काठमाडौं । महिला आर्थिक पत्रकार संघ (फेजा) को औपचारिक उद्घाटन गरिएको छ । विभिन्न सञ्चार माध्यममा आबद्ध भई आर्थिक क्षेत्रको रिपोर्टिङ गर्दै आएका महिला पत्रकारहरूको हक हित तथा सशक्तिकरण गर्ने उद्देश्यले स्थापना गरिएको संघको सोमबार राजधानीमा कार्यक्रम गरी औपचारिकरूपमा उद्घाटन गरिएको हो ।
पत्रकार संघको अर्थमन्त्री डा.प्रकाशशरण महतले औपचारिक उद्घाटन गरे । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले पत्रकार संघले महिला पत्रकारहरूको क्षमता अभिवृद्धि गरी सशक्तिकरण गर्ने विश्वास लिएको बताए ।
‘सबै क्षेत्रमा जस्तै सञ्चार क्षेत्रमा कार्यरत महिला पत्रकारले पनि विविध प्रकारका विभेद सहन गर्नु परेकोबारे सबैलाई जानकारी भएकै कुरा हो,’उनले भने,‘यस प्रकारको विभेदको अन्त्यका लागि महिला नै शशक्त भएर अगाडि बढ्नु पर्छ । अनि मात्रै पुरुष समान स्थरमा आइपुगिन्छ र अवस्था सहज हुन्छ ।’
उनले महिला समानरूपले अगाडि आउनका लागि समाजलाई पनि जागरुक बनाउँदै लैजान आवश्यक रहेको पनि बताए । अहिले धेरै महिला पत्रकारितामा आउनु सकारात्मक भएको र आर्थिक क्षेत्रको रिर्पोटिङमा समेत आउनुले सकारात्मक वातावरण बन्दै गइरहेको बताए ।
नेपालमा टिभी, रेडियो, पत्रपत्रिका र अनलाइन सञ्चार माध्यममा महिला पत्रकारहरूको उपस्थिती दक्षिण एसियामै राम्रो रहेको बताउँदै अर्थमन्त्री महतले यसले सकारात्मक परिवर्तन ल्याउने बताए । आर्थिक पत्रकारिता गर्दै आएका महिला पत्रकारहरूको हक हितका लागि फिजाको गठन भएकाले मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत उनले जनाए ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का अध्यक्ष गणेश कार्कीले आर्थिक क्षेत्रको रिर्पोटिङमा धेरै महिला पत्रकारहरूको संख्या बढ्दै गएकाले आगामी दिनमा संख्या अझै बढ्दै जाने विश्वास व्यक्त गरे ।
संघकी अध्यक्ष शर्मिला ठकुरीले आर्थिक रिर्पोटिङ गर्दै आइरहेका महिला पत्रकारको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले संस्थाको स्थापना गरिएको बताइन् । विशेष गरी आर्थिक पत्रकारितामा भर्खरै आएका महिला पत्रकारलाई क्षमता अभिवृद्धिको खाँचो रहेकाले उनीहरूको शशक्तिकरणमा ध्यान दिइने उनले बताइन् ।
संस्थाकी काेषाध्यक्ष मुना कुँवरले महिला पत्रकारलाई कार्यस्थलमा हुने विभेदको अन्त्यका लागि सरकारको ध्यानाकर्षण गराउनका लागि संघले भूमिका खेल्ने बताइन् ।