तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले यही वर्षदेखि मिर्गौला बिरामीका लागि ‘डायलायसिस’ सेवा सुरु गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालले गाउँपालिकालाई झन्डै ४३ लाख ९२ हजार रुपैयाँ मूल्य बराबरका तीन थान डायलायसिस उपकरण उपलबध गराएको छ । गाउँपालिकाले नीति तथा कार्यक्रममै समावेश गरी चालु आर्थिक वर्षबाटै आँबुखैरेनी अस्पतालबाट डायलायसिस सेवा उपलब्ध गराउने घोषणा गरेको थियो ।
सबैको सहयोग र पहलबाट गाउँपालिकालाई डायलायसिस उपकरण प्राप्त भएको गाउँपालिकाका अध्यक्ष चुमानले बताए । लामो समयको प्रयासले सार्थकता पाएको छ अनि चालु आर्थिक वर्षभित्रै अस्पतालमा डायलायसिस सेवा सुरु हुने पनि उनले बताएका छन् ।
मिर्गौलापीडित डायलायसिस गर्न अन्यत्रै जानुपर्दा दुःख भएपछि गाउँपालिकाले आँबुखैरेनी अस्पतालमा डायलायसिस केन्द्र स्थापनाको प्रक्रिया थालनी गरेको थियो । गाउँपालिकाको चालु आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा डायलायसिस सेन्टर स्थापना गर्ने उल्लेख छ । गाउँपालिकाभित्र करिब २५ मिर्गौलापीडित रहेकाले उनीहरूलाई सहजरूपमा सेवा दिन अस्पतालमा डायलायसिस केन्द्र स्थापना गरिने अध्यक्ष चुमानको भनाइ छ ।
“यहाँका मिर्गौला बिरामीहरू भरतपुर, दमौली, पोखरासम्म पुगेर डायलायसिस गर्नुपर्ने बाध्यता छ । तैपनि भनेको बेला समय नपाउँदा उहाँहरूलाई निकै दुःख भइरहेको छ ।” उनले भने । हाल तनहुँमा दमौली अस्पतालमा मात्रै डायलायसिस सेन्टर सञ्चालनमा छ । मिर्गौलापीडितको सङ्ख्या बढेसँगै यहाँ सेवा लिनका लागि पालो पर्खनुपर्ने अवस्था छ । दमौली अस्पतालमा ११ उपकरण रहेकामा बिग्रिएर हाल चार वटाले मात्रै सेवा दिइरहेको छ ।