काठमाडाैं । आगामी बैशाख १२, १३ र १४ गते (अप्रिल २४,२५ र २६) स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालि. ले संयुक्तरुपमा हिमालयन हाइड्रो एक्स्पो, २०२४ आयोजना गर्दैछन् । एक्स्पोको तयारी करिब पूरा भइसकेको छ । इपानले आयोजना गर्न लागेको यो चौंथो संस्करणको एक्स्पो हो । सन् २०१८, २०१९ र २०२२ मा गरी हिमालयन हाइड्रो एक्स्पोका ३ वटा संस्करण आयोजना भइसकेका छन् । एक्स्पोमा जलविद्युत विकाससँग प्रत्यक्ष सरोकार राख्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परामर्शदाता,ठेकेदार कम्पनी, जलविद्युत प्रवद्र्धक, बीमा कम्पनी, बैंक तथा वित्तीय संस्था, लगानीकर्ता,इलेक्ट्रो तथा हाइड्रोमेकानिकल उपकरण उत्पादक तथा जडानकर्ता कम्पनी लगायतले सहभागिता जनाउँदैछन् ।
‘नेपालको समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नाराकासाथ हुन लागेको हाइड्रो एक्स्पोको बैशाख १३ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट औपचारिक उद्घाटन गर्ने कार्यक्रम छन् । हाइड्रो एक्स्पोले ऊर्जा क्षेत्रको विकासमा खेल्ने भूमिकाको महत्त्वका विषयमा इपानले हालै ‘राउण्ट टेबल डिसकसन आयोजना गर्यो । इपान अध्यक्ष गणेश कार्की, महासचिव बलराम खतिवडा, एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिका प्रबन्ध निर्देशक विजयसागर प्रधान र टोयर हाइड्रो प्रालिका प्रमुख कार्यकारी अधिकृत पवन ढकाल राउण्ड टेबल डिसकसनमा सहभागी भए । प्रस्तुत छ उनीहरूसँगको डिसकसनको संक्षिप्त सारः
इपानले चाैंथाे पटक हिमालय हाइड्रो एक्स्पो आयोजना गर्दैछ । यो एक्स्पोले ऊर्जा क्षेत्रको विकासमा कस्तो भूमिका खेल्न छ ?
गणेश कार्कीः हामीले विगत ४ वर्षदेखि हिमालयन हाइड्रो एक्स्पो आयोजना गर्दै आएका छौं । यो एक्स्पोको मुख्य आयोजक सधैं जस्तै इपान नै छ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय एक्स्पोको मुख्य संरक्षक छ । लगानी बोर्ड नेपालको कार्यालयले पनि एक्स्पो आयोजना गर्न सघाउँदैछ । त्यस्त,ै भारतीय दूतावासको सहयोग र सद्भाव तथा बेलायती दूतावासको पनि सहयोग रहनेछ । आइएफसी लगायतका दातृनिकायको पनि एक्स्पोमा सहयोग रहनेछ ।
विगतका वर्षमा हाइड्रो एक्स्पो आयोजना गर्दा देशको आवश्यकता जलविद्युत उत्पादन बढाउनु पर्ने दायित्व निजी क्षेत्रको काँधमा थियो । अहिले बर्खामा हामी हामै्र उत्पादनले आन्तरिक माग व्यवस्थापन गर्ने अवस्था आइपुगेका छौं । अहिलेको प्राथमिकता जलविद्युत उत्पादनसँगै खपत वृद्धि र विद्युत व्यापार पर्दछ । जलविद्युत क्षेत्रको विकासका लागि अहिले राम्रो वातावरण बनेको छ । नेपालमा उत्पादन भएको विद्युत बिक्रीका लागि अन्तरदेशीय बजारमा पनि पहुँच पुगेको छ ।
