काठमाडाैं । भारतको ग्रीनजो इनर्जी इन्डिया लिमिटेडले नेपालको ग्रीन हाइड्रोजन उत्पादन अभियानमा लगानीका लागि चासो देखाएको छ । ग्रीनजाे इनर्जी इन्डियाका संस्थापक तथा प्रबन्ध निर्देशक सन्दीप अग्रवालले ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्ति बस्नेतसँग भेटी नेपालमा ग्रीन हाइड्राेजनमा लगानी गर्न प्रस्ताव गरेका हुन् ।
नेपाल सरकारले आवश्यक प्रबन्ध मिलाएमा आफ्नो कम्पनी नेपालमा लगानी गर्न इच्छुक रहेको अग्रवालले प्रतिबद्धता जनाए । जवाफमा मन्त्री बस्नेतले ग्रीन हाइड्रोजनको लागि आवश्यक नीति बनाउन पहल गर्ने र एक अध्ययन समिति बनाइ पाइलट प्रोजेक्ट निर्माणमा ग्रिनजो इनर्जी इण्डियासँग सहकार्य गर्ने बताए ।
भेटमा बस्नेतले नेपालको इनर्जी ग्रिडका लागि ग्रीन हाइड्रोजनका सम्भावित फाइदाहरूबारे चर्चा गर्दै अहिले भारतको गुजरातमा हाइड्रोजन उत्पादनका लागि इलेक्ट्रोलाइजर मेसिन उत्पादन गरेकोबारे अग्रवालसँग जिज्ञासा राखे ।
बस्नेतले फ्युल सेल टेक्नोलोजीबाट ग्रीन हाइड्रोजनलाई कसरी एकीकृत गर्दा ग्रिड स्थिरता र विद्युत प्रसारण प्रणाली गुणस्तर सुधार गर्न सकिन्छ भन्ने बारे जानकारी लिए । भेटमा अग्रवालले हरित हाइड्रोजनलाई नेपालको तेस्रो प्रमुख ऊर्जा स्रोतको रूपमा स्थापित गर्न सकिने बताए ।
उनले ग्रीनजाे इनर्जी इण्डियाले नेपालमा ग्रीन हाइड्राेजन उत्पादन गर्न २ खर्ब रुपैयाँ बराबरकाे लगानी भित्र्याउन तयार रहेकाे बताए । उनले सौर्य ऊर्जाकाे विद्युत उपलब्ध नहुने समयमा र ग्रिडको माग चरम अवस्थामा रहेका बेला तथा रातको समयमा प्रसारण ग्रिडकाे अवस्था राख्न ग्रीन हाइड्राेजनबाट ऊर्जा उत्पादन गरी उपयाेग गर्न सकिने बताए ।
ग्नीन हाइड्राेजन नीतिमा स्पष्टता तथा यसकाे खरिद–बिक्री नीति आउनासाथ लगानी ल्याउन तयार रहेकाे पनि अग्रवालले मन्त्री बस्नेत समक्ष स्पष्ट पारे ।