Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

जलविद्युत आयोजना निर्माण तथा सञ्चालनमा भित्रिँदै नयाँ प्रविधि


काठमाडौं । सानिमा समूहले लगानी गरेको रामेछापस्थित २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनाको विद्युत २२० केभी नयाँ खिम्ती सबस्टेसनसम्म पुर्याउन प्रवर्द्धक स्वेतगंगा हाइड्रोपावर कम्पनीले २३ किलोमिटर प्रसारण लाइन आफैँ निर्माण गर्नुपर्ने थियो । भौगोलिक विकटताका कारण आयोजनाको विद्युतगृह रातमाटे बोक्सेदेखि देवीटारस्थित नयाँ खिम्ती सवस्टेसनसम्म प्रसारण लाइन निर्माण गर्न निकै समस्याहरू आए ।

अझै ठूलो समस्या प्रसारण लाइनको एउटा टावरदेखि अर्को टावरसम्म तार तान्ने कार्यमा आयो । प्रसारण लाइनको रुटमा कतै नदीनाला, त कतै अन्कन्टार भिरपाखा भएको हुँदा ज्यान नै जोखिममा पारेर काम गर्नुपर्ने बाध्यात्मक अवस्था थियो । यस्तो रुटमा एउटा टावरदेखि अर्काे टावरसम्म तार तान्न धेरै कठिनाई आइपर्यो । तर, प्रसारण लाइन निर्माणको ठेक्का पाएको इष्टर इन्डिया कम्पनी आफैँले पाइलट वायर जडान कार्यका लागि ड्रोनको सहायता लिएर काम गर्यो ।

उसले प्रसारण लाइनको एउटा टावरदेखि अर्को टावरसम्म ड्रोन प्रविधिको प्रयोग गरी तार तान्नुअघि डोरी तान्ने कार्य सफलतापूर्वक सम्पन्न गर्यो । र, प्रसारण लाइनको तार तान्ने काम सहजरूपले गर्न सकियो ।

‘प्रसारण लाइनको एउटा टावरदेखि अर्काे टावरसम्म तार तान्नुअघि डोरी तान्नको लागि आधुनिक ड्रोन प्रविधि निकै उपयोगी साबित भयो’

भोजराज पौडेल महाप्रबन्धक,स्वेतगंगा हाइड्राेपावर कम्पनी

कम्पनीका महाप्रबन्धक भोजराज पौडेलले भौगोलिक विकटताकाबीच आधुनिक ड्रोन प्रविधिको सहायताले प्रसारण लाइनको काम सम्पन्न गर्न सफल भएको बताउँछन् । ‘हाम्रो आयोजनाले उत्पादन गर्ने विद्युत नयाँ खिम्ती सबस्टेसन पुर्याउन बनाइएको प्रसारण लाइनको रुट भौगोलिकरूपमा निकै विकट थियो,’ उनी भन्छन्, ‘अप्ठेरो भुभागमा आधुनिक ड्रोन प्रविधिको सहायताले एउटा टावरदेखि अर्काे टावरसम्म तार तान्नुअघि डोरी तान्नको लागि आधुनिक ड्रोन प्रविधि निकै उपयोगी साबित भयो ।’

उनी उच्च क्षमताको प्रसारण लाइनको तार तान्ने क्रममा चट्टानमा ठोक्किएर बिग्रिने उच्च जोखिम रहने भएकाले पनि यो पटक ड्रोन प्रविधिको प्रयोग गरिएको बताए । ‘विशेषगरी नदीको वारपार तार तान्नुभन्दा पहिला डोरी टाँग्नुपर्ने हुन्छ । त्यस्तो बेला डोरी तान्नको लागि ड्रोनको प्रयोग गरिन्छ’ उनले भने । उनले कुनै–कुनै स्थानमा भिरपाखोमा मान्छे जानै नसक्ने ठाउँमा ड्रोनको सहायताले डोरी तानेर सोही डोरीको सहायताले तार तान्ने काम गरिएको बताए ।

