काठमाडौं । रसुवामा निर्माण भएको १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजनाको ‘ड्राइ टेष्ट’ (आयोजनामा जडान भएका उपकरणको परीक्षण) भइरहेको छ । विद्युत उत्पादन सुरु गर्नुअघि एक साताअघिबाट आयोजनामा जडान भएका उपकरणहरूको परीक्षण भइरहेको हो ।
इलेक्ट्रोमेकानिकल वर्क्सको ठेकेदारले विद्युतगृहमा जडानभएका उपकरणहरूको प्राविधिक जाँच गरिरहेको आयोजनाको प्रवर्द्धक सान्जेल जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल ढुंगेलले बताए । ‘आयोजनाको संरचना निर्माण र उपकरण जडानको सम्पूर्ण काम सम्पन्न भइसकेको छ’,उनले भने, ‘विद्युत उत्पादनमा जान उपकरणहरूको परीक्षण भइरहेको छ । प्राविधिकरूपमा सबै हेर्नुपर्ने हुँदा समय लागिरहेको छ ।’
उनले आयोजनाको ड्राइ टेष्ट सकिएपछि संरचनामा पानी भरेर (वेट टेष्ट) परीक्षण सुरु गरिने बताए । आयोजनाको विद्युत २२० केभी चिलिमे हब सबस्टेसनमा जाेडिनु पर्ने गरी प्रसारण सम्झाैता भएकाे छ । तर, अहिलेसम्म २२० केभी चिलिमे-त्रिशूली प्रसारण लाइनकाे निर्माण सम्पन्न भइनसकेकाले आयोजनाको विद्युत पहिले तय भएकै सबस्टेसनमा जाेड्न समय लाग्ने देखिएकाे छ । आयोजनाले चिलिमे हब सम्म निर्माण गर्नुपर्ने ५.९ किलोमिटर लामो प्रसारण लाइनको काम भने सम्पन्न भइसकेको छ ।
चिलिमे हबमा जाेड्न तत्काल सम्भव नभएकाले आयोजनाको परीक्षण उत्पादन सुरु गर्न अहिले २२ मेगावाटको चिलिमेको विद्युत प्रवाह भइरहेको संरचनाको प्रयोग गर्ने तय भएको पनि उनले बताए । आयोजनाको विद्युत जोडिने चिलिमे हब सबस्टेसनसम्म आइपुग्ने २२० केभी चिलिमे–त्रिशूली प्रसारण लाइनको निर्माण पूरा भइनसकेको हुँदा तत्कालका लागि वैकल्पिकरूपमा अर्को लाइनमा जोडेर परीक्षण उत्पादन गर्ने योजना रहेको ढुंगेलले बताए ।
आयोजनाको विद्युत चालू आर्थिक वर्षभित्र प्रसारण प्रणालीमा जोड्ने गरी काम भइरहेको कम्पनीले जनाएको छ । २०६९ सालबाट निर्माण सुरु भएको आयोजनाको काम सम्पन्न भई पहिले नै विद्युत उत्पादन सुरु भइसक्नु पर्ने थियो । तर, भूकम्प, नाकाबन्दी, कोभिड–१९ महामारी, प्रसारण लाइनको समस्या लगायत कारणले काम प्रभावित हुँदा आयोजना सम्पन्न हुन एक दशकभन्दा बढी समय लागेको छ ।
कोभिड-१९ महामारीको समयमा इलेक्ट्रोमेकानिकल उपकरण लामो समयसम्म आयात हुन नसक्दा तथा ठेकेदार कम्पनीका कामदार तथा प्राविधिक चीनबाट फर्किन धेरै समय लाग्दा २ वर्षभन्दा बढी समय काम ठप्प हुन पुग्यो ।
कम्पनीले नै निर्माण गरिरहेको ४२.५ मेगावाटको सान्जेन आयोजना पनि पूरा हुने चरणमा छ । यो आयोजनाको काम सम्पन्न भएपछि चाँडै उपकरण परीक्षण गरिने कम्पनीले जनाएको छ । याे आयोजना समेत भूकम्प, नाकाबन्दी, कोभिड-१९ महामारी, प्रसारण लाइनको समस्याले लक्ष्यभन्दा ढिला गरी प्रणालीमा आउन लागेकाे हाे ।
दुवै आयोजना सम्पन्न गर्न ब्याज बाहेक ७ अर्ब २४ करोड २२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको भए पनि निर्माण अवधि लम्बिएका कारण बढ्ने देखिएको छ ।