सरकारले भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने सम्झौता गरिसकेको छ । अझै यो भन्दा पनि महत्त्वपूर्ण कुरा के छ भने नेपालले यसैलाई आधार मानेर सन् २०३५ सम्ममा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने रोडम्याप तयार गरेको छ । जसमा १३ हजार ५ सय मेगावाट देशभित्रै खपत गर्ने तथा बाँकी विद्युत भारत र बंगलादेशमा निर्यात गर्ने सरकारको योजना बनेको छ । सरकारले यो लक्ष्य पूरा गर्न निजी क्षेत्रसँग पनि हातेमालो गरेर अघि बढ्न जरुरी छ । योजनाअनुसार कार्यान्वयन भए मुलुकले ऊर्जा क्षेत्रको विकासमा ठूलो फड्को मार्नेछ । यसका लागि निजी क्षेत्र, नेपाली आम जनसुमदाय र सरकारको समन्वय आवश्यक छ । विद्युत जडित क्षमता २८ हजार ५ सय पुर्याउन तथा प्रसारण र वितरण प्रणालीका संरचनाको निर्माणमा ४६ खर्ब रुपैयाँ लगानी आवश्यक पर्ने प्रक्षेपण गरिएको छ । यो ठूलो लगानी हो ।
सरकारी लक्ष्य पूरा गर्न आवश्यक लगानीको रकम भएर मात्रै पुग्दैन । यसका लागि पछिल्लो समय विकास भएको प्रविधि, ज्ञान सीपको प्रयोग गरेर विश्वभरका लगानीकर्तालाई आकर्षित गर्न सक्नुपर्छ । नेपालका निजी क्षेत्र र विदेशमा भएका नेपालीहरुको समन्वयमा योजना साकार पार्नुपर्छ । सरकारले उत्पादन वृद्धि तथा विद्युत व्यापारका लागि छिमेकी देशको बजार सुनिश्चित गरेपछि मुलुक ऊर्जामय भएको छ ।
सरकारको यो लक्ष्य पूरा गर्नका लागि ऊर्जा क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले नै इपानले हाइड्रो एक्स्पो आयोजना गर्दैछ । ऊर्जा उत्पादन गर्ने कम्पनीमा आम जनमानसको चासो बढिरहेका कारण सेयरमार्फत लगानी थपिने क्रममा रहेकाले सबैको एक्स्पोमा आकर्षण हुनेछ । हामीले यसलाई विशेष महत्त्वको साथ हेरेका छौं । आमजनताले पनि चासोको रुपमा हेरेका छन् । धेरैले सेयरमा पनि लगानी गरेका छन् । त्यसकारण, यसपटकको एक्स्पोमा सहभागिता पनि धेरै हुने अपेक्षा गरेका छौं । राष्ट्रपति रामचन्द्र पौडेलले एक्स्पोको औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय गरेका छौं ।
तपाईले पहिलो संस्करणदेखि नै हाइड्रो एक्स्पोको व्यवस्थापनको काम गर्दै आइरहनुभएको छ । पहिलादेखि अहिलेसम्मका सबै एक्स्पोलाई सम्झनुपर्दा कसरी सम्झनुहुन्छ ?
विजयसागर प्रधानः इपानको नेतृत्वमा सन् २०१८ मा पहिलो हाइड्रो एक्स्पो आयोजना भएको थियो । तर, हामीले त्यसको अवधारणा भने सन् २०१५ मा नै तयार पारिसकेका थियौं । सन् २०१५ देखि २०१८ सम्मको अवधिमा नेपालले सबैभन्दा धेरै लोडसेडिङको सामना गर्नुपरेको थियो । लोडसेडिङमुक्त होइन, देश लोडसेडिङयुक्त थियो । त्यसकारण, हामीले बाल्नलाई बिजुली नै छैन किन हाइड्रो एक्स्पो गर्नुपर्यो ? भन्ने प्रश्नको सामना गरेका थियौं । हामीले त्यतिबेला हाइड्रो एक्स्पो गरेर हाइड्रोसँग सम्बन्धित जनचेतना पनि फैलाउन सक्छौं भनेर काम अघि बढाएका थियौं । सम्बन्धित सरोकारवालादेखि आम सर्वसाधारणसम्म सबैको जनचेतना बढ्ने भएकाले पनि हिमालयन हाइड्रो एक्स्पो आयोजना गर्दै आएका छौं ।
सन् २०१८ मा नेपालको विद्युत जडित क्षमता करिब ७ सय मेगावाट थियो । सुख्खा याममा यो घटेर ३ सय मेगावाटमा झथ्र्यो । त्यसकारण पनि विद्युतको माग र आपूर्ति व्यवस्थापनमा ठूलो ग्याप हुँदा चर्को लोडसेडिङ थियो । त्यसपछि निरन्तररूपमा निजी क्षेत्रले विद्युत उत्पादन परिमाण बढाउँदै लग्यो । निजी क्षेत्रमा लगानी प्रवद्र्धन हुँदै जानुमा विगतमा भएका हाइड्रो एक्स्पोको पनि महत्त्वपूर्ण भूमिका रह्यो ।
अहिले चौंथो संस्करणको हिमालय हाइड्रो एक्स्पो आयोजना हुँदै गर्दै राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत जडित क्षमता ३१ सय ३६ मेगावाट पुगिसकेको छ । र, यो क्रम अझै बढिरहेको छ । त्यसकारण, जलविद्युत उत्पादनमा हाम्रो अवस्था के छ ? बजारको अवस्था के छ ? र भविष्य कस्तो हुनेछ ? भन्नेबारेमा सम्पूर्ण जानकारी एकै स्थानमा दिने गरी हाइड्रो एक्स्पो हुँदैछ । यो एक्स्पोमा जलविद्युत क्षेत्रसँग जोडिएका सबै सरोकारवालासँगै आम सर्वसाधारणले पनि उल्लेख्यमात्रामा सहभागिता जनाउँदैछन् ।
सरकारले २८ हजार ५ सय मेगावाट विद्युत उत्पादनको योजना अगाडि सारेपछि बजार पनि थप सक्रिय भएको छ । जसकाकारण, हाइड्रो एक्स्पोमा भारतसहित अन्य मुलुकबाट पनि राम्रो सहभागिता हुँदैछ । पहिले पैसा खर्च गरेर विदेशमा गएर जलविद्युत आयोजनामा उपयोग हुने प्रविधि हेर्नु पर्दथ्यो । तर, एक्स्पोमा विदेशी उपकरण उत्पादन कम्पनी आफैँ नेपालमा आएर सहभागी हुन सक्ने वातावरण बनेको छ । अहिले ५०/६० हजारभन्दा बढी नागरिकले जलविद्युतमा सेयर लगानी गरेका छन् । यसले पनि यो क्षेत्रप्रति सबैको रुची बढेको छ ।
तपाईँले पनि हिमालयन हाइड्रो एक्स्पोलाई पहिलादेखि नजिकबाट हेर्दै आउनुभएको छ । विगतदेखि अहिलेसम्मको एक्स्पोको प्राथमिकता र महत्त्वलाई कसरी हेर्दै आउनुभएको छ ?
बलराम खतिवडाः पहिले हिमालयन हाइड्रो एक्स्पो आयोजना गर्दै गर्दा जलविद्युत आयोजनाको संख्या कम थियो । लगानी पनि सिमित थियो । पहिला एक्स्पोमा सहभागी हुने विदेशी प्रतिनिधि र लगानीकर्ता निकै कम हुन्थे । पहिला हामीले निर्माण उपकरण तथा सामग्री सप्लायर्सको २/३ वटाको मात्रै नाम थाहा पाउने गर्थाे । अहिले जलविद्युत आयोजनाहरूको संख्या असाध्यै धेरै बढेको छ । जलविदुत उत्पादनमा लगानीकर्ताको पनि चासो बढेर गएको छ । चौंथो संस्करणको एक्स्पोलाई पनि उत्कृष्ट बनाउन बृहत र फरक ढंगले आयोजना गर्ने कोशिष गरिरहेका छौं । यसको नतिजा पनि राम्रो आउने अपेक्षा गरेका छौं ।
सरकारले निर्धारण गर्नेको २८ हजार ५ सय मेगावाट उत्पादनको मार्गचित्र कार्यान्वयनको चरणमा हुँदा जलविद्युत उत्पादनमा हामी विश्वकै ठूलो बजार पनि हुन सक्छौं । यो क्षेत्रमा भविष्य र आयको राम्रो बजार देखेर विद्युत उत्पादनकर्ताले लगानी गरिरहेका छन् । विगतमा भन्दा जलविद्युत क्षेत्रमा लगानी र यो क्षेत्र विस्तार हुँदै गएको छ । अर्काेतर्फ सोही अनुसार जनचासो पनि बढेको छ ।
तपाईले सुरुवात देखि नै हाइड्रो एक्स्पोमा सहभागिता जनाउँदै आइरहनुभएको छ । एक्स्पोमा सहभागीता जनाउँदा के फाइदा पुग्ने रहेछ ? यसपटकको एक्स्पोमा कसरी सहभागिता जनाउँदै हुनुहुन्छ ?
