काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको क्रममा मुख्य ७ वटा समझादारी र सम्झौता भएका छन् । दुईपक्षीय भेटवार्तापछि आयोजना संयुक्त पत्रकार सम्मेलनमा सार्वजनिक गरिएका समझदारी र सम्झौताहरु निम्न छन् ।
१) नेपाल र भारतबीच पारवहन सम्झौता नविकरण गरिएको छ ।
२) सीमापार पेट्रोलियम पाइपलाइन विस्तार गर्ने सम्बन्धी समझदारी आदानप्रदान गरिएको छ । जसअनुसार सीमापार पेट्रोलियम पाइपलाइनलाई अमलेखगञ्जदेखि चितवनसम्म ल्याउने र सिलीगुडीदखि झापासम्म पुर्याइनेछ ।
३) परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुषमा स्वराज इन्स्टिच्युटबीच सहकार्य गर्नेसम्बन्धी समझदारीपत्र आदान प्रदान गरिएको छ ।
४) दोधारा चाँदनीमा एकिकृत जाँच चौकी निर्माण गर्नेबारे समझदारीपत्र आदान प्रदान गरिएको छ ।
५) ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत आयोजनाको परियोजना विकास सम्झौता (पीडीए) सम्झौता भएको छ ।
६) ४२६ मेगावाट क्षमताको फुकोट कर्णाली जलविद्युत आयोजना निर्माण गर्नेबारे भारतीय कम्पनीसँग समझदारी पत्र आदानप्रदान गरिएको छ ।
७) अन्तरदेशीय डिजिटल पेमेण्ट समझदारीपत्र आदानप्रदान गरिएको छ ।
उद्घाटन र शिलान्यास र हस्तान्तरण भएका परियोजना
संयुक्त पत्रकार सम्मेलनमा सार्वजनिक गरिएका उद्घाटन र शिलान्यास र हस्तान्तरण भएका परियोजनाहरु निम्न छन् ।
१) जनकपुर जयनगर रेलमार्गको थप खण्ड कुर्था–बिजलपुरा रेलमार्ग भारतले नेपाललाई हस्तान्तरण गरेको छ ।
२) दुवै देशका प्रधानमन्त्रीले भारतको बथनाहदेखि विराटनगरको नेपाल कस्टम यार्डसम्म भारतीय कार्गो रेल सञ्चालनको उद्घाटन गरेका छन् ।
३) नेपालगञ्जमा निर्माण भएको संयुक्त जाँच पोष्टको उद्घाटन गरिएको छ ।
४) भैरहवामा संयुक्त जाँच पोष्टको शिलान्यास गरिएको छ ।
५) मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो खण्डको शिलान्यास गरिएको छ ।
६) गोरखपुर–बुटवल ४ सय केभी प्रसारण लाइनको भारततर्फको खण्डको शिलान्यास गरिएको छ ।