तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड १६ दिनसम्म बन्द हुने भएको छ । स्तरोन्नतिका काम भइरहेकाले आइतबारदेखि यही जेठ २१ गतेसम्म बाटो पूर्ण रूपमा बन्द गरिएको हो ।
रानीटारीबाट हर्षपुरसम्मको बाटो बन्द गरिएको पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर मुकेशकुमार यादवले राससलाई बताए । व्यास–५ को रानीटारी, म्याग्दे गाउँपालिकाको वडा नं ७ र ३ मा धमाधम सडक स्तरोन्नति भइरहेको जानकारी दिँदै उहाँले वैकल्पिक मार्ग अपनाउन सवारी चालक तथा यात्रीलाई अनुरोध गरे ।
व्यास नगरपालिका–५ रानीटारीबाट म्याग्दे गाउँपालिका हुँदै राजमार्गको घुम्ती जोड्ने ९.४५२ किलोमिटर मार्गमा पानी निकासको नालासहित सडक विस्तार जारी छ । कूल १ हजार ९ सय ५० मिटर ढलान गर्नुपर्ने सडकखण्डको १ हजार ६ सय मिटर काम पूरा भएको छ।
९ किलोमिटर लामो नालाको काम पनि प्रायः पूरा भएको सबइन्जिनियर यादवले जानकारी दिए । “८ किलोमिटर खण्डमा आस्फल्ट प्रविधिको कालोपत्र गरिनेछ”, उनले भने, “उक्त मार्गको हालसम्म ६२ प्रतिशत कार्यप्रगति भएको छ ।”