पवन ढकालः एक्स्पो तथा प्रदर्शनीहरू विश्वका अन्य देशमा पनि हुँदै आएका छन् । यसै वर्ष हामीले विदेशमा आयोजना भएका ३ वटा एक्स्पो पनि सहभागि जनायौं । नेपालको एक्स्पामा पृथकता वा फरक के छ भने हाम्रो ग्राउन्ड लेभल वा प्रत्यक्ष रुपमा जलविद्युत प्रवद्र्धकसँग प्रत्यक्ष अन्तरक्रिया गर्न सकिन्छ । एक्स्पोमा प्रत्यक्ष रुपमा आपूर्तिकर्ता र प्रवद्र्धकले एकआपसमा संवाद गर्न पाउने छन् । एक्स्पो ग्राउण्ड लेभलको हुन्छ । विदेशी कम्पनीका लागि पनि जलविद्युत आयोजनासँग जोडिएर काम गर्नका लागि एक्स्पोले ठूलो अवसर दिनेछ । डेभलपर, कन्सल्टिङ कम्पनी, बैंकरसँग एकै थलोमा भेट हुने भएकाले एक्स्पो जलविद्युतसँग सरोकार राख्ने सबैको लागि महत्त्वपूर्ण रहेको छ । वस्तु तथा सेवा प्रवद्र्धनका लागि एक्स्पोमा हामीपनि सहभागिता जनाउँदै छौं । मैले पनि हाम्रो कम्पनीको प्रतिनिधित्व गर्दै सुरुदेखि र हरेक एक्पोमा सहभागिता जनाउँदै आइरहेको छु ।
सबैको सहभागिता बढाउन चौंथो संस्करणको हाइड्रो एक्स्पोमा फरक के हुनेछ ?
गणेश कार्कीः पहिला र अहिलेको कन्सेप्ट (अवधारणा) नै फरक छ । पहिला धेरै मान्छे किन आउने भन्ने हुन्थ्यो । नेपालमा मार्केट हेरेर आउने हो । अहिले त म छुटें कि भनेर आउने हो । हामीलाई थुप्रै सप्लायर्स, उत्पादककर्ताले किन समयमा नै खबर गर्नुभएन भन्ने खालको कुरा आइरहेको छ । हिजो हाम्रो जुन सोच र माग थियो, त्यो अहिले फरक भइसकेको छ । पहिले सीमित डेभलपर थिए । तर, अहिले ५/६ सय डेभलपर पुगिसकेको अवस्था छ । अहिले नयाँ नयाँ परियोजना अगाडि बढिसकेका छन् । ऊर्जाका लगानीकर्ताले एउटै छानोमुनिको स्टलमा सबै कुराको समाधान पाउने भएकाले पनि साँच्चिकै विश्व बजारले लगानी गर्ने देश भनेर नेपाललाई हेरिरहेको छ । यसको आकर्षण छुट्टै छ । संसारका ठूला देशका प्रतिनिधिले पनि विजनेस खोजिरहेका छन् । अहिले १४ भन्दा धेरै देशका प्रतिनिधिले हाइड्रो एक्स्पोमा सहभागिता जनाउने प्रतिबद्धता जनाएका छन् ।
अहिले भारत, युरोप लगायतका मुलुकले लगानी र उत्पादन भएको सामग्री तथा उपकरण बिक्रीको लागि मार्केट खोजिरहेको अवस्था छ । एक्स्पोमा सबै प्रविधिसहितका डेभलपरको सहभागिता हुने हुँदा यसको आकर्षण बढेको छ । विश्व बजारकै लागि नेपालको जलविद्युत लगानीको क्षेत्र भएकाले पनि एक्स्पोमा आकर्षण छ । अबको बजार भनेको ऊर्जा क्षेत्र नै हो, ऊर्जाको विकासबाट मात्र उद्योगधन्दा, कलकारखाना सञ्चालन हुने भएकाले अन्य उद्योगले पनि चासो राखेको अवस्था छ । लगानी कसरी गर्ने ? बजार कस्तो छ ? भन्नेबारेमा एक्सपोमा जानकारी लिन सकिने भएकाले यसपटक विगतको भन्दा भिन्न हुनेछ । त्यसैले विगतको एक्स्पो भन्दा यो उत्कृृष्ट हुन्छ भन्ने हाम्रो अपेक्षा र आशा रहेको छ ।
