Nepal Purbadhar

मर्स्याङ्दी जलविद्युत केन्द्रकाे विद्युत उत्पादन ३० मेगावाटमा झर्याे


तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको विद्युत् उत्पादन घटेर ३० मेगावाटमा झरेको छ । यसवर्ष लामो समयसम्म पानी नपरेकाले ठूलो परिमाणमा विद्युत् उत्पादन घटेको हो ।

सुख्खा यामसँगै नदीमा पानीको बहाव कम भएकाले ५० प्रतिशतभन्दा बढी मेगावाट विद्युत् उत्पादन घटेको केन्द्रले जनाएको छ । ६९ मेगावाट क्षमताको केन्द्रमा हाल ३९ मेगावाट विद्युत् उत्पादन घटेर ३० मेगावाट मात्र भइरहेको केन्द्रका प्रमुख पशुपति गौतमले जानकारी दिए ।

लामो समयसम्म पानी नपर्दा, लामो समयसम्म सुख्खा रहँदा नदीमा मिसिने खोला, झरना, खोल्सीको पानी घट्नुका साथै कतिपय खोला सुकेकाले उत्पादन घटेको उनले बताए । हाल सुख्खा मौसम भएकाले यस नदीमा मिसिने स्रोतमा पानीको बहाव कम भएपछि उत्पादन घटेको गौतमको भनाइ छ ।

बैशाख लागेपछि घाम पनि चर्को हुँदै जाने भएकाले हिउँ धेरै पग्लने र वर्षा बढी हुने सम्भावन बढ्ने भन्दै उत्पादन पनि बढ्दै जाने गौतमले बताए । सुख्खा मौसममा विद्युत् उत्पादन कम भएपछि प्राधिकरणले भारतबाट विद्युत् आयात गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।

मर्स्याङ्दी हिमालबाट बगेर आएको नदी हो । चिसो मौसममा तापक्रम घट्दै जाँदा हिउँ कम पग्लिने र वर्षा नहुँदा यसका सहायक नदी, खोला, खोल्सी, झरनामा पानीको बहाव घटेर विद्युत् उत्पादन पनि घट्ने गरेको गौतमले बताए । यस केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुरबाट काठमाडौँको स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।


Read Previous

अरुण तेस्रो आयोजनामा देखिएका समस्या समाधान गर्न अर्थमन्त्रीकाे निर्देशन 

Read Next

विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्न ग्लोबल आइएमई बैंक र जीआइजेडबीच सम्झौता