गत कार्तिकदेखि व्यापारिक विद्युत उत्पादन सुरु गरेको तल्लो लिखु आयोजनाको विद्युत नयाँ खिम्ती सबस्टेसनसम्म पुर्याउने प्रसारण लाइन निर्माण गर्न पनि जटिल र अप्ठेरा स्थानमा ड्रोनकोे सहायताले तार तान्ने काम गरिएको थियो । ‘कुनै भू–भागमा प्रसारण लाइनको तार तान्न निकै अप्ठेरो हुने गर्छ,’ उनी भन्छन्, ‘त्यस्ता अप्ठेरो र जटिल स्थानमा अहिले ड्रोनको सहायताले तार तान्ने गरिन्छ । तल्लो लिखुको पनि केही स्थानमा ड्रोनको सहायताले तार तान्ने काम भयो ।’

ड्रोनको सहायताले पछिल्लो समय जलविद्युत आयोजनाको विद्युत प्रवाह हुने प्रसारण लाइनको तार तान्न सजिलो भएको छ । तर, प्रसारण लाइनको काममा ड्रोन प्रयोग गर्न सम्बन्धित जिल्ला प्रशासन प्रहरी कार्यालयबाट अनिवार्य अनुमति लिएको हुनुपर्छ । महाप्रबन्धक पौडेलले प्रक्रियागत झन्झटको कारणले तार तान्ने काममा पनि प्रयोग गर्न समस्या आउने गरेको बताउँछन् ।

तत्लो लिखुको प्रसारण लाइनमा ड्रोडनको प्रयोग भएजस्तै पछिल्लो समय जलविद्युत आयोजना विकास गर्दा नयाँ सूचना प्रविधिको उपयोग बढ्दै गएको छ । विद्युत प्रसारण लाइन निर्माणमा ड्रोनको प्रयोग मात्र नभई ठूला बहुउद्देश्श्यीय सिँचाइ आयोजना तथा जलविद्युत आयोजनाको सुरुङ खन्न प्रयोग भएको टनेल बोरिङ मेसिन (टिबिएम) पनि नयाँ प्रविधि मानिएको छ । अहिले धेरै बहुउद्देश्य पूर्वाधार आयोजनामा टिबिएम प्रयोग भएको छ । खासगरी सिँचाइ तथा जलविद्युत उत्पादन गर्ने उद्देश्यले निर्माण भइरहेका बहुउद्देश्य सिँचाइ आयोजनामा यो प्रविधि उपयोग भएको छ ।

मेलम्ची खानेपानी आयोजनाको २६ किलोमिटर सुरुङ ड्रिल एण्ड ब्लाष्ट पुरानो प्रविधिबाट खन्न मात्रै ९ वर्ष लाग्यो । तर, भेरीबबई बहुउद्देश्यीय सिँचाइ आयोजनाको १२.२ किलोमिटर सुरुङ खन्न २ वर्ष पनि लागेन । यो आयोजनाको सुरुङ खन्न टिबिएम उपयोग गरिएकाले लक्ष्यभन्दा पहिले नै काम सकियो । अर्थात नयाँ खालका आधुनिक प्रविधिको प्रयोगले समय र लागत घटाउन निकै ठूलो भूमिका खेल्दै आइरहेको छ ।

भेरीबबईमा विश्वका धेरै मुलुकमा प्रयोग हुदैँ आएको टिबिएम मेसिन र विवाद कम भएकाले छोटो अवधिमा नै सुरुङ खन्ने काम भयो । तर, मेलम्चीमा भने पुरानै प्रविधि अपनाएकाले पनि ढिलासुस्ती भेरीबबईमा सुरुङ खन्ने काम द्रुत गतिमा सम्भव भएको हो । भेरीबबईको सुरुङमा टिबिएम मेसिन सफल भएसँगै पछिल्लो समय सुनकासी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनामा पनि टिबिएम मेसिनकै सहायताले सुरुङ खन्ने काम भइरहेको छ ।

