हुनेछ । विद्युत् उत्पादन सुरु भएपछि यो नेपालमा सञ्चालित सबैभन्दा ठूलो क्षमताको जलविद्युत् आयोजना बन्नेछ । हाल सबैभन्दा ठूलो आयोजनाका रूपमा  ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना छ ।

आयोजनाको शिलान्यास २०७५ बैशाख २८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौँमा संयुक्त रूपमा गरेका थिए । २०७१ मङ्सिर १० मा आयोजना विकास सम्झौता (पिडिए) भएको थियो ।


Read Previous

चैनपुर सेती जलविद्युत आयोजनाको निर्माणले गति लियाे

Read Next

भगवानपुर गाउँपालिकाको प्रशासकीय भवन निर्माण अलपत्र   

Leave a Reply

Your email address will not be published. Required fields are marked *