तपाईलाई पनि यही प्रश्नकि इप्पानले यस अघि तीन पटक एक्स्पो गरिसकेको छ । अब चौथो पटक एक्स्पो आयोजना गर्दैछ ? पहिलाको भन्दा के फरक वा युनिकनेस हुन्छ ताकि सबै जना यो एक्स्पोमा सहभागिता जनाउन सकुन ?
गणेश कार्की: सम्पूर्ण निर्माण सामग्रीदेखि यो क्षेत्रमा प्रयोग हुने औजार, बीमा, बैंक हाइड्रोपावरको लाइसेन्स लिएदेखि विद्युत उत्पादनसम्मको सेवा र सुविधा उपलब्ध गराउने लक्ष्य लिइएको छ । साथै, माग अनुसारको जानकरी दिनुका साथै प्रविधिक सत्रहरुमा पनि छलफल गर्दैछौं । प्राविधिक सत्रमा एक्स्पोमा बढी भएको विद्युत कसरी बिक्री गर्न सकिन्छ भनेर कुरा गर्छाैं । आन्तरिक खपत, लगानी कसरी जुटाउने भनेर पनि कुरा गर्छाैं । महिलाको नेतृत्व विकास लगायतका सत्रमा विभिन्न क्षेत्रका विज्ञहरुसँगको छलफल आयोजना हुनेछ । मार्केट अनुसारको विषयवस्तु पनि राखेका छौं ।
यो एक्स्पोलाई सफल बनाउन प्रदर्शनीमा के के राख्दै हुनुहुन्छ ?
विजयसागर प्रधानः हिालयन हाइड्रो एक्स्पोमा जलविद्युत क्षेत्रसँग सम्बन्धित स्टलहरुमा राखिने छन् । भृकुटीमण्डपभित्रका सयभन्दा बढी स्टलहरू बुकिङ भइसकेका छन् । ग्रीन इनर्जी फर प्रोस्पेरिटीमा नेपाल कसरी विकास गर्न सकिन्छ ? भनेर विज्ञहरुको राय सुझाव संकलन गर्नेछौं । काठमाडौं विश्वविद्यालयले भखरै हाइड्रोजन कारको सफलतापूर्वक टेष्ट ड्राइभ सम्पन्न गरिसकेको छ । केयुको यो हाइड्रोजन इन्धनबाट चल्ने कार पनि एक्स्पोमा प्रदर्शनीमा राखिनेछ । हाइड्रोजन इन्धनबाट चल्ने कार सबैको लागि आकर्षणको केन्द्रविन्दु बन्ने आशा छ । त्यो बाहेक विद्यार्थी वर्गलाई लक्षित गरेर उनीहरुले विकास गरेका कन्सेप्ट पनि प्रदर्शनीमा राखिनेछ । जलविद्युत आयोजना निर्माण तथा सञ्चालनमा आवश्यक उपकरण पनि प्रदर्शनीमा राखिनेछ ।
कुनै पनि व्यक्तिले जन्माएका ‘आइडिया’को प्रतिस्पर्धा राखिनेछन् । जसले गर्दा ती आइडियालाई संस्थागत गर्न सहयोग पुग्नेछ । व्यवस्थापनका विद्यार्थीहरुलाई समेत सहभागी गराउँदै छौं । जलविद्युत निकै प्राविधिक विषय हो । तर, जलविद्युतको लगानी व्यवस्थापन कसरी गर्ने भन्नेबारे व्यवस्थापनका विद्यार्थीलाई नै आइडिया हुन्छ । त्यसकारण,उनीहरूलाई प्रतिश्पर्धामा सहभागी गराउँदैछौं ।
