Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

सुदूरपश्चिम प्रदेशका ७५ प्रतिशत नागरिक गुणस्तरीय खानेपानीकाे पहुँच बाहिर   


धनगढी । दूरपश्चिम प्रदेशमा अझै पनि ७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँचमा पुग्न सकेका छैनन् । खानेपानी आयोजनाद्वारा निर्मित ‘फिल्टर’ जडानसहितको पाइपलाइनबाट वितरित उच्च गुणस्तरको खानेपानीको पहुँचमा २५ प्रतिशत नागरिक मात्रै रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कैलालीले जनाएको छ ।

कार्यालयका प्रमुख गणेशप्रसाद उपाध्यायले झन्डै ४० प्रतिशत नागरिकले पाइपलाइनबाट वितरित फिल्टर जडान नभएको खानेपानी र हेन्डपम्पको खानेपानी उपभोग गरिरहेको बताए । कैलालीको धनगढी, टीकापुर, सुख्खड, बर्दगोरिया, लम्कीचुहा, गोदावरी, भजनी, जनकीनगरलगायत क्षेत्रमा र कञ्चनपुरको भासी, हल्दुखाल, बेलौरीलगायत ठाउँमा खानेपानी आयोजनाको फिल्टरसहितको पाइपलाइनबाट वितरित उच्च गुणस्तरको खानेपानीको व्यवस्थापन भइसकेको छ ।

“आधारभूत, मध्यम र उच्च गुणस्तरको खानेपानीको पहुँचमा ८८ प्रतिशत नागरिक पुगेको अनुमान छ,” उनले भने, “खानेपानीको उचित व्यवस्थापन हुन नसक्दा पहाडका कतिपय क्षेत्रका नागरिकले अझै पनि नौला, ढुङ्गेधारा, खोलाको पानी उपभोग गरिरहेका छन् ।”

भौगोलिक रुपमा विकट पहाडी भेकमा उच्च गुणस्तरको खानेपानीको समस्या बढी देखिएको छ । तराई भेकका धेरैजसो बस्तीमा पनि यस्तो पानीको व्यवस्था हुन सकेको छैन । जलवायु परिवर्तनको असरले पहाडी क्षेत्रमा खानेपानीका मूल सुक्दै जाने, बाढी पहिराले पुरिनेजस्ता समस्या पनि बढ्दै गएको छ ।

तराई क्षेत्रका अधिकांश ग्रामीण बस्तीका नागरिकले हेन्डपम्पको पानी उपभोग गर्ने गरेका छन् । ४ दशकअघिसम्म भूमिगतको पानी निकालेर खानेपानीको व्यवस्थापन गर्न गाउँगाउँमा खनिएका कुवा (इनार) भने हाल बन्द भइसकेका छन् । कुवाको विकल्पमा हेन्डपम्प जडान गर्ने गरिएको छ ।

“सङ्घ, प्रदेश र पालिका तहमा आ–आफ्ना खानेपानीका योजना सञ्चालन भइरहेकाले कति नागरिक गुणस्तरीय खानेपानीको पहुँचमा पुगे वा पुगेन भन्नेमा यकिन तथ्याङ्क छैन,” कार्यालय प्रमुख उपाध्यायले भने, “हाल एनवास नाम गरेको संस्थाले प्रदेश तहमा गरिरहेको गुणस्तरीय खानेपानीको अवस्था र पहुँचसम्बन्धीको अध्ययन पूरा भएमा यकिन तथ्याङ्क आउनसक्छ ।”

पछिल्ला वर्षमा ग्रामीण क्षेत्रमा पनि खानेपानीका योजनाहरु निर्माणका क्रम बढेको भए पनि पर्याप्त बजेटको अभावमा यी योजनाको भौतिक प्रगति सुस्त छ । हाल कैलाली र कञ्चनपुर जिल्लामा मात्रै सङ्घीय सरकारका एक सय आठ र प्रदेश सरकारका ६९ वटा खानेपानी आयोजना निर्माणाधीन छन् । यी आयोजनाको निर्माणका लागि चालु वर्षमा कूल बजेट ५८ करोड रुपैयाँ विनियोजना गरिएको छ ।

बजेट विनियोजन नहुँदा खानेपानीका कतिपय पुराना योजनाको मर्मत सुधारको काम हुन सकिरहेको छैन । यी जिल्लाका कतिपय क्षेत्रको पानीमा चुनाको समस्या र आर्सेनिक तत्वको समस्या देखिने गरेको छ ।

आर्सेनिक तत्व बढी भएको खानेपानीको नियमित उपभोगले कलेजोको क्षयरोग गराउने जोखिम रहने गरेको बताइन्छ । भूमिगतको पानीमा आइरनको मात्रा बढी हुने गरेकाले यस्तो पानी परीक्षण गरेर मात्र पिउनुपर्ने सम्बन्धित विज्ञको भनाइ छ । पानीको परीक्षण गरेर मात्र उपभोग गर्नुपर्छ भन्ने चेतनाको कमी नागरिकमा देखिन्छ ।


Read Previous

८ खर्ब ५३ अर्ब रुपैयाँ लागतका जलविद्युत आयोजना अगाडि बढाउँदै उत्पादन कम्पनी   

Read Next

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा   

Leave a Reply

Your email address will not be published. Required fields are marked *