काभ्रे । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम अहिले भइरहेको छ । ३ वर्षमा सक्ने गरी सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएअनुसार २०७९ फागुन १६ गतेदेखि साँगाबाट निर्माण थालिएको हो ।
सडक विस्तारका क्रममा बनेपा नगर र धुलिखेल नगरमा बिछ्याइएका खानेपानीका पाइप र ढल व्यवस्थापनमा कठिनाइ भएको छ । सूर्यविनायक–धुलिखेल–धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालका अनुसार यी दुई नगरमा सडकमुनि विभिन्न खानेपानी आयोजनाका पाइप र पुराना अव्यवस्थित ढलका पाइप बिछ्याइएकाले यसको व्यवस्थापनमा समस्या भएको छ ।
सूर्यविनायक–धुलिखेल कूल १५.५ किलोमिटर लामो सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेलसम्म ८.४ किलाेमिटर सडकखण्ड विस्तार कार्यका एक वर्षअघि सुरु गरिएको थियो । आयोजनाअन्तर्गत सूर्यविनायक–साँगा सडकखण्ड भने ७.५ किलाेमिटर रहेको छ । विशेष गरी बनेपा नगरको मुख्य बजार क्षेत्र पुल बजारदेखि बुडोलस्थित चण्डेश्वरी खोलासम्मको ३.२ किलोमिटर सडक दायँबायाँ पुरिएका खानेपानी र ढल व्यवस्थापनमा चुनौती देखिएको इन्जिनियर खनालले बताए ।
धुलिखेल नगरमा एक किलोमिटर ढलको व्यवस्थापनमा बढी समस्या देखिएको छ । खानेपानी र ढलको व्यवस्थापन गर्नुपर्ने देखिएपछि धुलिखेल, बनेपा नगर तथा काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनालाई अनुरोध गरी हाल धुलिखेल नगर क्षेत्रभित्रका खानेपानी र ढल व्यवस्थापनको काम गरिरहेको इन्जिनियर खनालले बताए । धुलिखेलमा खानेपानीको व्यवस्थापनमा रु एक करोड तथा ढल व्यवस्थापनमा रु चार करोड खर्च हुने अनुमान गरिएको छ । सडक मापदण्डमा परेका खानेपानीका पाइप तथा घर स्थानान्तरण र भत्काउन सरोकारवालासँग विभिन्न चरणमा छलफल भएको छ ।
आयोजना कार्यालयका अनुसार उक्त राजमार्ग निर्माणको २५ वर्षपछि सूर्यविनायक–धुलिखेल सडकखण्ड चार लेनमा विस्तार थालिएको हो । आयोजनाको सुरुआतबाट सूर्यविनायकदेखि धुलिखेलसम्मनै सडक छेउमा पर्खाल निर्माणको काम भइरहेको छ भने विभिन्न स्थानमा हाल कल्भर्ट निर्माणको काम थालिएको छ । उक्त सडकखण्डको भैँसेपाटीमा संरचना निर्माणार्थ खन्दा पुरातात्विक वस्तु फेला परेपछि पुरातत्व विभागको निर्देशनअनुसार केही भागको काम रोकिएको छ ।
पहिलो चरणमा साँगादेखि धुलिखेल ८.४ किलाेमिटर सडकखण्ड विस्तार कार्यका लागि ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँ तथा दोस्रो चरणमा सुरु भएको सूर्यविनायक–साँगा सडकखण्ड ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको इन्जिनियर खनालले बताए । साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि विस्तार थालिएको हो । चीनसँगको छोटो दूरीको सिन्धुपाल्चोकको तातोपानी नाका केही महिनाअघि खुला भएपछि यस राजमार्गमा सवारी चाप बढेको छ ।