प्रतिश्पर्धामा प्रथम द्वितीय र तृतीय हुनेलाई क्रमशः ४४ हजार,२२ हजार र ११ हजार पुरस्कारको पनि व्यवस्था गरेका छौं । एक्स्पोले गर्दा जलविद्युत प्रवद्र्धक र यो क्षेत्रका सरोकारवालालाई पनि लाभ प्राप्त भएको छ । एक्स्पोमा जलविद्युतसँग सम्बन्धित सबै खालका प्रडक्टको सहभागिता हुने छ । त्योबाहेक पनि यस वर्ष ‘ग्रीन इनर्जी फर प्रोस्पेरिटी’ को आधार बनाएर बनाइएको २ मिनेटको भिडियो पनि प्रस्तुत गरिनेछ । अर्काे आकर्षणमा विद्यार्थी वर्गलाई पनि जोड दिएका छौं । विद्यार्थीले निर्माण गरेका भिडियोलाई पनि एक्स्पोमा प्रतिश्पर्धामा सहभागीता गराउने भएकाले उनीहरुको ज्ञान र सीप बढ्नेछ ।
इपानले हाइड्रो एक्स्पोमा आफ्नोतर्फबाट वस्तु तथा सेवा प्रदर्शनीमा राख्दैछ कि छैन ? कुन कुन विषयमा प्राविधिक सत्र हुनेछन् ?
गणेश कार्कीः हामीले एक्स्पोमा ६/७ वटा प्रविधिक सत्र आयोजना गर्दैछौं । यसको मुख्य उद्देश्य नै नेपालको जलविद्युतमा लगानी किन गर्ने ? यसबाट के फाइदा छ ? विदेशमा निर्यात किन गर्ने ? भारतसँगको निर्यातमा के कस्तो समस्या छ ? कसरी समाधान गर्न सकिन्छ ? भन्ने विषयसँग सम्बन्धित प्राविधिक सत्र राखिनेछ । यी सत्रबाट जलविद्युतमा लगानी गर्न चाहनेको आकर्षण हुने अपेक्षा गरेका छौं । हाइड्रो एक्स्पो पहिलेको भन्दा यसपटक भिन्न हुन्छ । पहिले धेरै मान्छे किन आएनन् भन्ने हुन्थ्यो । अहिले बजारको माग तथा अवस्था हेर्दा म छुटेंछु की भन्ने भान हुन्छ । त्यसकारण, बढीभन्दा बढीको सहभागिता गराउने गरी तयारी गरिरहेका छौं ।
जलविद्युत्को विकास हुँदा जलविद्युत् क्षेत्रको मात्रै नभएर देशकै विकास हुन्छ भन्ने खालको कुरा बुझाउने खालको सत्र पनि राखेका छौं । महिला लिडरसीप, इन्भारोमेन्टल सोसल गर्भेनेन्सको विषय पनि बुझाउँदै जानेछौं । नेपाल र भारतको बीचमा विद्युत व्यापारको विषयमा पनि बुझाउनेछौं । नेपालमा लगानी र वीमाको कतिको महत्त्व छ भन्ने विषयमा समेत विभिन्न खालका सत्र राखिनेछ । यी र यस्तै विषयलाई समेटेर राखिनेछ । लगानी गर्न चाहने व्यक्ति आएको खण्डमा को–कोसँग सम्पर्क र कसरी भेट्न सकिन्छ भन्ने कुरा पनि बुझ्न सक्नुहुनेछ । बैंक तथा वित्तीय संस्थाले कसरी लगानी गर्छन र कसरी ध्यान दिने भन्ने विषयमा पनि जानकारी प्राप्त गर्न सकिनेछ । विगतमा सिमित प्रवद्र्धक थिए, अहिले आयोजना ७ सयको हाराहारीमा आएका छन् । नयाँ आयोजना विकास गर्नका लागि डेभलपरको बारेमा बुझ्दा वर्षौं बित्छ ।
इपानले हिमालयन हाइड्रो एक्स्पोमा वस्तु तथा सेवा प्रदर्शनीबीच अन्तर सम्बन्ध कस्तो छ ?
