Nepal Purbadhar

मन्त्री ज्वालासँग दक्षिण कोरियाका राजदूतले भने–भौतिक पूर्वाधारमा लगानी गर्न तयार छौ


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग दक्षिण कोरियाको एक टोलीले भौतिक पूर्वाधारका क्षेत्रमा लगानी गर्न प्रस्ताव मागेको छ । नेपालको हाइड्रो क्षेत्रमा लगानी गर्दै आएको दक्षिण कोरियाले भौतिक पूर्वाधारका क्षेत्रमा पनि लगानी गर्ने आफुहरु तयार रहेको बताएको छ ।

केही महिनापछि नेपाल र दक्षिण कोरिया दौत्य सम्बन्धको ५० वर्ष पुरा हुँदैछ । दौत्य सम्बन्ध पुरा भएको अवसरमा केही ठोस योजनाहरु दिए आफुहरु लगानी गर्न तयार रहेको नेपालका लागि दक्षिण कोरियाका राजदूत थेयङ पार्कले बताए ।

सोमबार मन्त्री ज्वालालाई भेट्न सिंहदरवार पुगेको राजदूतसहितको टोलीले सडक वा रेलका क्षेत्रमा लगानी गर्न आफ्नो देश तयार रहेको बताए । भौतिक पूर्वाधारका हिसावले नेपालमा अझै धेरै गर्नुपर्ने भएकोले त्यसका लागि ठोस आयोजनामा छलफल गर्न तयार रहेको राजदूत पार्कले बताए ।

जवाफमा मन्त्री ज्वालाले भौतिक पूर्वाधारका क्षेत्रमा महत्वपूर्ण सम्झौता हुनसके दुई देशबीचको सम्बन्ध अझै प्रगाढ हुने बताए । ‘केही समयमा दुई देशबीचको दौत्य सम्बन्ध ५० बर्ष पुग्दैछ, यहीबेला भौतिक पूर्वाधारका क्षेत्रमा महत्वपूर्ण निर्णय लिनसके दुई देशबीको सम्बन्ध अझै प्रगाढ हुन्छ’ मन्त्री ज्वालाले भने। मन्त्री ज्वालाले नेपालका इन्जिनियरहरुलाई तालिम दिएकोमा दक्षिण कोरिया सरकारलाई धन्यवाद दिए ।

सन् २०१८ मा नेपाल र दक्षिण कोरियाबीच भौतिक पूर्वाधारका विषयमा सम्झौता गर्ने तयारी थियो । सरकार परिवर्तनले हुन नसकेको सम्झौतालाई अगाडी बढाउन राजदुत पार्कले माग गरेका थिए । जवाफमा मन्त्री ज्वालाले सम्झौतालाई अध्ययन गरी अगाडी बढाउन आफुले पहल गर्ने बताए ।


Read Previous

कर्णाली करिडोर पुनः सञ्चालनमा

Read Next

यस्ता छन ट्रक यातायात व्यवसायीका ११ समस्या