Nepal Purbadhar

इन्जिनियर तथा अर्किटेक्टका लागि पाँच दिने पुल डिजाईन तालिम सम्पन्न


काठमाडौं । प्रारम्भिक चरणका इन्जिनियरहरुका लागि संचालित पाँच दिने पुल डिजाइन तालिम नगरकोटमा सम्पन्न भएको छ । स्केफ नेपालको आयोजनामा चैत्र २५ गतेदेखि तालिमको आयोजना गरिएको थियो ।

तालिमको उद्घाटन निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष एडी लामा र स्केफ नेपालका अध्यक्ष इन्जिनीयर ठाकुर प्रसाद शर्मा संयुक्त रूपमा गरेका थिए । कार्यक्रममा स्केफ नेपालका महासचिव तथा तालिम निर्देशक इन्जिनियर कमल कार्कीले देश विकासको लागी टेवा पुगोस् भन्ने हेतुले तालिमको आयोजना गरिएको बताए । यसैगरी स्थानीय सडक पुल सहयोग इकाइका नेतृत्वकर्ता तथा तालिम संयोजक वरिष्ठ इन्जिनीयर शकिल मानन्धरले तालिमको प्राविधिक पक्ष र तालिमका विविध विषयमा जानकारी दिए ।

निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष एडि लामाले पाँच दिने तालिमले देशभरी पुल निर्माण गर्नका लागी सहभागी सबै प्रशिक्षार्थिहरुले आवश्यक सम्पुर्ण ज्ञान प्राप्त गरेर राम्रो पुलको डिजाईन तयार गर्न सक्षम हुनुहुने विश्वास लिएको बताए । साथै अध्यक्ष इ. ठाकुर प्रसाद शर्माले पुल निर्माणका लागी उत्कृष्ट खाका तयार पार्नका लागी तालिममा सहभागी सबैजना सक्षम हुनुहुनेमा आफु विश्वश्त रहेको बताए ।

तालिममा नेपालभरिका विभिन्न इन्जिनियरिङ्ग तथा कन्सल्ट्यान्ट फर्महरुबाट प्रशिक्षार्थिहरु सहभागी थिए । तालिममा सडक विभाग पुल शाखा, सडक पुल सहयोग इकाइ, टीआइडी, मोपिड, सोटेनका इन्जिनियरहरु सामेल थिए । प्रशिक्षार्थिहरुले तालिमका कक्षाहरुमा पुल निर्माणका प्राबिधिक तथा पूर्वाधारका विविध पक्षहरु, भौगोलिक भु–बनौट लगायत पुल बनाउन आवश्यक सम्पूर्ण निर्माण सामग्रीका विविध पक्षका बारेमा विश्लेषणात्मक ज्ञान हासिल गरे ।

तालिम स्थानिय सडक पुल सहयोग इकाइ तथा तालिम संयोजक वरिष्ठ इन्जिनियर शकिल मानन्धर, इन्जिनियर किशोर पौडेल, सिनिएर इन्जिनियर रञ्जन मानन्धरले बिहान ८ बजेदेखी साँझ ५ बजेसम्म चरणबद्ध रूपमा संचालन गरेका थिए । कार्यक्रममा ईन्जिनियर संजय अधिकारीले समेत प्रशिक्षण दिएका थिए ।

तालिम समापन कार्यक्रममा भौतिक पुर्वाधार मन्त्रालयका वरिष्ठ इन्जिनियर अर्जुन सुवालले पुल निर्माणका विविध पक्षलाई केलाएर निर्माण गर्दा हुने गतिविधिहरुलाई पनि गहन अध्ययन अनुसन्धान गर्न सक्षम भएकोमा खुसी व्यक्त गरे । तालिम संयोजक वरिष्ठ इन्जिनीयर शकिल मानन्धरले तालिम अत्यन्तै फलदायी भएको बताए ।

स्केफ नेपालका अध्यक्ष वरिष्ठ इन्जिनीयर ठाकुर प्रसाद शर्माले यस्ता विविध विषयहरुमा वार्षिक रूपमा १२ देखि १५ वटा तालिमहरु विभिन्न संस्थाहरुको साथ र सहयोगमा आयोजना गर्दै आइरहेको जानकारी दिए । तालिमको लागि निर्माण व्यवसाय विकास प्रवद्र्धन समिति तथा नेपाल निर्माण व्यवसायी महासंघको सहयोग र स्थानीय सडक पुल कार्यक्रम सहयोग इकाइको प्राबिधिक सहयोग थियो ।

समापन कार्यक्रममा तालिममा सहभागीको तर्फबाट नम्रता थापा, अक्कल बहादुर मण्डल्, सन्तोष गिरी र समान पोखरेलहरुले तालिममा गहन एवं विशिष्ट ज्ञान तथा सीप हासिल गर्न पाएकोमा खुशी भएको र पुल निर्माणको क्षेत्रमा काम गर्न फलदायी हुने विश्वास आफुमा पलाएको उल्लेख गरे । स्केफ नेपालको कार्यसमिती सदस्य आर्किटेक्ट नबिन घिसिङले कार्यक्रम संचालन गरेका थिए ।


Read Previous

मोहनापुल-अत्तरिया सडक खण्डमा २ पक्की पुलको निर्माण अलपत्र

Read Next

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज ‘ब्रेक थ्रू’ हुँदै