Nepal Purbadhar

कास्की जिल्ला कारागारको विद्युत लाइन काटियो


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कास्की जिल्ला कारागारको विद्युत लाइन काटेको छ । विद्युत प्राधिकरणको पोखरा वितरण केन्द्रले आइतबार लामो समयदेखि विद्युत महसुल तिर्न अटेर गर्ने जिल्ला कारागारको विद्युत लाइन काटेर कारबाही गरेको हो ।

जिल्ला कारागारले वितरण केन्द्रलाई १९ लाख ८७ हजार ४८५ रुपैयाँ बराबरको विद्युत महसुल तिर्न बाँकी छ । पटक–पटक ताकेता गर्दा पनि महसुल तिर्न नआएपछि विद्युत लाइन काटेर जिल्ला कारागारमाथि कारबाही गरिएको पोखरा वितरण केन्द्र प्रमुख राजीव सिंहले जानकारी दिए ।

उनका अनुसार जिल्ला कारागार कार्यालयले जेल, कारागार कार्यालय र कारागार कार्यालय कास्की गरी ३ वटा नामबाट विद्युत सेवा लिँदै आएकोमा महसुल नतिरेपछि सबै लाइन काटिएको छ । जिल्ला कारागारले ३ वटै नामबाट २०/२० केभीएको विद्युत लोड लिँदै आएको थियो ।

‘हामीले पहिलेदेखि नै विद्युत महसुल तिर्न ताकेता गर्दै आएका थियौं,’ उनले भने, ‘तर, पटक पटक जानकारी गराउँदा पनि महसुल नबुझाएपछि विनियमावलीमा भएको व्यवस्था बमोजिम विद्युत लाइन काटेका हौं ।’ उनले कारागारले जरिवानासहितको महसुल बुझाएपछि मात्रै अब लाइन जोडिने बताए ।

वितरण केन्द्रले ६० दिनभन्दा बढी समयको विद्युत बक्यौता बाँकी रहेका ग्राहकको नियमित रूपमा विद्युत लाइन काट्दै आइरहेको छ । शनिबार मात्रै पनि १०७ जना ग्राहकको विद्युत लाइन काटी यी ग्राहकबाट करिब १३ लाख रुपैयाँ विद्युत बक्यौता जरिवानासहित असुल गर्न बाँकी रहेको केन्द्रले जनाएको छ ।

शनिबार नै पहिले लाइन काटेर कारबाही गरिएका ४७ ग्रहाकले जरिवानासहित विद्युत बक्याैता बुझाएपछि लाइन जाेडिएकाे छ ।

Facebook Comments

Read Previous

भूकम्पले घर भत्काएका बाहेक अन्य ठाउँमा विद्युत् सुचारु

Read Next

भूकम्पबाट अवरुद्ध सडक खुला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar