Nepal Purbadhar

तनहुँमा १० खानेपानी आयोजनाकाे निर्माण अन्तिम चरणमा   


तनहुँ । गण्डकी प्रदेश सरकारको ‘एक घर एक धारा’ अभियानअन्तर्गत तनहुँमा खानेपानी आयोजना निर्माण तीव्र रूपमा भइरहेको छ । जिल्लामा निर्माणधीन अवस्थामा रहेका १ सय ३९ आयोजनामध्ये १० वटा खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको हाे ।

प्रदेश सरकारको १ करोड ५४ लाख रुपैयाँ लागतमा उक्त आयोजनाको निर्माण गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँका इञ्जिनीयर वामदेव पौडेलले जानकारी दिए । ८ सय ५८ घरधुरीका करिब ४ हजार २ सय ९० जना आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुने उनले बताए ।

पौडेलका अनुसार अधिकांश आयोजना लिफ्टबाट निर्माण गरिएका छन् भने केही ग्राबिटी प्रणालीका आयोजना छन् । आयोजनाको काम अन्तिम चरणमा पुगेकाले लामो दूरीबाट पानी बोकेर खानुपर्ने समस्याको अन्त्य हुनुका साथै करेसाबारीमा सिँचाइ समेत गर्न सकिने भएपछि स्थानीय बासिन्दा उत्साहित भएका छन् ।

इञ्जिनीयर वामदेव पौडेलले भानु नगरपालिका-१० स्थित चेककोट खानेपानी आयोजनाको लागि  २० लाख बजेट विनियोजन भएपछि निर्माण सुरु गरिएको थियो । ऋषिङ गाउँपालिका-३ को भीरकोट खानेपानी आयोजनबाट एक सय ६०, ऋषिङ गाउँपालिका-८ को घुर्रा छहरा खानेपानीबाट एक सय ६५, व्यास-९ को सतिश्वारा खोपानीबाट एक सय ५०, बन्दीपुर-२ को पार्चे खानेपानीबाट सत्तरी घरधुरीका बासिन्दा लाभान्वित हुने छन् ।

त्यसैगरी, भानुको भीमसेन खानेपानीबाट ५५, शुक्लागण्डकी-२ को हलेदी पिपलतारा खानेपानीबाट ५४, भानु-५ को पोखरीथोक कोलागैरी खानेपानीबाट ६५, बन्दीपुर-१ को भूँडाटार खानेपानी आयोजनाबाट ९० र भीमाद नगरपालिका-४ गिजनडाँडा खानेपानी आयोजनाबाट १७ घरपरिवार लाभान्वित हुने छन् ।


Read Previous

मुस्ताङका १६० गोठका ८ सय च्याङ्ग्राको भूवा गुणस्तर अध्ययन

Read Next

टीकापुर विमानस्थल सञ्चालनमा अन्याैलता