‘टिबिएमको सहायताले सुनकोसी मरिनको १३.३ किलोमिटर सुरुङ दुई वर्षभित्रै सम्पन्न गर्ने गरी काम गरिरहेका छौ’

मित्र बराल  निर्देशक, सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना

सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक मित्र बराल भेरी बबईमा टिबिएमको प्रभावकारिता देखेर नै सुनकोसी मरिन डाइभर्सन आयोजनामा पनि टिबिएम प्रयोग गरेर सुरुङ खन्ने काम भइरहेको बताउँछन् ।

‘भेरी बबई आयोजनामा टिबिएमले छिटो, छरितो र प्रभावकारी ढंगले सुरुङ खनेको देखेर नै सुनकोसी मरिनमा पनि यही प्रविधिको उपयोग भइरहेको छ,’ उनी भन्छन्, ‘आयोजनाको १३.३ किलोमिटर सुरुङ दुई वर्षभित्रै सम्पन्न गर्ने लक्ष्यसहित काम गरिरहेका छौं ।’ उनका अनुसार सुनकोसी मरिनको सुरुङ गत असोजको अन्तिमसातादेखि टिबिएमको सहायताले खन्ने काम भइरहेको छ ।

२०७७ साल फागुनमा शिलान्याश गरिएको आयोजनाको सुरुङ खन्ने काम अहिले धमाधम भइरहेको छ । अमेरिकी कम्पनी रोबिन्सले बनाएको टिबीएमबाट १३.३ किलोमिटर सुरुङ निर्माण हुँदैछ । नेपालमा टिबीएममार्फत सुरुङ बनाएको यो दोस्रो हो । यसअघि भेरी बबई बहुउद्देश्यीय आयोजनामा टिबीएममार्फत सुरुङ निर्माण गरिएको थियो । तर, भेरी बबईको सुरुङ ४.६ मिटर ब्यास (डायमिटर) को मात्र रहेकोमा सुनकासीको सुरुङ ५.५ मिटर ब्यास छ ।

आशिष गर्ग,उपाध्यक्ष, इपान

‘ऊर्जाका अन्य क्षेत्रको तुलनामा जलविद्युतमा सूचना प्रविधिको उपयोग कम नै भएको छ’

स्वतन्त्र ऊर्जा उत्पादकहरूको सस्था,नेपाल (इपान) का उपाध्यक्ष आशिष गर्ग पछिल्ला वर्षमा जलविद्युत आयोजनाले पनि समयसापेक्ष नयाँ सूचना तथा प्रविधिलाई उच्चतम प्रयोग गर्दै आइरहेको बताउँछन् ।

‘सूचना प्रविधि क्षेत्रमा भएका नवीनत विकासलाई जलविद्युत आयोजनाहरूमा पनि प्रयोग भइरहेको छ । तर, ऊर्जाका अन्य क्षेत्रको तुलनामा तुलनामा जलविद्युत आयोजनामा कम मात्र सूचना प्रविधिहरूको प्रयोग हुँदै आइरहेको छ,’ उनी भन्छन्, ‘ऊर्जाका सोलार, वायु, हाइड्रोजनको प्रविधिले धेरै फड्को मारिसकेको छ । तर, जलविद्युतमा धेरै फड्को हानेको अवस्था छैन ।’

जलविद्युतमा विशेष गरी निर्माण उपकरण तगा विद्युतगृहमा जडान हुने इलेक्ट्रोमेकानिकल उपकरणहरूमा नयाँ प्रविधि देखिन्छ । जलविद्युत आयोजनाको सुरुङ खन्न ब्लाष्टिङ, बुमर हुँदै अहिले टिबिएम प्रविधि नेपालमा भित्रिएको छ । विद्युतगृहमा जडान हुने उपकरण पनि पहिलेकोभन्दा साना र बढी किफायती बन्दै गएका छन् । उपाध्यक्ष गर्ग जलविद्युत आयोजनाका लागि पनि ‘इफिसेन्सी’ बढाउने खालका उपकरणहरू आइरहेको बताउँछन् ।

