काठमाडाैं । माथिल्लाे तामाकाेसीकाे क्यासकेड ९९.८ मेगावाटको तामाकोसी–५ जलविद्युत् आयोजनाको सिभिल तथा हाइड्राेमेकानिकल वर्क्सकाे ठेक्का चीनकाे सिनाे हाइड्राे कर्पाेरेशन कम्पनीले पाएकाे छ । आयोजनाको प्रवर्द्धक तामाकोसी जलविद्युत कम्पनी लिमिटेडले सिभिल तथा हाइड्राेमेकानिकलतर्फकाे ठेक्का सिनाे हाइड्राेलाई दिएकाे हाे ।
सिनाे हाइड्राेले यसअघि ४५६ मेगावाटकाे माथिल्लाे तामाकाेसी निर्माणकाे काम गरेकाे थियाे । प्रवर्द्धक कम्पनी र चिनियाँ कम्पनी सिनो हाइड्रोबीच शुक्रबार (बैशाख २९ गते) ठेक्का सम्झाैतामा हस्ताक्षार भएकाे छ ।
सम्झाैता अनुसार सिनाे हाइड्राेले १२ अर्ब ९९ करोड रुपैयाँमा सिभिल तथा हाइड्रोमेकानिकलको काम गर्नेछ । साथै, सिनो होइड्रो र नेपाली साझेदार कुमार श्रेष्ठ निर्माण सेवाको संयुक्त उपक्रम (जेभी) कम्पनीले निर्माण ठेक्का पाएको हो ।
आयोजनाको निर्माणका लागि प्राविधिक प्रस्तावमा छनोट भएका दुई कम्पनीमध्ये आर्थिक प्रस्तावमा कम रकम कबोल गर्ने सिनो हाइड्रो छनोटमा परेर ठेक्का पाएको हो । उक्त खरिद प्रक्रियामा भाग लिएका मध्ये सिनो हाइड्रो र चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशन प्राविधिक प्रस्तावमा पास भएका थिए । यी मध्ये आर्थिक प्रस्तावमा कम कबोल गरेपछि सिनो हाइड्रोले ठेक्का पाएको थियो ।
सम्झौतामा हस्ताक्षार भएसँगै अब एक महिनाभित्र सिभिलकाे काम सुरु हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनोद भण्डारीले बताए । उनका अनुसार पूर्व तयारीकाम कामहरु सकिएको छ ।
माथिल्लो तामाकोसीको निकास सुरुङबाट निस्कने पानीलाइ सिधै डाइभर्सन बनाएर तामाकोसी–५ को सुरुङमार्गमा ल्याइनेछ । आयोजनाका लागि बाँध बनाउनु नपर्ने भएकाले यो आयोजना वित्तिय रुपमा आकर्षक मानिन्छ । यो जलविद्युत् आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) भइसकेको छ । यो आयोजना निर्माण थालेको ४ वर्षमा व्यवसायिक उत्पादन गर्ने लक्ष्य छ ।
कम्पनीले यसअघि २०७९ साउन ९ गते आयोजना निर्माणका लागि ठेकेदार छनोट गर्न बोलपत्र आह्वान गरेको थियो । आयोजना निर्माणका लागि इच्छा जाहेर गरेका ४ मध्ये दुई कम्पनी प्राविधिक प्रस्तावमा छनौट भएका थिए । उक्त ठेक्कामा सिनो हाइड्रो कर्पोरेशन लिमिटेड र चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड पास भएर सर्टलिष्टमा परेका थिए । तर, ती दुवै कम्पनीको वित्तीय प्रस्ताव प्रवर्द्धकको लागत अनुमानभन्दा बढी भएपछि ठेक्का प्रक्रिया अघि बढ्न नसकेर रद्ध भएको थियो । यी मध्ये सिनो हाइड्रोले आर्थिक प्रस्ताव कम कबोल गरेको थियो ।
२१ अर्ब १३ करोड ९५ लाख रुपैयाँ लागत अनुमान
कूल २१ अर्ब १३ करोड ९५ लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ६५ प्रतिशत ऋण र ३५ प्रतिशत स्वपुँजी (इक्विटी) लगानी हुनेछ । स्वपुँजी मध्ये प्राधिकरणको ६८ प्रतिशत र सर्वसाधारण नागरिकको ३२ प्रतिशत लगानी रहने गरी लगानीको मोडल तयार गरिएको छ । आयोजनामा कर्मचारी सञ्चय कोषले १३.७४ अर्ब रुपैयाँ लगानी गर्ने सम्झौता सम्पन्न भएको छ । कोषसँग गत जेठ ७ गते सम्झौता भएको थियो ।
आयोजनाको संरचना
तामाकोसी–५ नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीमार्फत ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको क्यासकेड आयोजना हो । यसको हेडवर्क्स निर्माण नगरी माथिल्लो तामाकोसीको विद्युत् गृहबाट आएको टेलरेसको पानीलाई सिधै सुरुङमा पठाइन्छ ।
आयोजनाको ८ किलोमिटर सुरुङ निर्माण गरी सुरीटारमा भूमिगत विद्युत्गृह निर्माण गरी विद्युत् उत्पादन गरिनेछ । आयोजनाको आवास निर्माणको काम सुस्त गतिमा भइरहेको छ । २ किलोमिटर लामो २२० केभी प्रसारण लाइनलगायत संरचनाहरू निर्माण हुनेछन् । आयोजनाका सम्पूर्ण संरचना विगु गाउँपालिका वडा नम्बर १, २, ३ र ४ मा निर्माण हुनेछन् ।