म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ र ८ को सीमा क्षेत्रमा निर्माणाधीन २१.३ मेगावाटकाे ठूलोखोला जलविद्युत आयोजनाको ठाडो र तेर्साे सुरुङ ब्रेकथ्रु भएको छ । आयोजनाकाे बाँधदेखि सुरुङमार्ग हुँदै ल्याइने पानीलाई विद्युत्गृहमा खसाल्न आउटलेटतर्फ खनिएको १०३ मिटर लामो ठाडो सुरुङ र विद्युत्गृहतर्फबाट खनिएको ४९५ मिटर लामो तेर्साे सुरुङकाे निर्माण पूरा भइ जाेडिएकाे हाे ।
दुइतर्फबाट खनिएकाे सुरुङ एउटै विन्दुमा पुगेर जाेडिएकाे आयोजना प्रमुख रवीन्द्र हमालले जानकारी दिए । संयुक्त ऊर्जा लिमिटेडले २०७८ मङ्सिरदेखि निर्माण सुरु गरेको याे आयोजनाको २.७०० किलाेमिटर लामो मुख्य सुरुङ भने गत मङ्सिरमा नै जोडिएको थियो ।
आयोजनाको सिभिल ठेकेदार कम्पनी साकुरा पावर/त्रिपल एस जेभीले सहायक ठेकेदार कम्पनी रोकाया कन्ट्रक्सन प्रालिलाई आवश्यक जनशक्ति र मेसिन उपकरणसहित परिचालन गरेकाले आयोजनाको सबै सुरुङ खन्ने काम सकिएको उनले बताए । उनका अनुसार सुरुङ खनेर सकिएसँगै लाइनिङ तथा कंक्रिटिङकाे काम पनि सुरु भएकाे उनले बताए ।
सबै संरचनामा काम भइरहेकाे आयोजनाकाे सिभिलतर्फ ७७ प्रतिशत निर्माण पूरा भएकाे उनले बताए । “निर्माण सुरु भएको २२ महिनामा ७७ प्रतिशत काम सकिएको छ, बाँध र विद्युतगृहकाे काममा पनि गति दिएका छाैं ”, हमालले भने ।
विद्युतगृहमा ९० प्रतिशत काम सकिएको छ । बाँध क्षेत्रका संरचना निर्माणकाे पनि ७० प्रतिशत सकिएको उनले बताए । आगामी साउनभित्र आयोजना निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य छ ।
आयोजनाको सबैभन्दा कठिन मानिने सुरुङ निर्माणको काम सकिएकाले लक्ष्यअनुसार नै आयोजनालाई पूर्णता दिन लागिपरेको हमालले बताए । रघुगङ्गा नदीस्थित फेदीखोला मुहानकाे पानी छरीस्थित रघुगङ्गा नदीको किनारमा रहने विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिनेछ । आयोजनाबाट उत्पादन हुने विद्युत केन्द्रीय प्रसारण लाइनमा जोड्न २३ किलोमिटर लामो प्रसारण लाइन निर्माणको चरणमा छ ।
आयोजना सम्पन्न गर्न ३ अर्ब ६० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । कूल लगानीकाे ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाको ऋणबाट जुटाइएकाे छ । ३० प्रतिशत स्वपुँजी लगानी छ ।