लमजुङ। सामाजिक समस्या तथा जङ्गल कटानीलगायत कारणले मर्स्याङ्दी करिडाेर प्रसारण लाइन अन्तर्गत निर्माणाधीन २२० केभी उदिपुर–मार्कीचोक–भरतपुर प्रसारण लाइनको काम ठप्प हुन पुगेकाे छ । ३ वर्षमा सम्पन्न गर्ने लक्ष्य निर्धारण भएको ३ अर्ब रुपैयाँ लागतको परियोजनाको काम ६ वर्षमा पनि पूरा हुन नसकेकाे हाे ।
हालसम्म ७० प्रतिशतमात्र निर्माण सम्पन्न भएको परियोजनाको उदिपुर–भरतपुर डिभिजन प्रमुख नारायण रेग्मीले बताए । २२ ० केभी उदिपुर–मार्कीचोक–भरतपुर ‘डबल सर्किट’ प्रसारण लाइन निर्माण सन् २०१८ जनवरी १७ देखि थालिएकामा कारोना महामारी र वन कटानीलगायत कारणले पूरा हुन नसकेको उनकाे तर्क छ ।
२०८१ साउन १५ गतेभित्र सम्पन्न गर्नेगरी निर्माण कम्पनीको म्याद थपिएको छ । आयोजनाकाअनुसार लमजुङको उदिपुरबाट चितवनको भरतपुरसम्म ६७ किलोमिटर प्रसारण लाइन पुर्याउनका एक सय ९९ वटा टावर आवश्यक पर्नेछन् ।
हालसम्म १२० टावरको फाउण्डेशन तयार भएको छ । गोरखा र तनहुँमा गरी १० हजार दुई सय २५ वटा रुख फडानीको तयारी भएको डिभिजन प्रमुख रेग्मीले बताए । लमजुङमा निर्माण हुने ४५ वटा टावरमध्ये ३२ सम्पन्न भइसकेका छन् ।
मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रको स्वीच यार्डसम्म लाइन पुर्याउन छ किलोमिटरसम्म यही प्रसारण लाइन प्रयोग भएको छ । उदिपुरबाट मध्यमर्स्याङ्दीसम्मको ६ किलोमिटर खण्डमा १७ वटा टावर छन् ।