‘जलविद्युत आयोजनाहरू सेटबिजनेस मोडलमा चल्दै आइरहेका छन् । यसमा पनि ठूला प्रकृतिका आयोजनामा टिबिएम मेसिनको प्रयोग भएको छ । इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलमा भने खासै नयाँ प्रविधि भित्रिए जस्तो लाग्दैन,’उनी भन्छन् ‘अहिले निकै अप्ठेरा खालका ठाउँमा ड्रोनको सहायताले प्रसारण लाइनको तार तान्ने काम भइरहेको छ ।’ उपाध्यक्ष गर्गले जलविद्युत आयोजनाको जियोलोजिकल डाटाको लागि अहिले सेटेलाइटको प्रयोग गर्ने चलन ह्वातै बढेको बताउँछन् ।

जलविद्युतमा अहिले सेटेलाइट इमेजिङको माध्यमबाट विभिन्न तथ्यांक संकलन गर्ने काम हुँदै आइरहेको छ । उपाध्यक्ष गर्ग जलविद्युत आयोजनामा ठूला र जटिल प्रकृतिका संरचना निर्माणमा भने सूचना प्रविधिको प्रयोग प्रभावकारी ढंगले हुन नसकेको बताउँछन् ।

‘जलविद्युत आयोजना निर्माणमा ठूला खालका संरचना निर्माण गर्नुपर्ने हुन्छ । अर्काेतर्फ ठूला खालका इक्युपमेन्टहरु इन्टल गर्नुपर्ने हुन्छ । तर, यसमा प्रविधिको खासै ठूलो प्रयोग भएजस्तो लाग्दैन’ उनी भन्छन् । उनी जलविद्युत आयोजनाको डिसेन्डर (बालुवा थिग्राउने पोखरी) बाँध, सुरुङ र विद्युतगृह निर्माण गरी इलेक्ट्रो तथा हाइड्रोमेकानिकल उपकरण आयात तथा जडानमा ठूलो लगानी खर्च हुने र प्रविधिले लागत घटाउन कुनै भूमिका नखेलेको बताउँछन् ।

चिरञ्जिवी चटौत, महानिर्देशक, विद्युत विकास विभाग

‘सूचना प्रविधिले जलविद्युत आयोजनाको काम सरल र छरितो बनाउन सहयोग पुर्याउने आश छ’

विद्युत विकास विभागका महानिर्देशक चिरिञ्जिवी चटौत पनि जलविद्युत आयोजनामा सूचना प्रविधिको नगण्य मात्रामा मात्रै भइरहेको बताउँछन् । ‘अन्य क्षेत्रमा जस्तो जलविद्युत आयोजनाको निर्माणमा आधुनिक सूचना प्रविधिको प्रयोग कमै भएको छ,’ उनी भन्छन्, ‘जलविद्युत् आयोजनाको निगरानीको लागि आधुनिक सिसि क्यामेरा तथा ड्रोन क्यामेराको प्रयोग नभएको त होइन् ।तर, सूचना प्रविधकै कारणले लागत घटाउने काम भने खासै भएजस्तो लाग्दैन ।’

नयाँ सूचना प्रविधिबाट हुने लाभ जलविद्युत आयोजनाले पनि लिँदै आइरहेको उनको भनाइ छ । ‘आगामी दिनमा सूचना प्रविधिले जलविद्युत् क्षेत्रका काम कारवाहीलाई सरल र छरितो बनाउँदै लैजाने आशा गरेका छौं,’ उनी भन्छन् ।

शैलेश मिश्र, प्रमुख कार्यकारी अधिकृत, इपान

‘जलविद्युत उत्पादन सुरु भएपछि सञ्चार र अटोमेसनमा नयाँ खालका प्रविधिहरूको प्रयोग हुन थालेको छ’

इपानका प्रमुख कार्यकारी अधिकृत शैलेश मिश्र जलविद्युत उत्पादन गर्ने प्रणाली उस्तै भएपनि अन्य प्रविधिमा परिवर्तन भएको बताउँछन् । ‘जलविद्युत आयोजनाको निर्माण अहिलेसम्म पुरानै प्रविधिमा आधारित भई चलिरहेको छ,’ उनी भन्छन्, ‘विद्युत उत्पादन भएसँगै सञ्चार र अटोमेसनमा भने नयाँ खालका प्रविधिहरूको प्रयोग हुन थालिसकेको छ ।’

सूचना र प्रविधिको कारणले प्रसारण र वितरण प्रणालीमा भने धेरै परिवर्तन आएको मिश्र बताउँछन् । ‘पहिला जुन कम्युनिकेसन सिस्टम थियो, त्यो अहिले धेरै नै परिवर्तन भएको छ । यसमा नयाँ प्रविधि आइसकेको छ । पहिला डाटा संकलनको काम म्यानुअल रूपमा हुने गथ्र्याे । तर,अहिले अटोमेटेड सिस्टममा हुँदै आइरहेको छ’ उनी भन्छन् ।

जलविद्युत् आयोजनाको निरीक्षण, कन्ट्रोल लगायतका सिस्टम अटोमेटेड रूपमा सञ्चालन हुँदै आइरहेको उनको भनाइ छ । उनका अनुसार नयाँ प्रविधिको सहायताले अहिले आयोजना स्थलमा भइरहेका निर्माण कार्यको सिसिक्यामेराको माध्यमबाट जुनसुकै स्थानबाट पनि हेर्न सकिने भएको छ । साथै, प्रविधिको विकासकै कारण अहिले मोवाइल फोनबाटै पनि आयोजनाको निरीक्षण तथा अनुगमन गर्न सम्भव भएको छ ।

‘पहिलेको तुलनामा जलविद्युत प्रविधि विकास भएको छ, लागत घटाउने किसिमको प्रविधि चाहिएको छ’

उत्तरकुमार श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत, बुटवल पावर कम्पनी

बुटवल पावर कम्पानीका प्रमुख कार्यकारी अधिकृत उत्तरकुमार श्रेष्ठ जलविद्युत विकासमा विगतको तुलनामा अहिलेको प्रविधिले काम गर्ने सहज बनाएको बताउँछन् । ‘तिनाउ, झिम्रुक जस्ता आयोजना बन्दाको प्रविधि अर्कै थियो,’ उनी भन्छन्, ‘अहिले सुरुङ खन्न प्रविधिमा परिवर्तन आउँदा विद्युतगृहमा जडान हुने इलेक्ट्रोमेकानिकल उपकरण पनि कम तौल र बढी किफायति बनिसकेका छन् ।’ उनी जलविद्युतमा लागत समेत घटाउने प्रकारको प्रविधि आवश्यक रहेको बताउँछन् । उनी पहिले सानो आयोजनाको डिजाइनमा निर्भर हुनुपर्ने बाध्यता पनि प्रविधिको विकाससँगै देशभित्रकै जनशक्तिले गर्न सक्ने अवस्थामा पुगिसकेको बताउँछन् ।

अन्तर्राष्ट्रिय हाइड्रोपावर एशोसियसनका अनुसार, विश्वमा जलविद्युत क्षेत्रमा नयाँ प्रविधियुक्त विभिन्न उपकरण र मेशिनहरू आएका छन् । जसले परम्परागत ऊर्जा प्रणालीमा परिवर्तन आइरहेको छ । यद्यपि यी सबै प्रविधि नेपाल भित्रिसकेका छैनन् ।

स्टेबलाइजर फिन्स, ड्राफ्ट ट्यूब डायाफ्राम, एयर इन्जेक्सन/प्रवेश, उच्च/कम गति र कम/उच्च डिस्चार्जको साथ पानी इन्जेक्सन, टन्जेन्शिअल वाटर इन्जेक्सन जस्ता जलविद्युत लचिलोपनका लागि उपकरण र मेशिनहरूको साथै एयर–वाटर इन्जेक्सन, हाइड्रोइलेक्ट्रिक ऊर्जा भण्डारण समाधानहरू, ब्याट्री हाइब्रिडहरू लगायत पनि आएका छन् ।

