कैलाली। नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको विद्युत बक्यौता रकम १८ करोड २४ लाख ६२ हजार ६ सय ७३ रुपैयाँ पुगेकाे छ । वितरण केन्द्रको चालू आर्थिक वर्षकाे बैशाखसम्म औद्योगिक, घरायसी तथा अन्य वर्गका ग्राहक र सडकबत्ती बापत यति बक्यौता रकम उठ्न बाँकी रहेकाे
चालू आवको बैशाख मसान्तसम्म औद्योगिक ग्राहकको बक्यौता रकम २ करोड ४९ लाख ५ हजार ४ सय १ रुपैयाँ, घरायसी ग्राहककाे २ करोड २४ लाख ५२ हजार १६० रुपैयाँ , अन्यको २ करोड ५३ लाख ५३ हजार ८७ रुपैयाँ र सडकबत्तीको १० करोड ९७ लाख ५२ हजार २५ रुपैयाँ रहेको वितरण केन्द्रका सहायक लेखा अधिकृत विनोद ढकालले जानकारी दिए ।
उनका अनुसार गत आवको असार मसान्तसम्म बक्यौता रकम २० करोड १३ लाख २७ हजार रुपैयाँ थियो । चालू आवमा भने बक्यौता रकम केही घटेको उनले बताए । चालू आवको बैशाख मसान्तसम्म विद्युत् महसुल भुक्तानी नगर्ने १ हजार ५ सय ७८ ग्राहकको लाइन काटिएको ढकालले जानकारी दिए ।
“हामीले लामो समय महसुल नबुझाउने ग्राहकको लाइन काटेर रकम असुली गरिरहेका छौँँ”, वितरण केन्द्र प्रमुख मिथिलेशकुमार गोहिवारले भने, “अरूको त रकम आइरहेको छ । सडकबत्तीको बक्यौता रकम अलि बढी छ । त्यसका लागि पनि प्रक्रिया अगाडि बढाएका छौँ ।” गत आवभन्दा चालु आवमा बक्यौता रकम घटेको उनकाे भनाइ छ ।
वितरण केन्द्रका अनुसार गत आवको असार मसान्तसम्म औद्योगिकको २ करोड ४१ लाख ४२ हजार ८ सय ९१ रुपैयाँ , घरायसी ग्राहककाे ५ करोड ७९ लाख २८ हजार ३ सय ६९ रुपैयाँ, अन्य ग्राहकको बक्यौता रकम १ करोड ४२ लाख २२ हजार ३ सय ६८ रुपैयाँ र सडकबत्ती बापतको १० करोड ५० लाख ३३ हजार ३ सय ७३ रुपैयाँ थियो । नियमित महसुल भुक्तानी गर्ने ग्राहक ६२.५ प्रतिशत रहेका केन्द्रले जनाएको छ ।