Nepal Purbadhar

कालीगण्डकी करिडोरकाे चराङ–छोसेर सडक खण्डकाे निर्माण सुरु


म्याग्दी। राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत मुस्ताङको चराङ–छोसेर खण्डमा सडक निर्माण पुनः प्रारम्भ भएको छ । पाँच वर्षअघि नै पूरा हुनुपर्ने २५ किलोमिटर लामो यो सडकखण्ड निर्माणको काम पछिल्लो १८ महिनापछि पुनः सुरु भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईँले बताए ।

“धरौटी जफत गरेर कालोसूचीमा राख्ने चेतावनीसहित कारबाही प्रक्रिया अघि बढाएपछि ठेकेदार कम्पनीले काम पुनः प्रारम्भ गरेको छ”, उनले भने “कल्भर्ट, पर्खाल र नाली निर्माण भइरहेको छ ।” लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङबाट लोमान्थाङ गाउँपालिका–१ छोसेरको नेचुङ जोड्ने २५ किलोमिटर सडक स्तरोन्नति गर्न २०७२ सालमा तामाङ–गौरी–पार्वती–कोशी एण्ड न्यौपाने जेभीले रु २६ करोडमा ठेक्का लिएको थियो ।

२०७५ साउनमा सम्पन्न गर्ने लक्ष्य राखिएको सो खण्डको भौतिक प्रगति करिब ८० प्रतिशत रहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । ११ मिटर फराकिलो बनाउने, नाली र पर्खाल निर्माण गरी ग्राभेल गर्ने लक्ष्यसहित आयोजना सञ्चालन भएको हो ।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले सडक निर्माणमा भएको ढिलाइका कारण यातायात सञ्चालनमा समस्या, दुर्घटनाको जोखिम, खाल्डाखुल्डी, धुलो र हिलोले हैरान बनाएको बताए ।

मुस्ताङको सदरमुकाम जोमसोमबाट चीनको सिमाना कोरलानाका जोड्ने ११० किलोमिटर सडक दुई लेनको ग्राभेल बनाउन बेनी–जोमसोम–कोरला सडक आयोजनाले २०७३/७४ देखि सातवटा खण्डमा ठेक्का लगाएको थियो । जोमसोम–कोरला सडकको ६ वटा प्याकेजको ७५ किलोमिटर सडक विस्तार, पर्खाल, नाली निर्माण, घुम्ती र ग्रेड सुधार गरी ग्राभेल गर्ने काम सकिएको छ । जोमसोम–कोरला सडक स्तरोन्नतिका लागि रु दुई अर्ब छ करोड विनियोजन भएको थियो ।

Facebook Comments

Read Previous

निजी लगानीको अहिलेसम्मको ठूलो माथिल्लो तमोरमा जुट्यो स्वदेशी पुँजी,बैंक तथा वित्तीय संस्थाको साढे ३८ अर्ब बढीको लगानी प्रतिबद्धता

Read Next

पानीको मुहान संरक्षण गर्न १५ सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar