Nepal Purbadhar

पर्यटकीय गन्तव्य बन्दै मायाटार


चितवन । चितवनको पहाडी भूगोलमा पर्ने इच्छाकामाना गाउँपालिकामा थुप्रै पर्यकटीयस्थल छन् । भौगोलिक विकटता र प्रचारप्रसारको अभावका कारण यहाँका पर्यटकीयस्थल ओझेलमा पर्दै आएका छन् । पछिल्लोे समय फिस्लिङ–शक्तिखोर सडक स्तरोन्नति भएसँगै इच्छाकामना गाउँपालिकाको माथिल्लो विकट भेगमा पनि पर्यटक बढ्न थालेको छ । वडा नं २ मायाटार गाउँ पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको स्थानीय बताउँछन् ।

शक्तिखोरबाट उपरदाङगढी हुँदै फिस्लिङ जोड्ने सडकको मध्यभागमा पर्ने मायाटार गाउँमा गुरुङ र चेपाङ जातिको बाक्लो बसोबास छ । यो गाउँ चितवनको पुरानो सदरमुकाम ऐतिहासिक उपरदाङगढीबाट आठ किलोमिटरको दूरीमा पर्दछ । गर्मी मौसममा आन्तरिक पर्यटक बढी पुग्ने गरेका घरबास ९होमस्टे० सञ्चालकसमेत रहनुभएका स्थानीय टीका गुरुङले बताए ।

“जिल्लाको तराई भेग र इच्छकामनाको तल्लो भेगमा गर्मी हुँदा मायाटारमा भने सिरक ओढेर सुत्नुपर्ने अवस्था हुन्छ”, उनले भने, “गर्मी छल्न अन्य मौसममा भन्दा बढी आन्तरिक पर्यटक यहाँ पुग्ने गर्छन् ।” यहाँ दैनिक आन्तरिक पर्यटक आएर बास बस्ने गरेको उनको भनाई थियो । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले पर्यटकको आवागमन बढेसँगै यहाँका गाउँलाई होमस्टेका रूपमा विकास गर्ने योजना रहेको बताए । विशेष गरेर मायाटारसहित नजिक रहेका गुरुङ बस्ती, घुर्केस र डाँडागाउँमा होमस्टे सञ्चालन गर्ने तयारी भइरहेको बताइएको छ ।

“यहाँ आउने पर्यटकलाई गुरुङ र चेपाङ समुदायको सांस्कृतिक झाँकीबाट मनोरञ्जन प्रदान गर्नका लागि होमस्टे सञ्चालन गर्ने योजना बनाएका छौँ । मायाटार नजिकै घुर्केस, डाँडागाउँलगायत रमणीय गुरुङ बस्ती छन्”, गुरुङले भने, “गुरुङ र चेपाङ समुदायको कला संस्कृतिबाट यहाँ आउने पर्यटकलाई थप मनोरञ्जन प्रदान गर्न सकिन्छ ।” होमस्टे सञ्चालनका लागि स्थानीयलाई तालिमका साथै आर्थिक सहयोग गर्ने गाउँपालिकाको योजना रहेको उहाँले बताउनुभयो । होमस्टे सञ्चालनमार्फत स्थानीयको आयस्तरमा वृद्धि हुने आशा उनले गरेका छन् ।


Read Previous

साँफे–मार्तडी सडक अवरुद्ध

Read Next

पर्यटक आकर्षणको केन्द्र बन्यो ‘रिग क्षेत्र’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar