Nepal Purbadhar

सिँचाइको समस्या जतिसक्दो चाँडो समाधान गर्नेछु: मन्त्री भुसाल


काठमाडौँ । कृषि तथा पशुपक्षीमन्त्री डा वेदुराम भुसालले कृषि क्षेत्रको सबैभन्दा ठूलो सिँचाइ समस्या जतिसक्दो चाँडो समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आइतबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो भनेका हुन् । “सबैभन्दा ठूलो समस्या भनेको आज पनि सिँचाइकै हो, अहिले पनि हाम्रो खेतीयोग्य जमिनको आधा मात्रै पनि सिँचाइ हुन सकिरहेको छैन, ४८ प्रतिशत जमिन मात्रै सिँचाइ भएको छ, त्यो पनि बर्खापासमा मात्रै बाह्रैमास सिँचाइ भनेको १७/१८ प्रतिशतभन्दा छैन, जहाँ हामी खेती गर्छौं ।” उनले भनेका छन् ।

सबैभन्दा पहिला सिँचाइको व्यवस्थापन गरेपछि मात्रै उन्नतशील बीउको विकास गर्ने, मलको अभाव पूरा गर्ने, यान्त्रिकीकरणमा जाने, बजारको व्यवस्थापन गर्ने र आधुनिकीकरणमा जान सकिनेमा उनले जोड दिएका छन् । विशेषगरी युवा पुस्तालाई कृषि क्षेत्रमा आकर्षण गर्ने गरी नीतिहरू बनाउनुपर्ने उनको भनाइ थियो । यसै वर्ष चैते धान एक लाख हेक्टरमा लगाउने योजना सुनाउँदै कृषि क्षेत्रको उत्पादनका निम्ति कुनै न कुनै किसिमको उत्पादनशील अभियानमा जानुपर्ने पनि उनले बताए ।

“कृषि क्षेत्र हाम्रो मुलुकको मेरुदण्ड हो भनेर हामीले भनिरहेका छौँ, निर्यातलाई वृद्धि गर्ने र आयातलाई प्रतिस्थापन गर्ने हो भने त्यो कृषिबाट नै सम्भव छ, कृषि उत्पादनमा वृद्धि गरेर मात्रै सम्भव छ, तर कृषि क्षेत्रमै धेरै समस्याहरू छन् ।” अझ अगाडि उनले भने । कृषि मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले समग्र कृषि क्षेत्रको विकासका निम्ति नीति र सरकारी क्षेत्रबीच समन्वय र एकता हुनुपर्नेमा जोड दिए । कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले कृषि क्षेत्रको विकासका निम्ति सङ्घ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकार मिलेर अगाडि बढ्नुपर्ने बताए ।


Read Previous

‘आर्थिक कुटनीतिमा निजी क्षेत्रसंग सहकार्य अपरिहार्य’

Read Next

भारतको धौलीगङ्गा बाँध चौथोपटक खोलिँदै सतर्कता अपनाउन आग्रह

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar