Nepal Purbadhar

सुदुरपश्चिमकै ठूलो माथिल्लो चमेलियाको विद्युत बुधबार प्रणालीमा जोडिँदै, प्रसारण लाइनको परीक्षण पूरा


काठमाडौं । सूदुरपश्चिम प्रदेशको दार्चुलामा निर्माण पूरा भएको ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना बुधबार (भोलि) देखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । सबै चरणको परीक्षण पूरा भई आयोजनाबाट विद्युत उत्पादन सुरु गर्ने तयारी भइरहेको हो ।

आयोजनाको विद्युत नेपाल विद्युत प्राधिकरणको बलाँच सबस्टेसनसम्म पुर्याउने १३२ केभी प्रसारण लाइन चार्ज भइसकेकाले बुधबार बिहान प्रसारण प्रणालीमा जोड्ने तयारी चलिरहेको प्रवद्र्धक अपि पावर कम्पनीका प्रबन्ध निर्देशक सञ्जीव न्यौपानेले बताए ।

‘बलाँचसम्मको प्रसारण लाइन सिन्क्रोनाइज गरेर चार्ज गरिसकेका छौं,’ उनले भने, ‘सम्भव भएसम्म राति नै, नभए भोलि बिहानसम्म ४० मेगावाट विद्युत प्रसारण प्रणालीमा जोड्छौं ।’ उनले विद्युत प्राधिकरणले बालाँच–अत्तरिया प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा ल्याइसकेकाले सबै विद्युत प्रसारण प्रणालीमा जोड्न समस्या नहुने बताए ।

आयोजनाले उत्पादन गर्ने विद्युत विद्युतगृहदेखि १६ किलोमिटर दुरीमा रहेको १३२ केभी बलाँच सबस्टेसनमा जोडिनेछ । बलाँचबाट १३२ केभी प्रसारण लाइनमार्फत कैलालीको अत्तरिया सबस्टेसन पुर्याइनेछ ।

अपिले भौगोलिकरूपमा विकट दार्चुलामा आयोजना निर्माण गर्दासमेत लक्ष्यभन्दा करिब ६ महिना अगाडि नै प्रसारण प्रणालीमा जोड्न लागेको हो । विद्युत प्राधिकरणले दिएको तालिका अनुसार आयोजनाको विद्युत उत्पादन गर्ने तालिका २०८० साल पुससम्मको छ ।

माथिल्लो चमेलिया सुदुरपश्चिम प्रदेशमा निर्माण सम्पन्न भएको अहिलेसम्मकै ठूलो आयोजना हो । यो अपि पावरले दार्चुलामा निर्माण गरेको तेस्रो आयोजना पनि हो । कम्पनीले यसअघि निर्माण गरेका साढे १६ मेगावाटका नौगाड र माथिल्लो नौगाड सञ्चालनमा छन् । यो आयोजना सम्पन्न भएसँगै अपिले दार्चुलामा निर्माण पूरा गरेका जलविद्युत आयोजनाको जडित क्षमता ५६.५ मेगावाट पुगेको छ ।

माथिल्लो चमेलिया सम्पन्न हुँदा प्रतिमेगावाट १८ करोड रुपैयाँ खर्च भएको अनुमान छ । आयोजनामा हिमालयन बैंकको अगुवाईमा कर्मचारी संचय कोष, राष्ट्रिय बाणिज्य लगायत ६ बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गरेका छन् । बैंक तथा वित्तीय संस्थाले गरेको ऋण लगानी कूल लागतको ७० प्रतिशत हो । बाँकी ३० प्रतिशत लगानी स्वपुँजी (इक्विटी) हो ।

आयोजना सम्पन्न भई सञ्चालनमा आउँदा वार्षिक २६ करोड ४१ लाख युनिट विद्युत उत्पादन गर्न सकिनेछ । जलविद्युतमा लगानी गर्दै आएको कम्पनीले सौर्य ऊर्जामा समेत लगानी गरी धनुषा, रौतहट र बाराको सिमरामा गरी ३ वटा सौर्य विद्युत आयोजना निर्माण गरी प्रसारण प्रणालीमा जोडिसकेको छ ।

माथिल्लो चमेलियाको विद्युत प्रसारण प्रणालीमा जोडिएपछि अब ३० मेगावाटको त्रिशूली गल्छी जलविद्युत आयोजनाको निर्माणमा लाग्ने न्यौपानेले बताए । सिद्धकाली पावर कम्पनीको नाममा रहेको त्रिशूली गल्छी ७५ मेगावाटमा निर्माण हुन नसकेपछि सरकारले अनुमतिपत्र खारेज गरेको थियो । अहिले फेरि अपिले ३० मेगावाटमा निर्माण गर्न आयोजनाको अनुमतिपत्र लिएको छ ।

अपिले प्रसारण प्रणालीमा जोडेका सौर्य विद्युत आयोजनाको जडित क्षमता ६ मेगावाट छ । जलविद्युत र सौर्य ऊर्जामा लगानी गरिसकेको कम्पनीले हरित हाइड्रोजनमा पनि लगानी गर्दैछ । विभिन्न जिल्लामा ५० मेगावाटका हरित हाइड्रोजन प्लान्ट स्थापना गर्ने कम्पनीको योजना छ ।

Facebook Comments

Read Previous

यातायात क्षेत्र सुधारमा संघीयसहित सात प्रदेशका मन्त्री र सचिवको ११ बुँदे सामुहिक घोषणपत्र जारी (पूर्णपाठ)

Read Next

मुख्य मन्त्री र प्रजिअ मार्फत् सरकारलाई निर्माण व्यवसायीहरूको अल्टिमेटम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar