बागलुङ । बागलुङको ताराखोला गाउँपालिकाको काठेखोलाको रिजाचोकबाट ताराखोला जोड्ने मुख्य सडकका रूपमा रहेको सहिदमार्ग स्तरोन्नति हुन नसक्दा यात्रीहरुलाई सास्ती बढेको छ । श्रमदानमार्फत खनिएको उक्त सडक कालोपत्र नहुँदा यातायातका साधन सञ्चालनमा कठिनाइ भएको छ ।
सङ्घीय सरकारले बजेट व्यवस्थापन गर्न नसक्दा अहिले मुख्य सडकका रूपमा रहेको सहिदमार्गको काम हुन नसकेको हो । ताराखोला गाउँपालिकाको शाखा सडकका रूपमा रहेको त्रिशूलचोक हुँदै माझखर्क सडक कालोपत्र भइसक्दा पनि गाउँपालिकाको मुख्य सडक भने स्तरोन्नति हुन सकेको छैन । गाउँपालिकाको मध्यभागलाई समेटिएको सहिदमार्गलाई गाउँपालिकाको मुख्य सडकका रूपमा लिइएको छ ।
शाखा त्रिशूलचोकबाट माझखर्क र हटिया हुँदै गाईघाट झरनातर्फ सडक कालोपत्र हुन लाग्दा पनि मुख्य सडक कालोपत्र हुन सकेको छैन ।सडक कालोपत्र गर्ने गरी सङ्घीय सरकार तथा एसियाली विकास बैंकले पटक–पटक सडकको सर्भे गरे पनि कालोपत्र भने गर्न सकिएको छैन । ताराखोलाको त्रिशूलचोकबाट माझखर्क गाउँसम्म सडक कालोपत्र गरिएको छ । तर रिजालचोकबाट ताराखोला गाउँसम्म झण्डै ३० किलोमिटर सडक निर्माण नहुँदा यात्रुलाई समस्या भएको छ ।
ताराखोला–सरपाण्डी–खरीखोला सडक कालोपत्र भए पनि ताराखोला गाउँपालिकालाई समेटिएको मुख्य सडक कालोपत्रका लागि आवश्यक पहलकदमी भइरहेको गाउँपालिकाका अध्यक्ष हिमाल विकले बताए । सङ्घीय सरकार र एसियाली विसका बैंकमार्फत सडक कालोपत्र गर्ने प्रयास भइरहेको उनको भनाइ छ ।
“गण्डकी प्रदेश सरकारको रु २२ करोड लागतमा सडक कालोपत्र गरिँदै छ”, अध्यक्ष विकले भने, “अब गलकोटबाट ताराखोलातर्फ समेत कालोपत्र गर्न थालिएको छ ।” हटिया–ताराखोला, सरपाण्डी ताराखोला र सहिदमार्गका तीन सडकले ताराखोलाको विकासको ढोका खोलेका छन् । सहिदमार्ग लामो र ठूलो सडक भएकाले करोडौँ बजेट लाग्ने भएकाले सडक कालोपत्रमा जान केही ढिलाइ भएको हो ।