काठमाडौं । त्रिशूली गल्छी जलविद्युत आयोजना अब ३० मेगावाटमा निर्माण गरिने भएको छ । पहिले ७५ मेगावाटमा निर्माण गर्ने तय भएको यो आयोजना क्षमता घटाएर निर्माण गर्न लागिएको हो ।
७५ मेगावाटमा निर्माण हुन नसकेपछि यो आयोजनाको अनुमतिपत्र सरकारले खारेज गरी बास्केटमा राखेको थियो । पहिले सिद्धकाली पावर कम्पनीमार्फत अनुमतिपत्र लिइएकाेमा अहिले अपि पावर कम्पनीले याे आयोजना अगाडि बढाउन लागेको हो ।
कम्पनीले लगानी जुटाउन चिनियाँ कम्पनी तोङसाङ इन्टरनेशनलसँग २०७४ चैतमा भएकाे लगानी सम्मेलनमा आयोजना इञ्जिनियरिङ, खरीद, निर्माण र लगानी (इपीसीएफ) मोडलमा निर्माण गर्न सम्झौता गरेकाे थियाे । तर, चिनियाँ कम्पनीसँग भएकाे सम्झाैता कार्यान्वयन हुन नसकेपछि आयोजनाकाे अनुमति खारेज हुन पुगेकाे थियाे ।
आयोजनामा पहिले नै धेरै लगानी भइसकेकाले पुनः अनुमति लिएर क्षमता घटाएर निर्माणमा लैजान लागेको प्रवर्द्धक गुरूप्रसाद न्यौपानेले बताए । ‘चिनियाँ लगानी ल्याएर इपिसिएफ मोडलमा यो आयोजना निर्माण गर्न लगानी सम्मेलनमा सम्झौता पनि गरेका थियौं,’ उनले भने, ‘तर, विविध कारणले आयोजना अगाडि बढ्न सकेन र अनुमतिपत्र खारेज भयो । अब फेरि अनुमतिपत्र लिएर काम गर्दैछौं ।’
७५ मेगावाटमा सुरुङ रहने गरी आयोजनाको डिजाइन गरिएकोमा ३० मेगावाटमा सुरुङ निर्माण नगरिने उनले बताए । अपिले ३ महिना अगाडि मात्रै आयोजना ३० मेगावाटमा निर्माण गर्न अनुमति लिएको न्यौपानेले जानकारी दिए ।
उनले आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) का लागि र उत्पादन अनुमतिपत्रका लागि आवेदन दिएको बताए । आयोजना स्थलमा विद्युत पहुँच पुर्याइएको छ । पहुँच सडक, पुल र आवासगृहको निर्माण पनि भइरहेको छ ।
आयोजना निर्माण गर्न ६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजना निर्माण सम्पन्न हुँदा वार्षिक १६६.७० गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । बर्खामा ११५.७० गिगावाट घन्टा र सुख्खा याममा ५०.३६ गिगावाट घन्टा विद्युत उत्पादन गर्न सकिनेछ ।
आयोजनाले उत्पादन गर्ने विद्युत विद्युतगृहबाट ३३ केभी प्रसारण लाइन निर्माण गरी १८ किलोमिटर दुरीमा निर्माण हुने १३२/३३ केभी परेवाटार सबस्टेसनमा लगेर जोडिनेछ ।