बलराम खतिवडाः यसमा दुवै अन्तरसम्बन्धित रहेका छन् । हामीले अन्तरदेशीय विद्युत व्यापारका सम्बन्धमा पनि विभिन्न छलफलमुलुक कार्यक्रम राख्नेछौं । त्यहाँ हामीले बढी भएको बिजुली कसरी बेच्न सकिन्छ भनेर छलफल गर्नेछौं । अर्काेतर्फ घरेलु बजारमा विद्युतको खपत कसरी बढाउन सकिन्छ भन्ने विषयमा पनि छलफल गर्नेछौं । त्यस्तै, फाइनान्सिल मोडलको विषयमा पनि छलफल गर्नेछौं । यो । क्षेत्रसँग सम्बन्धितलाई बोलाएर प्रभावकारी गराउनेछौं ।
यसप्रकारका एक्स्पोले व्यवसाय प्रवद्र्धनका लागि कतिको महत्त्वपूर्ण भूमिका निर्वाह गरेजस्तो लाग्दछ ?
पवन ढकाल: हामीले जुनसुकै नयाँ उत्पादन ल्याउने बित्तिकै त्यसको मार्केटिङ गर्न अत्यावश्यक हुन्छ । हामीले मार्केटिङ गर्ने प्लेटफर्मको रुपमा हाइड्रो एक्स्पोलाई लिने गरेका छौं । उत्पादनकर्ता तथा सप्लायर्सले भएका प्रोडक्डको सोकेस गर्ने र नयाँ प्रोडक्टलाई पनि विस्तार गर्न यस्ता एक्स्पोले ठूलो मद्दत पुर्याउने काम गर्छ ।
हाइड्रो एक्स्पो लगानी सम्मेलनको पूर्वसन्ध्यामा आयोजना हुँदैछ । एक्स्पोले लगानी सम्मेलनलाई कसरी फाइदा पुर्याउने देख्नुभएको छ ?
गणेश कार्कीः सरकार र नेपाली जनताको अहिलेको सपना नै देश समृद्धि बनाउने हो । सरकारले सन् २०३५ सम्म साढे २८ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सहितको मार्गचित्र बनाएको छ । यो जडित क्षमताका लागि ४६ खर्ब रुपैयाँ लगानी आवश्यकता पर्छ । यो लगानी प्रवद्र्धन गर्ने उद्देश्यले हुन लागेको एक्स्पोमा १ हजारभन्दा धेरैलाई सहभागिताका लागि निम्तो गरेका छौं । निम्तो गर्ने क्रम जारी छ । सरकारले पनि लगानी सम्मेलन अघि जलविद्युतमा लगानी वृद्धिका लागि नीतिगत सुधार गर्नुपर्छ । लगानी गर्दाका फाइदा प्रष्टसँग बोल्नुपर्ने हुन्छ । संसारभरिका प्रोडक्ट, लगानीकर्ता र सप्लायर्सलाई पनि बोलाएका छौं । थुप्र्रै देशका परामर्शदाता तथा डिजाइनलाई पनि बोलाएका छौैं । प्रोडक्ट बेच्न र लगानी गर्न विदेशी दुवै तयारी छन् । हाम्रो पनि लक्ष्य नेपाल सरकारले अघि सारेको योजनालाई मूर्त रुप दिने नै लक्ष्य रहेको छ । हामी देश विकास गर्न इच्छुक छौं । त्यसकारण, एक्स्पोले सरकारको लगानी सम्मेलनमा बल पुग्ने आशा गरेका छौं ।
एक्स्पोमा पुरस्कार रासीका कस्ता कस्ता प्रतियोगिता आयोजना हुँदैछन् ?
विजयसागर प्रधानः हाइड्रोपावर प्रोडक्ट एण्ड सर्भिस भनेर एउटा प्रतिस्पर्धा गराउदैछौं । यो कस्तो हो । यसमा कुनै व्यक्तिले हाइड्रोपावरलाई सर्पाेट हुने गरी जन्माएको आइडियाहरुको विषय प्रस्तुत गर्न सक्नेछन् । विद्यार्थीले आफ्नो तहबाट विकास गरेका विभिन्न प्रविधि र अन्य डिजिटललाइज प्रविधि प्रदर्शनमा राखिनेछ । त्यस्तो, परियोजनालाई प्रतिस्पर्धामा राखिने र उनीहरुले ल्याएको वस्तुको उपस्थित निर्णायकहरुले मूल्यांकन गरी मार्किङ गर्नु हुनेछ ।
उक्त मार्किङका आधार नै पहिलो, दोस्रो नम्बर दिइनेछ । पछिल्लो समयमा धेरैले मोबाइल क्यामेराबाट भिडियो बनाइरहेका छन् । स्वदेशी उत्पादनको बढी खपतलाई बढावा दिनका लागि हामीले यस पटक इभी र्याली पनि गर्नेछौं । पछिल्लो समय विद्युतीय गाडी पनि धेरै आइरहेका छन् । विद्युतीय गाडीको अझै प्रवद्र्धन गर्न पटक हामीले इभी याली राखेका छौं । जलविद्युत आयोजनाको लगानी व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा प्रतियोगिता गरिनेछ । अहिले सबैको हातहातमा मोबाइल फोन र क्यामेरा भएकाले पनि विभिन्न शिर्षकमा उत्कृष्ट भिडियो बनाउनेलाई पुरस्कृत गर्ने व्यवस्था पनि मिलाइएको छ ।
हाइड्रो एक्स्पोलाई सिक्ने र सिकाउने थलो बनाउन के गर्नुपछ ?
पवन ढकालः हिमालयन हाइड्रो एक्स्पोमा ऊर्जा क्षेत्रसँग सम्बन्धित सबै सरोकारवालाको सबैको सहभागिता हुने हुँदा वस्तु तथा सेवाको प्रवद्र्धनमा मद्दत पुग्नेछ । प्राविधिक सत्रबाट राखिने प्रस्तुतीकरणलाई सिक्ने र सिकाउने थलोको रुपका लिनुपर्छ । एक्स्पोमा संसारभरका विज्ञहरुको सहभागीता हुने भएकाले कुन देशमा कस्तो अभ्यास भइरहेको छ ? त्यसबारे प्राविधिक सत्रबाट लाभ दिन सक्नुपर्छ । यसको कसरी विकास गर्न सकिन्छ ? हाम्रो देशमा कस्तो प्रविधि विकास गर्न भन्नेबारेमा एक्स्पो फलदायी हुने आशा गर्न सकिन्छ । काठमाडौं विश्वविद्यालयले तयार पारेको ग्रीन हाइड्रोजन कार र इभी ट्रयाक्टर पनि एक्स्पोको आकर्षण बन्ने अपेक्षा छ । विभिन्न देशबाट विज्ञहरु आउनेछन् । त्यसको फाइदा एक्स्पोबाट लिन सक्नुपर्नेछ । युरोप र अमेरिकाले प्रविधिमा धेरै फड्को मारेका छन् । उनीहरुको अनुभव नेपालका लागि निकै फाइदा पुग्नेछ ।