Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

लेतेको सौन्दर्यमा लोभिए पर्यटक    


म्याग्दी । काठमाडौँबाट मुस्ताङ भ्रमणमा आएको एक निजी कलेजका विद्यार्थी र शिक्षकहरूको ६० जनाको समूह आइतबार थासाङ गाउँपालिका–३ को लेते कालोपानीमा बास बस्यो । परिवारका सदस्यहरूसँगै मुस्ताङ घुम्न आएकी पोखराकी सजिना घलेको २३ जनाको टोलीले लेतेमा दुई घण्टा बितायो । “मुस्ताङ भित्रनेबित्तिकै पुगिने लेतेको सौन्दर्यमा रमाइलो नगरी अघि बढ्नै मन लागेन्”, उनले भने, “जता फर्किए पनि देखिने हिमाल, शान्त वातावरणले लेतेमा समय बितेको पत्तै भएन ।”

लेतेमा अन्नपूर्ण, धवलागिरि, निलगिरि र टुकुचे हिमालको काखमा बसेको महसुुस गरेको घलेले अनुुभव सुनाए । म्याग्दीको सिमानामा रहेको घाँसा काटेपछि पुगिने लेते अधिकांश पर्यटकको रोजाइमा पर्न थालेको छ । सम्भव हुनेहरू लेतेमा एकरात बास बसेर वरपरका गन्तव्य घुम्छन् । बास बस्न सम्भव नहुनेहरूले खाना–खाजा–चिया पिउन एक–डेढ घण्टा भुलेर गन्तव्यतर्फ लाग्ने गरेका लेते कालोपानीको सियु लजका सञ्चालक अमित तुलाचनले बताए ।

“धवलागिरि र अन्नपूर्ण हिमशृङ्खलाको काखमा रहेको लेते–कालोपानीको बस्तीको बीचमा बेनी–जोमसोम–कोरला सडक कालोपत्र भएपछि सुन्दर देखिएको छ”, उनले भने, “लेतेबाहेक मुस्ताङको अन्य ठाउँबाट अन्नपूर्ण प्रथम हिमाल नदेखिने भएकाले पनि यहाँ विदेशी पर्यटक आउँछन् ।”

कालीगण्डकी नदीको किनारमा रहेको यो बस्ती समुद्री सतहबाट दुई हजार पाँच सय ३० मिटरको उचाइमा छ । बस्तीको वरपर सल्ला, धुपी र गुराँसको जङ्गल छ । बर्खामा हरियाली छाउने वनपाखा वसन्त ऋतुमा गुराँस फुलेर रङ्गिन्छ । पृष्ठभूमिको पहाड हिजोआज हिउँले छोपिएको छ । कालोपत्र सडकको पृष्ठभूमिमा हिमाल, जङ्गल र पहाडी भूगोलको दृश्यावलोकन, तस्बिर, भिडियो खिच्नेहरूको चहलपहल बढ्न थालेको संरक्षण क्षेत्र व्यवस्थापन समिति लेतेका सचिव प्रमिश गौचनले बताए ।

“हिमालसँगै जैविक, वातावरणीय विविधता र थकाली संस्कृति लेतेको आकर्षण हो”, उनले भने, “लेतेको सौन्दर्यले मुस्ताङ आएका पर्यटकलाई भुलाएको छ ।” लेतेमा करिब २० वटा सुविधासम्पन्न होटल र लज छन् । व्यवसायीहरूका अनुसार यहाँ एक रातमा एक हजार जनासम्म बास बस्न सक्छन् ।

वसन्त र शरदयाममा भरिभराउ हुने लेतेका होटल बेसिजनमा पनि खाली हँुदैनन् । लेते आसपासका क्षेत्रमा नयाँ गन्तव्य पहिचान गरी पूर्वाधार निर्माण र प्रवर्द्धनमा जोड दिएको स्थानीयवासीसमेत रहनुभएका प्रतिनिधिसभाका पूर्वसदस्य प्रेमप्रसाद तुलाचनले बताए ।

लेतेबाट करिब ६ घण्टा यात्रा गरेपछि धवलागिरि आइसफल र कालीबराह पुगिन्छ । १५ मिनेट उकालो हिँडेर पुुगिने ‘भ्यू प्वाइन्ट’बाट लेतेगाउँको सबै दृश्य हेर्न सकिन्छ । लेतेबाट एक घण्टाको पैदलयात्रा गरेपछि पुुगिने सेकुुङ, भुुछत्रो र टिटीतालमा पूर्वाधार निर्माण गरिएको तुलचानले बताउनुभयो । चौँरी, भेडागोठ पनि यहाँको आकर्षण हो । चिसो हावापानीमा रासायनिक विषादी र मलको प्रयोगबिनै उत्पादन हुने आलुुको स्वादिष्ट परिकार चाख्न पाइन्छ । पर्यटकलाई लक्षित गरेर लेतेको जनजागरण आमा समूहले थकाली सङ्ग्रहालय पनि सञ्चालन गरेको छ ।


Read Previous

बैंकहरूले सन् २०३० सम्ममा जलविद्युतमा १० खर्ब लगानी विस्तार गर्नुपर्छ

Read Next

दिक्तेल-खानीडाँडा-रेग्मीटार सडक बनेपछि खाल्ले गाउँमा पुग्याे यात्रु बाेकेकाे बस

Leave a Reply

Your email address will not be published. Required fields are marked *