Nepal Purbadhar

विश्व बैंकले २६ अर्ब ५१ करोड ऋण दिने, सडक सञ्जाल विस्तार एवं मर्मतमा खर्च गरिने


काठमाडौं । विश्व बैंकले नेपालका २ पूर्वाधार परियोजनाका लागि २ सय मिलियन अमेरिकी डलर (करिब २६ अर्ब ५१ करोड रुपैयाँ) बराबरको ऋण सहयोग गर्ने भएको छ । विश्व बैङ्कको कार्यकारिणी समितिको फेब्रवरी २९ मा बसेकाे बैठकले नेपालकाे पूर्वाधार परियाेजनामा ऋण लगानी गर्ने निर्णय गरेको हो ।

ऋण सहयाेगबाट नेपालको प्रादेशिक र स्थानीय सडक सञ्जाल विस्तार एवं मर्मत–सम्भारमा सहयोग पुग्ने विश्व बैंकले जनाएको छ । “विश्व बैंक नेपालको समावेशी विकासमा सहयोग गर्न प्रतिबद्ध छ । विश्व बैंकको इन्टरनेसनल डेभलपमेन्ट एसोसिएसन (आइडीए) मार्फत हामीले सेवा र पूर्वाधारमार्फत नेपालीको जीवनस्तर सुधारका लागि सहयोग केन्द्रित गरेका छौँ,” बैंकका माल्दिभ्स, नेपाल र श्रीलङ्काका देशीय निर्देशक फेरिस हदाद जार्भोसले भने ।

वाशिङटन डिसीस्थित बैंकको प्रधान कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार नेपाललाई प्रदान गरिने सहायता रकममध्ये १ सय मिलियन (करिब  १३ अर्ब २५ करोड रुपैयाँ) रकम राजस्व सङ्कलनमा सुधार ल्याउन र ऋण व्यवस्थापनको पारर्शिता अभिवृद्धिमा उपयोग गरिनेछ ।    प्रत्यक्ष वैदेशिक लगानी प्रक्रियालाई स्वचालित बनाउन सो रकम प्रयोग गरिनेछ ।

यस्तै, एक सय मिलियन (करिब १३ अर्ब २५ रुपैयाँ) बढी रकम भने प्रादेशिक (मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेश) र स्थानीय सडक पूर्वाधारको मर्मत–सम्भारमा खर्च हुनेछ । त्यसबाट सेवा प्रवाहमा प्रभावकारिताका साथै स्थानीय समुदायमा सहज पहुँच पुग्नेछ ।


Read Previous

ऊर्जा क्षेत्रमा सहायत बढाउन अन्तर्राष्ट्रिय समुदायलाई विद्युत प्राधिकरणको आग्रह

Read Next

जगदुल्ला आयोजनाकाे  वित्तीय व्यवस्थापन र निर्माण व्यवसायी छनोटको प्रक्रिया अन्तिम चरणमा