काठमाडौँ। लगानी बोर्ड नेपाल र एसियाली विकास बैंक (एडीबी) को सहकार्यमा ‘सर्टिफाइड पब्लिक–प्राइभेट पार्टनरसिप प्रोफेसनल’ (सीपीथीप्री) प्रशिक्षण कार्यक्रम साेमबारदेखि शुरू भएको छ ।
प्रशिक्षणमा विभिन्न मन्त्रालय तथा लगानी बोर्डको कार्यालयका अधिकारीहरू र परामर्शदाता सहभागी रहेको लगानी बोर्डको कार्यालयले जनाएको छ । उक्त प्रशिक्षण कार्यक्रममा कर्मचारी र परामर्शदातालाई सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा सञ्चालन हुने परियोजनाबारे विस्तृत जानकारी गराउने उद्देश्य रहेको बोर्डले जनाएको छ ।
‘सार्वजनिक–निजी साझेदारीका परियोजना तयारी, विकासकर्ता छनौट तथा परियोजना व्यवस्थापन सम्बन्धी दक्षता अभिवृद्धि गर्ने उद्देश्य राखिएको छ । साथै पीपीपीका नवीनतम अवधारणासहितका परियोजना कार्यान्वयनमा सहयोगी हुने अपेक्षा गरिएको छ’ लगानी बोर्डद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले पीपीपी परियोजना कार्यान्वयनका लागि लगानी बोर्डको कार्यालय विशिष्टिकृत निकाय भएकाले कर्मचारीका लागि यस्तो प्रशिक्षण आवश्यक रहेको बताए । ‘पीपीपी अवधारणाका परियोजना सफलतापूर्वक अघि बढाउन परियोजनाको तयारी, जोखिम न्यूनीकरण, खरिद प्रक्रिया एवं कार्यान्वयन तथा सञ्चालनका सम्पूर्ण चक्रमा दक्षता र विशेषज्ञता आवश्यक पर्छ’ उनले भने ।
परियोजना विकासमा पीपीपी अवधारणा आफैँमा जटिल विषय रहेको चर्चा गर्नुहुँदै प्रमुख कार्यकारी अधिकृत भट्टले यसका लागि सबल जनशक्ति आवस्यक रहेको उल्लेख गरे ।
प्रशिक्षण कार्यक्रमले लगानी बोर्डमा कार्यरत जनशक्तिमा सार्वजनिक-निजी साझेदारीका परियोजना तयारी, स्ट्रक्चरिङ (सार्वजनिक-निजी साझेदारी सम्झौताका पक्षहरूबीच जिम्मेवारी र जोखिमको बाँडफाँड र परियोजनाको वित्तीय संरचनाको निर्धारण), विकासकर्ता छनौट तथा परियोजना व्यवस्थापन सम्बन्धी दक्षता अभिवृद्धि भइ पीपीपीका नवीनतम अवधारणासहितका परियोजना कार्यान्वयनमा सहयोगी हुने अपेक्षा गरिएको छ ।
कार्यक्रमको उद्घाटन सत्रमा एडीबीको नेपालस्थित मिसनका राष्ट्रिय निर्देशक आर्नो कोश्वा तथा प्रशिक्षक अमनदीप सिंहले समेत सम्बोधन गरे । एडीबीका राष्ट्रिय निर्देशक कोश्वाले पीपीपी सम्बन्धी ज्ञान र दक्षता अभिवृद्धी गरी त्यसलाई राष्ट्रिय र क्षेत्रीय परिदृश्य अनुसार अभ्यास गर्न सकिने उल्लेख गरे ।
लगानी बोर्ड तथा सम्बन्धित मन्त्रालयहरूलाई पीपीपी सम्बन्धी क्षमता विकासमा यो तालिम कार्यक्रम प्रस्थान बिन्दू भएको भन्दै उनले आगामी दिनमा पीपीपी परियोजना सम्बन्धी अवधारणा, पीपीपी स्क्रनिङ, परियोजनाका लागि उपयुक्त मोडालिटी तथा ट्रान्ज्याक्सन एड्भाइजरी जस्ता वृहद् र गहन सहकार्य अघि बढाउन सकिने उल्लेख गरे ।
पीपीपी सर्टिफिकेसन कार्यक्रमा आधारभूत, तयारी र कार्यान्वयन गरी तीन चरण समावेश छन् । अहिले आयोजना भइरहेको कार्यक्रम आधारभूत चरण अन्तर्गतको हो ।