काठमाडौं । बाणिज्य बैंकहरूले बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि फागुन महिनाका लागि पनि ब्याजदर घटाएका छन् । अधिकांश बाणिज्य बैंकहरूले अधिक तरलता हुँदा समेत कर्जाको माग तत्काल बढ्ने अवस्था नदेखेपछि निक्षेपको ब्याजदर घटाएर समायोजन गरेका हुन् ।
बाणिज्य बैंकहरूले सोमबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार माघको तुलनामा ब्यक्तिगत मुद्दतिको औसत ब्याजदर ०.४१ प्रतिशतले घटाइएकाे छ । यसपटक एभरेष्ट, लक्ष्मी सनराइज , माछापुच्छ्रे र हिमालयन बैंकबाहेक १६ वटा बैंकले ब्याजदर घटाएर समायाेजन गरेका छन् । यी ४ वटा बैंकले भने माघ महिनाकाे ब्याजदरलाइ नै निरन्तरता दिएका छन् ।
सिटिजन्स बैंकको ब्याजदर १.१ प्रतिशत घटेको छ । माघ महिनामा ९.१५ प्रतिशत रहेको ब्याजदर फागुन महिनाका लागि ८.२५ प्रतिशत कायम गरिएको छ ।
कृषि विकास बैंकले ७.२६ प्रतिशत रहेको ब्याजदर घटाएर ६.४४३ प्रतिशतमा झारेको छ । यो सबै बाणिज्य बैंक मध्ये निक्षेपकर्तालाई दिइएको सबैभन्दा कम ब्याजदर हो ।
नेपाल बैंक लिमिटेडले माघ महिनामा ८ प्रतिशत रहेको ब्याजदर घटाएर ७.२५ प्रतिशतमा ल्याएको छ । लक्ष्मी सनराइज र माछापुच्छ्रे माघ महिनाकै ८ प्रतिशत ब्याजदर कायम गरेका छन् ।
यस्तै, एनआइसी एसियाले ८.०६५ बाट ८ प्रतिशत, प्रभुले ८.०६५ प्रतिशतबाट ७.५, स्टान्डर्ड चार्टडले ८.०७ प्रतिशतबाट ७.३५ प्रतिशत, राष्ट्रिय बाणिज्य बैंकले ८.०७बाट ७.३५ प्रतिशत, नबिलले ८.१ बाट ७.७५ प्रतिशत, ग्लोबल आइएमईले ८.१ बाट ७.६ प्रतिशत र सिद्धार्थले ८.१ बाट ८ प्रतिशतमा ब्याजदर झारेका छन् ।
यसैगरी, प्राइम कमर्सियलले ८.१ बाट ७.४ प्रतिशत, कुमारीले ८.११ बाट ८.०१ प्रतिशत, सानिमाले ८.१५ बाट ७.५१ प्रतिशत ब्याजदर घटाउँदा हिमालयनले ८.१५ प्रतिशत रहेकाे ब्याजदर फागुन महिनाका लागि पनि यथावत राखेकाे छ । एभरेष्ट बैंकले पनि माघ महिनामा ८ प्रतिशत रहेकाे ब्याजदरलाइ नै फागुन महिनाका लागि पनि निरन्तरता दिएकाे छ ।
यस्तै, नेपाल एसबिआइले ८.२५ बाट ८.१ प्रतिशत, नेपाल इनभेष्टमेन्टले ८.६ बाट ८ प्रतिशत, एनएमबीले ९ बाट ८.५ प्रतिशतमा घटाएर ब्याजदर समायोजन गरेका छन् ।
नेपाल राष्ट्र बैंकले व्यक्तिगत मुद्दती खाताको निक्षेपको ब्याजदरको अधिकतम सीमा र बचतको न्यूनतम ब्याजदरबीचको अन्तर ५ प्रतिशत भन्दा बढी नहुने व्यवस्था गरेको छ । यही नियम अनुसार नै बचत र कल निक्षेपको ब्याजदर पनि समायोज हुने गर्दछ ।