Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

प्रसारण लाइनको तार फेर्न सर्लाहीको लालबन्दी क्षेत्रमा अवरोध, काम नभए हिउँदमा वीरगञ्ज क्षेत्रमा लोडसेडिङ


काठमाडौं । सर्लाहीको लालबन्दी क्षेत्रका बासिन्दाले १३२ केभी डबल सर्किट प्रसारण लाइनको स्तरोन्नति (तार फेर्ने) कार्यमा अवरोध गरेका छन् । करिब ४१ वर्षअघि निर्माण गरिएको प्रसारण लाइनको मार्गधिकारमा पर्ने जग्गाको मुआब्जा तथा क्षतिपूर्ति पाउनु पर्ने, उक्त जग्गालाई बैंक तथा वित्तीय संस्थामा धितो राखी ऋण लिन पाउनु पर्ने लगायतका माग राखी स्थानीयले लाइनको तार (कन्डक्टर) फेर्ने कार्यमा अवरोध गर्दै आएका छन् । स्थानीयको अवरोधका कारण गत १९ असोजबाट काम ठप्प छ ।

नेपाल विद्युत प्राधिकरणले पूर्व–पश्चिम १३२ केभी डबल सर्किट प्रसारण लाइनको क्षमता बृद्धि गरी विद्युत् प्रवाह बढाउन मकवानपुरको हेटौंडादेखि धनुषाको ढल्केबर सबस्टेसन सम्मको करिब १३६ किलोमिटर खण्डमा पर्ने कम क्षमताको पुरानो तारलाई बदलेर नयाँ तार राखी प्रसारण प्रणाली सुधार गर्न लागेको हो । यसबाट त्यस क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुने, पश्चिम क्षेत्रमा उत्पादित विद्युत्लाई पूर्वतर्फ थप प्रवाह गर्न सकिने, ढल्केबरबाट पश्चिमतर्फ विद्युत् प्रवाहका लागि थप सहज हुने र देशभित्र खपत गरी अतिरित्त भएको विद्युत्लाई ढल्केबर सबस्टेसनमार्फत भारततर्फ निर्यात गर्न सकिन्छ ।

ढल्केबर सबस्टेसनबाट सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित नवलपुर सबस्टेसन सम्मको करिब ४० किलोमिटर लाइनमध्ये एउटा सर्किटको करिब ३६ किलोमिटर तार फेरिएको छ । तर, लालबन्दीबजार क्षेत्रका स्थानीयको अवरोधका कारण करिब ४ किलोमिटर तार फेर्ने काम रोकिएको छ । तार बदल्ने क्रममा टावरमा जोडिएको पुरानो तार काटेर अस्थायी रुपमा बाँधी राखिएको छ । एउटा सर्किट बन्दहुँदा ढल्केबरबाट पश्चिमतर्फ र हेटौंडाबाट पूर्वतर्फ विद्युत् प्रवाह गर्न समस्या हुँदा यसले देशकै समग्र विद्युत् प्रसारण प्रणाली प्रभावित बनाइरहेको छ ।

कन्डक्टर बदल्न एउटा सर्किट बन्द गरिएकाले अहिले लाइन क्षमताले नधान्दा ट्रिपिङलगायतका समस्या आई विद्युत् मागलाई व्यवस्थापन गर्ने असहज भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

‘नयाँ प्रसारण लाइननिर्माणमा जताततै अवरोध छ, अब ४०÷४१ वर्षअघि बनेर चालू अवस्थामा रहेको लाइनमासमेत तार फेर्न खोज्दा अहिले आएर क्षतिपूर्तिको माग गर्दै अवरोध हुनथालेको छ, यस्तो अवस्थामा कसरी कामगर्न सकिन्छ ? अवरोध हटाउन हाम्रो तर्फबाट सक्दो प्रयास र पहल भइरहेता पनि सफल हुन सकिरहेका छैनौं,’ कार्यकारी निर्देशक घिसिङले भने । ‘तत्काल काम गर्न सकेनौं भने ढल्केबरबाट थपविद्युत् पश्चिमतर्फ पठाउन नसकी हिउँदमा वीरगञ्जलगायतका क्षेत्रमा वाध्यकारी लोडसेडिङ गर्नु पर्ने अवस्था आउन सक्छ, यस्तो संवेदनशील लाइनको काममा अवरोध नगरिदिन आग्रह गर्दछु ।’

आयोजना प्रमुख राजेन्द्र कोइरालाले अवरोधका विषयमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी, लालबन्दी नगरपालिका प्रमुख, प्रहरी प्रमुख, सम्बन्धित वडाध्यक्ष, स्थानीय बासिन्दालगायतसँग पटक–पटक छलफल गरिएता पनि कुनै निश्कर्ष आउन नसकेको बताए । स्थानीयले भाग पुरा नभएसम्म उनीहरुको जग्गामा टेक्दै नटेक्न चेतावनी दिएको उल्लेख गर्दै प्रमुख कोइरालाले समस्या समाधानका लागि स्थानीय तह, प्रशासनसँग समन्वय भइरहेको भएको बताए ।
१३२ केभी प्रसारण लाइनको मध्यविन्दुबाट दायाँवायाँ ९÷९ मिटर मार्गधिकार तोकिएको छ । बैंक तथा वित्तीय संस्थाले उक्त मापदण्डभन्दा विपरीत ५० मिटरसम्म पर्ने जग्गाकोसमेत धितो नलिने गरेको स्थानीयले गुनासो गर्दै आएका छन् ।

तार फेर्ने कार्यलाई खण्ड–खण्ड विभाजन गरी काम भइरहेको छ । पहिलो खण्डमा हेटौंडाबाट पथैलिया सम्मको काम सम्पन्न भइसकेको छ । दोस्रो खण्डमा ढल्केबरबाट नवलपुरसम्मको तार फेर्ने काम भइरहेको छ । तेस्रो खण्डमा नवलपुरबाट रौतहटको चपुरसम्म र चौथो खण्डमा चपुरबाट पथैलियासम्मको तार पर्ने काम अगाडि बढाइने छ । एउटा सर्किटको काम सकिएपछि उक्त लाइनलाई चालू गरी अर्को सर्किटको तार फेर्न सुरु गरिने छ । १३२ केभी प्रसारण लाइनको कन्डक्टर स्तरोन्नतिका लागि भएको ठेक्का सम्झौता ४ साउन २०७९ मा कार्यान्वयनमा आएको थियो । आयोजनाको काम २०८१ पुसभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।


Read Previous

घोराही–तुलसीपुर सडक चार लेन बनाइँदै

Read Next

हट्यो नागढुंगा सुरुङमार्गको समस्या, एक महिनाभित्र टनेलको ब्रेक थ्रु गर्ने तयारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *