Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

तनहुँकाे मानुङकोटको खानेपानी समस्या समाधान हुँदै   


डुम्रे । तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटमा खानेपानी समस्या समाधान हुने भएको छ । पछिल्लो समय सामाजिक सञ्जालमार्फत चर्चामा आएको पर्यटकीयस्थल मानुङकोटमा संघीय सरकारबाट चालू वर्षमा २ करोड रुपैयाँ बजेट विनियोजन भएपछि यस स्थानमा पानी ल्याउन ट्याङ्की निर्माण हुन थालेकाले खानेपानीकाे समस्या समाधान हुने भएकाे हाे ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले समपूरक योजनाअन्तर्गत खानेपानी योजनालाई प्राथमिकतामा राखेर मानुङकोटमा खानेपानीको ट्याङ्की निर्माण गर्न थालिएको बताए । “यहाँको खानेपानीको समस्या सम्बोधन गर्न नगरपालिका प्रतिवद्ध छ । हामी स्थानीयलाई यही फर्कने वातावरण बनाउँदैछौँ । यहाँको खानेपानी समस्या सम्बोधन हुन्छ ,”उनले भने ।

व्यास–५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले अबको एक हप्तामा खानेपानीको मुहान निश्चित हुने जानकारी दिए । “करिब छ–सात किलोमिटरको दूरीबाट खानेपानी बोरिङ गरेर ल्याउनेछौँ । केही मुहानमा विवाद हुँदा ढिलाइ भएको छ । समन्वय गरिरहेका छौँ ,”उनले भने ।

पानी ल्याउने मुहान सुनिश्चित भएपछि पानीको समस्या टर्नेछ । यस ठाउँसँग जोडिएको पौराणिक किंवदन्ती रहेको छ । मानुङकोट डाँडाबाटै कुहिरोको उत्पत्ति भएको मानिन्छ ।

विगतमा घण्टौँ लगाएर पानी ल्याउनुपर्ने बाध्यता भएपछि यहाँका स्थानीय बसाइँ सरी मानुङकोटको फेदीतर्फ झरे । पानी सहज हुने स्थानतर्फ झरेका स्थानीय यहाँ पर्यटक आगमन बढ्न थालेपछि फर्किन थालेका हुन् । करिब ५  वर्षयता मानुङकोट पर्यटकीयस्थलका रूपमा विकसित हुँदै गएको छ ।

विगतमा करिब ५०–६० घरधुरी बस्दै आएकामा पानीको समस्या भएपछि मानुङकोटको फेदी अलैचे, पाटनतर्फ झरेका हुन् । मानुङकोटमा केही सुविधासम्पन्न होटल बन्ने क्रममा छन् । तर, पानीको अभाव कहिले पूर्ति हुन्छ भनेर अपेक्षामा रहेका होटल व्यवसायी खानेपानी ट्याङ्की बन्न लागेपछि खुसी छाएको व्यवसायी चुडामणि दाहालले बताए ।

“सुविधासम्पन्न होटल बन्दै गए पनि पानीको समस्या हल नहुँदासम्म सकस नै रहेको छ । अब ती समस्या एक वर्षमा पूरा हुने अपेक्षा गरिएको छ ,”उनले भने । योजना निर्माणको काम हुने अवस्था पुगेकाले अब छिट्टै सहजता कायम हुने पूर्वजनप्रतिनिधिसमेत रहनुभएका दाहालले बताए ।
यहाँबाट देखिने कुहिरो, हिमशृङ्खला र सूर्योदय पर्यटकको आकर्षणका दृश्य हुन् । हिउँद सुरु भएसँगै कुहिरोले सदरमुकाम दमौली बजारलाई छोप्छ । घाम उदाउन लागेसँगै कुहिरो विस्तारै फाट्ने गर्दछ र दमौली बजार छर्लङ्ग देखिन्छ । यससँगै हिमशृङ्खला पनि सुन्दर देखिने गर्दछन् । यही हिमशृङ्खला र डाँडाबाट देखिने चारैतिरको सुन्तरता हेर्न पर्यटक लालायित हुने गर्दछन् । मानुङकोटबाट धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । यहाँको लोभलाग्दो दृश्यले पर्यटकलाई आनन्दित तुल्याउने गरेको छ ।

यी मनोरम दृश्यालोकनका लागि आउने पर्यटककै कारण अन्यत्र पुगेका यहाँका स्थानीय गाउँ फर्किन थालेका हुन् । पर्यटकीय क्षेत्रका रूपमा मनुङकोट विकास हुँदै जाँदा यहाँ स्थानीय होटल व्यवसायमा संलग्न हुन थालेका छन् । मानुङकोट पर्यटकीयस्थलका रूपमा विकास हुँदै गएपछि पानीको अभावले रित्तिएको बस्ती अहिले पर्यटकीयस्थलका रूपमा विकास भएसँगै स्थानीय फर्किन थालेका हुन् ।


Read Previous

काम सुरु भएकाे २ वर्षमा खाँदबारी-नुम सडक खण्डकाे प्रगति २८ प्रतिशत मात्रै

Read Next

सेकुङ र भुतर्छो ताल जोड्ने पदमार्गमा झोलुङ्गे पुल निर्माण   

Leave a Reply

Your email address will not be published. Required fields are marked *