जलवायु परिवर्तन न्यूनीकरण रणनीतिहरूलाई नवीकरणीय ऊर्जा स्रोतहरूमार्फत समाधानका लागि यस्ता प्रविधिहरुले सहयोग पुग्ने अपेक्षा गरिएको छ । पछिल्लो समयमा जलविद्युत डिजिटलीकरण हुनेक्रम पनि बढेको छ ।

कम्युनिकेशन, तथ्यांकहरुको संकलन र शुद्धीकरण, सुरक्षाको संकेत दिने, हरित गृह ग्याँसको उत्र्सजनमा कमी ल्याउने लगायतका धेरै उपकरण र मेशिन पनि विश्व बजारमा देखिएको छ । प्रणालीमा पम्प हाइड्रोपावर स्टोरेज, इलेक्ट्रिोनिक कन्र्भटरहरुका साथै कन्भर्टर–फे सिक्रोनस मेशिस लगायतलाई पनि पछिल्लो समयमा आएका नयाँ प्रविधिको रुपमा लिने गरिएको छ ।

विश्वमा बढ्दो वातावरणप्रतिको संवेदनशिलता र जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि माछामैत्री जलविद्युत प्रविधिको पनि विकास भएको छ । यद्यपि जलविद्युत उत्पादनको अधिकांश प्रणाली भने पुरानै छ ।

अर्जुन गौतम, सञ्चालक, पिपुल्स हाइड्रोपावर कम्पनी

‘विश्वमा आइसकेको सबै प्रविधि हामीले भित्र्याउन सक्यौं भने विद्युतगृहलाई मानवरहित बनाउन सकिन्छ’

पिपुल्प हाइड्रोपावर कम्पनीका सञ्चालक अर्जुन गौतम जलविद्युत आयोजना निर्माण अहिले धेरै डिजिटलाइज भइसकेको बताउँछन् । ‘पहिले म्यानुअलमा चल्ने जलविद्युतगृहको विद्युत उत्पादन प्रणाली अहिले स्वचालित हुँदै गएको छ,’ उनी भन्छन्, ‘तर, विश्वमा आइसकेको सबै प्रविधि हामीले भित्र्याउन सकेका छैनौं, सबै प्रविधि भित्र्याउन सकेमा विद्युतगृहलाई मानवरहित बनाउन सकिन्छ’

नेपालमा निर्माणाधीन अधिकांश जलविद्युत आयोजनाहरूमा प्रविधि अपनाउँदै आएपनि विश्वमा बढ्दो अध्ययन र विकाससँगै नयाँ नयाँ प्रविधि भने भित्रन थालेका छन् । नयाँ नयाँ प्रविधिले उत्पादनको लागत कम गर्ने तथा उपकरणहरू पनि दक्षतापूर्ण हुने भएकोले यसको उपयोग बढ्दै जाने अवस्था छ । इपान उपाध्यक्ष गर्ग जलविद्युत उत्पादनमा लागत र लाभको विश्लेषणको आधारमा नयाँ नयाँ प्रविधिमा विकासकर्ताहरू जानै पर्ने र विकसित प्रविधिको उपयोग जलविद्युत विकासकर्ता पनि अघि बढेको बताउँछन् ।

नेपालमा हाल ३ हजार मेगावाट बराबरका आयोजना निर्माणाधीन छन् । करिब १२ हजार मेगावाट निर्माणको पूर्व तयारी अवस्थामा छन् । करिब १५ हजार  मेगावाटका आयोजना निर्माणका लागि अध्ययनको चरणमा रहेकोले यी आयोजनामा नयाँ नयाँ उपकरण र मेशिनहरूको उपयोग गरेमा जलविद्युतकाे लागत घटाउन सकिनुका साथै विश्व बजार प्रतिपस्पर्धी हुनेछ ।


Read Previous

विकासमा सबैका अधिकार सुनिश्चित गर्न गैसस महासङ्घको माग

Read Next

पुलले जोड्यो पालिकाको केन्द्र, स्थानीय खुसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *