काठमाडाैं । दैलेख जिल्लाकाे महाबु गाउँपालिकामा पर्ने ३ वटा गाउँमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँच पुगेको छ । नेपाल विद्युत् प्राधिकरण, दैलेख वितरण केन्द्रले गाउँपालिकाकाे वडा नम्बर-५ काे बडाबन र गाेर्ती तथा वडा नम्बर-३ काे सुवाकाेट गाउँमा वितरण लाइन विस्तार गरी ३ वटा ट्रान्सफर्मर जडान गरेर विद्युत पहुँच पुर्याएकाे हाे ।
विद्युत पहुँच पुगेपछि गाउँका ३०० बढी घर झिलिमिली भएकाे प्राधिकरण दैलेख वितरण केन्द्र प्रमुख नरेश रावलले बताए । उनका अनुसार यी गाउँमा मध्यम र तल्लाे भाेल्टेज स्तरका विद्युतीय संरचना निर्माण गरी विद्युतीकरण गरिएकाे छ ।
उनले अन्य घरमा पनि विद्युत सेवा लिनका लागि वायरिङ गरिरहेकाे बताए । बसाईसराईको चपेटामा पुगेको गाउँपालिकाकाे ग्रामीण बस्तीहरूमा विद्युत पहुँच पुगेसँगै बसाईसराई नियन्त्रण हुने अपेक्षा गरिएको छ ।
पूर्वाधार तथा यातायातको सेवा नपुगेकाले बसाईसराईको चपेटामा पुगेको गाउँमा विद्युत पहुँच पुगेसँगै केही हदसम्म गाउँमै बस्ने वातावरण सिर्जना भएको स्थानीयबासीको भनाई छ ।
तत्कालिन अवस्थामा पर्याप्त मात्रामा विद्युत् खपत हुने सम्भावना नदेखिए पनि गाउँलाई विकासको नयाँ उचाईमा पुर्याएको अनुभूति भएको जनप्रतिनिधिहरूले बताए । पटकपटक कहिले आफै त कहिले जनप्रतिनिधिहरूबाट बत्ती कहिले बल्छ ? भन्ने गुनासो सहितको चासो कार्यालयमा आउने भएकोले गाउँको बिजुलीको आवश्यकतालाई आधार मानेर विद्युतीकरणको कामलाई तिव्र गतिमा अघि बढाएको केन्द्रले जनाएको छ ।