
काठमाडौं । नेपाल आयल निगमले एलपी ग्यासका उपभोक्ताबाट निर्धारित खुद्रा मूल्यभन्दा बढी नलिन बिक्रेतालाई आग्रह गरेको छ । निगमले आइतबार सूचना जारी गरी तोकिएको खुद्र मूल्यभन्दा बढीमा ग्यास बिक्री वितरण भइरहेको भन्ने खबर सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत सुन्नमा आएको भन्दै त्यसो नगर्न भनेको हो ।
गत असोज ६ गते गरिएको मूल्य समायोजन अनुसार उद्योगदेखि ५० किलोमिटरको दुरीभित्र प्रतिसिलिण्डर ग्यासको मूल्य १८ सय ९५ रुपैयाँ कायम रहेकाले खुद्रा ग्यास बिक्रेताले उपभोक्ताबाट योभन्दा बढी असुल्न नमिल्ने सूचनामा भनिएको छ ।
‘ग्यास उद्योगबाट ५० किलोमिटरभन्दा टाढाका स्थानको हकमा स्थानीय ढुवानी भाडा समायोजन गरी बिक्रेताले खुद्रा मूल्य तय गर्न सक्छन्,’ सूचनामा भनिएको छ, ‘तर, ५० किलोमिटरको परिधिभित्र प्रतिसिलिण्डर १८ सय ९५ रुपैयाँभन्दा बढी मूल्यमा बिक्री वितरण भइरहेको पाइएमा निगमको एलपी ग्यास विनियमावली, २०६५ (संसोधनसहित) तथा अन्य प्रचलित ऐन/कानून बमोजिम कारबाही हुन्छ ।’
निगमले ग्यास उद्योगदेखि ५० किलोमिटर परिधिभित्रका ग्राहकलाई तोकिएकोभन्दा बढी मूल्य नतिर्न र कुनै बिक्रेताले लिइरहेको भए खबर गर्न समेत आग्रह गरेको छ ।
 
								 नेपाल पूर्वाधार
                        नेपाल पूर्वाधार         
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                    








